धरानका नेमकिपा शुभचिन्तकहरूसँग अध्यक्ष रोहितको भेटघाट


धरान, ८ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) सोमबार धरान पुग्नुभई स्थानीय पार्टी शुभचिन्तक एवं धर्मसिंह शाक्य खलःका मित्रहरूसँग अनौपचारिक भेटघाट गर्नुभयो ।
भेटघाटमा अध्यक्ष रोहितले उतिबेलाको धरानलाई सन् १९५७ कालीन केरला, हिन्दुस्तानमा कम्युनिस्टहरू जित्ने एकमात्र ठाउँसँग तुलना गरी इतिहासको स्मरण गर्नुभयो ।
नेपाल विविध जातजाति भाषाभाषीले सम्पन्न देश हो । कामको आधारमा श्रमको विभाजन नै जातीय वर्गीकरणको आधार हो । सिकर्मी, डकर्मी, चित्रकार, मूर्तिकारजस्ता जनशक्ति नभए देशको सभ्यता नै हुँदैन भन्ने उहाँको विचार हो ।
“दास युगमा जसले काम अर्थात् श्रम गरे तिनलाई दास भनियो तर विश्वको सभ्यता नै तिनैले बनाएका हुन्”, अध्यक्ष रोहितले थप्नुभयो ।
उहाँले शाक्यहरूलाई एक कलाकारको रूपमा चित्रण गर्नुभयो ।
नेपाल हिन्दूस्तानको अंश होइन र नेपाल फरक देश हो भन्ने चिनाउने लिपि नै नेपालभाषाको लिपि हो । धरानका नेवा समुदायको नयाँ पुस्ताले नेपालभाषा बोल्न छोडेको या नजानेको बताउँदा अध्यक्ष रोहितले जोड दिँदै भन्नुभयो, “जातीय कुरा महत्वपूर्ण होइन । भाषा महत्वपूर्ण हो । हिन्दुस्तानका रवीन्द्रनाथ टैगोरले भन्नुभएको थियो – आफ्नो भाषामा जति राम्रोसँग अभिव्यक्ति गर्न सकिन्छ अरू भाषामा सकिन्न । भाषा अनुवादले गुडी कुरा प्राप्त गर्न मुश्किल हुन्छ ।”
अध्यक्ष बिजुक्छेँले कुनै पनि जातिको मूर्त र अमूर्त सम्पदाको संरक्षण नै सभ्यताको संरक्षण हो भन्नुभयो ।
“अभिव्यक्तिका विविध तरिका हुन्छन् । नाचगान, सङ्गीत, बाजागाजा, चित्रकला आदि पनि सभ्यताभित्रै पर्छन् । ती अमूर्त सभ्यता सिक्न १०० वर्ष लागेको हुनुपर्छ । मानिसको शरीर विज्ञान बुझेर सुरु गरिएको नाचगान, बाजागाजा कुनै जातविशेषको नभई सम्पूर्ण मानव जाति या मानव सभ्यताको निम्ति हो” उहाँले भन्नुभयो ।
भियतनामदेखि युरोपको इटालीसम्म घोडामै लडाइँ लडेका चङ्गेज खाँ डुङ्गा बनाउन नजानेर हारेको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो, “आ–आफ्नो सीपले देशलाई जोगाउन सकिन्छ ।”
धेरै जातजाति भएको कारण शत्रुले एक अर्कोलाई भिडाउन सक्ने प्रति सचेत गराउँदै उहाँले भन्नुभयो, “कुनै जातको विरोध गर्नुहुँदैन । एक–अर्कोलाई मद्दत गरेरै मुक्ति मिल्छ ।”
एउटा फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “शरीरको लागि डाक्टर आवश्यक भएझँै सत्ताको लागि प्रतिपक्ष चाहिन्छ । नेमकिपा आफ्नो कर्तव्यप्रति सचेत छ । ‘ठूलो पार्टीको ठूलै कमजोरी हुन्छ । देश दुर्घटनामा पु¥याउने पनि ठूलै पार्टी हुन् ।”
धरानमा एमालेप्रति जनविश्वास गुम्दै गरेको चर्चा पछि नेता बिजुक्छेँले भन्नुभयो, “एमालेले नेमकिपा बलियो भएका पश्चिमका जिल्लाहरूमा पार्टी फुटाउने काम ग¥यो । साथी भनेर भोज बोलाउँदा सामान चोरी गरेझैँ भयो । आज एमालेको हकमा जो पानीसँग खेल्छ त्यो पानीमै मर्छ, जो आगोसँग खेल्छ, त्यो आगोमै मर्छ भनेझैँ भयो । अहिले आफ्नै पार्टी फुट्यो कि फुटेन ?”
“एमालेको जनताको बहुदलीय जनवादको अर्थ पनि प्रजातन्त्र, जनतन्त्र, लोकतन्त्र या अङ्ग्रेजीमा डेमोक्रेसी नै हो । बहुदलीय जनवाद भनेको माक्सर्वादमा छैन” अध्यक्ष बिजुक्छेँले सैद्धान्तिक खण्डन गर्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार