भक्तपुर, ३ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा नेपाल मजदुर किसान पार्टी काठमाडौँ–रामेछाप सम्पर्क समितिले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा सचिव सुवालले भन्नुभयो, “भदौ २३ गतेको आन्दोलन गरेका नयाँ पुस्ताले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र भ्रष्टाचार शून्यसहितको सुशासन मुख्य माग राखेको थियो । नेपाली जनताले यी माग धेरै वर्षदेखि उठाउँदै आएका हुन् । नेमकिपाका अग्रजहरूले २०१९/२० सालदेखि नै भ्रष्टाचारविरोधी आन्दोलन सुरू गर्नुभएको हो । संविधानसभाबाट संविधान निर्माण सुरु भएलगत्तै नेमकिपाले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसदहरू मन्त्री बन्न नपाउने राष्ट्रपति अनुकूल सानो मन्त्रीमण्डलको लिखित सुझाव दिएको हो ।”
शासक दलहरूले जनताका यी माग र सुझावलाई बेवास्ता गरी पालैपालो प्रधानमन्त्री बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहिलो संविधानसभाको चुनावको बेला नेकाका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । चुनावपछि माओवादीका पुष्पकमल दाहाल प्रधानमन्त्री भए । त्यसपछि एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भए । त्यसपछि माओवादीका बाबुराम भट्टराई प्रधानमन्त्री भए । दोस्रो संविधानसभाको निर्वाचनपछि नेकाका सुशील कोइराला प्रधानमन्त्री भए । संविधान घोषणापछि केपी शर्मा ओली र माओवादीका पुष्पकमल दाहाल प्रधानमन्त्री भए । २०७४ सालको चुनावपछि केपी ओली, नेकाका शेरबहादुर देउवा, २०७९ को निर्वाचनपछि माओवादीका पुष्पकमल दाहाल, एमालेका केपी शर्मा ओली प्रधानमन्त्री भए । प्रधानमन्त्रीको कुर्सी ओली, दाहाल, देउवाको वरिपरि घुमिरह्यो । संविधानको समाजवादउन्मुख व्यवस्थाअनुसार ऐन नियम बनाइएन । विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गरिएन† स्वास्थ्य उपचार निःशुल्क गरिएन । युवालाई नेपालभित्र रोजगारी दिइएन र करोडौँ नेपालीलाई वैदेशिक रोजगारीमा पठाइयो ।”
“नयाँ पुस्ताले भदौ २३ गते गरेको आन्दोलनमा सरकारी दमनले १९ जना नेपालीको ज्यान गयो । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, अख्तियारलगायतको भवनमा आगजनी भयो । साम्राज्यवाद र विस्तारवादको घुसपैठ हुनसक्ने पनि सार्वजनिक भयो”, उहाँले भन्नुभयो ।
“नेकाको समर्थन प्राप्त केपी शर्मा ओलीको सरकारले देश र जनताको समस्या समाधान गर्न नसकेको हुँदा धेरै अगाडि नै राजीनामा दिनुपर्ने थियो । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन जलाइएपछि मात्र राजीनामा दिने प्रधानमन्त्री ओली अहिलेको जनधन क्षतिको जिम्मेवार हुनुपर्छ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “फल फलेको रूख झुकेजस्तै उच्च पदमा बसेका शासक दलहरू देश र जनताको निःस्वार्थ सेवामा लाग्नु जरूरी हुन्छ । यसको विपरीत शासक दलका नेताहरूमा दम्भ देखियो । देशको सार्वजनिक ऋण २७ खर्ब रूपैयाँ पु¥याइयो भने व्यापारघाटा वार्षिक १५ खर्ब बढी पुग्यो ।”
“नयाँ वा पुराना पुस्ताको आन्दोलनको उद्देश्य प्रधानमन्त्री र मन्त्री फेर्ने होइन जनताको अवस्था सुधार गर्ने हो । देशको सार्वभौमिकता रक्षा गर्ने हो । ६ महिनापछिको चुनावमा जनविरोधीहरू नै निर्वाचित हुने भए नयाँ पुस्ताको बलिदान खेर जानेछ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले ३० वर्षयता ५० भन्दा बढी देशमा रङ्गीन (नक्कली) विद्रोहीहरूलाई आन्दोलन गराई आफ्नो अनुकूलको सरकार गठन गराएको सार्वजनिक भयो । एक–डेढ वर्षअघि बङ्गलादेशमा युवाको नाममा आन्दोलन गराई सरकार परिवर्तन गरियो ।”
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले इजरायललाई हतियार दिएर प्यालेस्टिनी जनताको नरसंहार गराएको र युक्रेनलाई रुसविरूद्ध लडाएका विषयबारे युवाहरू स्पष्ट हुनु जरूरी छ ।”
भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनताकै साथ र सहयोगले भक्तपुर नगरपालिकाले नमुनामय नगर बनाउन सफल भएको बताउनुभयो ।
सम्पर्क समितिका संयोजक धनबहादुर श्रेष्ठले विभिन्न क्षेत्रमा आबद्ध शिक्षक विद्यार्थीलगायत सम्पूर्ण सङ्गठित भएर काम गरेमा सफल हुने बताउनुभयो ।
कार्यक्रममा समितिका सचिव श्रीराम श्रेष्ठ, नारायणमान वनमाला र बद्री माकले जनताको समस्या थाहा पाउन जनतामाझ जान्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा केशरी प्रधान र कुमार श्रेष्ठले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।