भक्तपुर काण्डसँग सम्बन्धित पुस्तकहरूको अन्तरक्रिया


काठमाडौँ, ३० भदौ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा भदौ २९ र ३० गते भक्तपुर काण्डसँग सम्बन्धित पुस्तकहरूको अन्तरक्रिया कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले कार्यकर्ताहरू आधा काँचो र आधा पाको भएपछि कुनै बेला प्रतिकूल परिस्थिति आएमा बिचलित हुने र लोभलालचमा फस्न सक्ने भएकाले राजनैतिक रूपमा सिद्धान्त र विचारमा परिपक्व हुनुपर्ने बताउनुभयो ।
नेमकिपालाई समूल नष्ट पार्न निरङ्कुश पञ्चायतले षड्यन्त्र गरी ह्योजुलाई रोहितको समूहले निर्मम तरिकाले हत्या ग¥यो भन्ने भ्रमपूर्ण समाचार गोरखापत्र, रेडियो नेपाललगायत अन्य बिकाउ मिडियाहरूले हावासरि देशैभरि फैलाएको उहाँले बताउनुभयो ।
सत्य–तथ्यसहित ‘फाँसी दे’ पुस्तक प्रकाशित भएपछि एकतर्फी भ्रमपूर्ण घटनाक्रमलाई चिर्न ठूलो मद्दत पुगेको उहाँले स्मरण गर्नुभयो ।
मूलाले आफ्नो खाल्डो आफैँ खनेजस्तै पञ्चायतले पनि निरन्तर मजदुर, किसान, देश र जनताको हितमा काम गर्ने नेमकिपालाई निर्मतापूर्वक दमन गरी समूल नष्ट पार्न खोजेकै कारण पञ्चायतको अन्त्य भएको अतिथि प्रजापतिले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले भक्तपुर काण्डपश्चात् इतिहासमै पहिलो पटक भक्तपुरमा महिलाहरूको नेतृत्वमा जुलुस निस्केको स्मरण गर्दै उहाँले भन्नुभयो, “नेमकिपाका सबै कार्यकर्ताहरू जेल र भूमिगत भएको बेलामा विद्यार्थीहरूको नेतृत्वमा २०४६ साल फागुन ८ गते भक्तपुरमा विरोध जुलुस प्रदर्शन भएको थियो । भक्तपुरबाट सुरू भएको आन्दोलनमा विद्यार्थीहरूले वीरगति प्राप्त गरेपछि आन्दोलन देशभर फैलियो । आन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्थालाई फाल्यो ।”
दोस्रो दिन नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले भक्तपुर काण्डबाट शिक्षा लिँदै सैद्धान्तिकरूपमा कार्यकर्तालाई प्रस्ट पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘जेल डायरी’, ‘जेलका चिठीहरू’ र सुबोध सिंजालीद्वारा लिखित ‘फाँसी दे पुस्तक’ बारे सेमसल तामाङ, प्रमिला ज्याख्व, बिलम सुवाल, किरण गोसाई, सविता त्वानाबासु, तारा न्यौपाने, सिर्जु शाही, रोजित महर्जन, सुस्मा बाटा, रवीन्द्र भण्डारीले आ–आफ्नो विचार राख्नुभएको थियो ।
प्रकाश गुरूङको सभापतित्वमा भएको कार्यक्रममा सुरेश परियार र दिनेश खड्गीले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार