भक्तपुर, २० वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाली भाषा राम्रोसँग बोल्न नजानेको कारण कतिपय चालक एवं सर्वसाधारण जनता सजायको भागीदार हुनुपरेको उल्लेख गर्नुभयो ।
शनिबार गाडी चालकहरूको एक भेलामा अध्यक्ष बिजुक्छेँले चालक र परिचालकहरूको भाषा, व्यवहार शुद्ध र शिष्ट हुनुपर्नेमा जोड दिँदै मादक पदार्थ र धूमपान सेवनबाट चालकहरू टाढा रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
चालकहरूले यात्रु र अन्य सवारीलाई अप्ठेरो हुने गरी आफ्नो सवारी पार्किङ वा रोक्न नहुने, आफ्नो कारण अरूलाई दुःख नहुने गरी काम गर्नुपर्ने, सामान्य मर्मतको जानकारी राख्नुपर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले सवारी नियम पालना गर्नुपर्ने र जरिवाना तिर्नुपर्ने अवस्था हुनु कानुनको उल्लङ्घन नै भएको तर्फ चालकहरूलाई सचेत गराउनुभयो ।
अध्यक्ष बिजुक्छेँले सवारी दुर्घटना भए ऐन नियमअनुसार निष्कर्षमा पुग्नुपर्ने उल्लेख गर्दै डराएर, घुस खुवाएर मुद्दा मिलाउनेतिर लाग्न नहुनेतर्फ चालकहरूलाई सचेत गराउनुभयो ।
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “घुस खुवाउनु पनि एक प्रकारको अपराध हो ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गाडीको मापदण्ड युरो – ६ पु¥याउने सरकारी तयारीबारे जानकारी गराउँदै नेपालीहरू घरखेत बन्धकमा गाडी किन्ने र बेच्नुपरे कवाडी मोलमा आउने पीडितको गुनासो रहेको तर्फ चालकहरूलाई सचेत गराउनुभयो ।
“गाडीको अवस्था ठीक राख्नु जरूरी छ । गाडी छोडेर यताउता लाग्दा कसैले गाडी बिगारी दिने खतरा हुन्छ । गाडीसम्बन्धी काम गर्न सरकारी कार्यालयहरूबाट हुने पीडा मिलेर सामना गर्नु आवश्यक छ ।” सांसद सुवालले भन्नुभयो ।
चालक ज्ञानेन्द्र महर्जनले दुर्घटना भए सर्वस्वसहित जीवनभर कैद हुने, पुपक्र्षको लागि थुनामा राखिने र थुनामा नपर्नेलगायत कानुनी व्यवस्थाबारे चालकहरू सचेत हुुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अर्का चालक धन त्यातले गाडी युरो–६ मापदण्डमा चलाउन सोहीअनुसार इन्धनको शुद्धता सरकारले प्रत्याभूत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।