काठमाडौँ, ५ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३५ औँ स्थापना दिवसको अवसरमा समसामयिक राजनीतिक अवस्थाबारे काठमाडौँ, टोखामा शनिबार प्रवचन कार्यक्रम भयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाले आफ्नो स्थापनाकालदेखि नै भ्रष्टाचारविरोधी सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै पुँजीवादी व्यवस्था रहेसम्म भ्रष्टाचार अन्त्य नहुने भएको हुँदा नेपाल मजदुर किसान पार्टीले समाजवादी गणतन्त्रको आन्दोलन अगाडि बढाएको बताउनुभयो ।
उहाँले भ्रष्टाचार अन्त्य गर्न नेपालीको सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाइने कानुन बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सिंहदरबार, शीतल निवासको राष्ट्रपति भवन, संसद् भवनलगायत देशका भौतिक पूर्वाधार जलाएर नेपाललाई दशकौँ पछाडि धकेल्ने काममा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको प्रभावसमेत हुनसक्ने उहाँले बताउनुभयो ।
उहाँले संविधानसभाको पहिलो निर्वाचनपछि दाहाल, माधव, झलनाथ, खिलराज, सुशील, ओली, देउवाको पालैपालो शासन कायम भएको तर देश र जनताको हितमा कुनै काम नभएको उल्लेख गर्दै सुवालले संविधानअनुसार पूर्वप्रधानन्यायधीशको नेतृत्वमा सरकार गठन हुन नसक्नेतर्पm सबैको ध्यान जानुपर्ने औँल्याउनुभयो ।
प्रमुख अतिथि सुवालले थप्नुभयो, “संविधानमा उल्लेख मौलिक हकअन्तर्गतका सम्मानपूर्वक बाँच्न पाउने हक, शिक्षासम्बन्धी हक, श्रमसम्बन्धी हक, ज्येष्ठ नागरिक हक, महिलाको हक, विभेदसम्बन्धी हक आदि कुनै पनि कार्यान्वयन भएको छैन वा जनताले उपभोग गर्न पाएका छैनन् । करोडौँ नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइएको छ । विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गरिएन । अहिलेसम्म जातीय छुवाछुत कायम छ । यसकारण, जनताको असन्तुष्टि चुलिएको हो ।”
उहाँले सिंहदरबार, संसद्, सर्वोच्च अदालतलगायत सरकारी भवन आगजनीमा विदेशीको हात भएको हुनसक्ने र सरकारले सुरक्षा गर्न नसक्नुमा प्रश्न उठेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको संविधानबाट बहुमतले पारित भएको लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको चुच्चे नक्सा संयुक्त राष्ट्र सङ्घलगायत मित्र देशहरूलाई समयमै उपलब्ध गराउनुपर्ने थियो । सरकारहरूले मित्र देशहरूलाई समयमै नक्सा उपलब्ध नगराउँदा चीन र भारतबिच लिपुलेकमा व्यापारिक सम्झौता गरियो । सुगौली सन्धिअनुसार नेपालको सिमाना महाकाली नदीको उद्गम लिम्पियाधुरासम्म हो ।”
उहाँले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादबारे सचेत हुनुपर्ने उल्लेख गर्दै नेपाली जनताले आफ्नो सार्वभौमिकता रक्षाको निम्ति विदेशी हस्तक्षेपको विरोध गर्नु जरुरी रहेको उल्लेख गर्दै भारतीय र अमेरिकी कामदारवर्ग नेपाली कामदारवर्गको मित्र हुने र संसारमा तीस वर्षयता ५० भन्दा बढी देशमा नक्कली विद्रोह गराइएको सार्वजनिक भएको औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले युवालगायत देशको समस्या समाधान उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी व्यवस्थाले मात्र गर्नसक्ने औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्थालाई परास्त गरेर समाजवादी गणतन्त्र स्थापना गर्ने अभियानमा युवाहरू लाग्नु जरुरी छ ।”
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले नेपाल क्रान्तिकारी युवा सङ्घले देश बचाउने पुस्ता तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै विश्वमा अशान्तिको बीउ रोप्ने अमेरिकी साम्राज्यवाद र नेपाली भूमि मिच्ने भारतीय विस्तारवादको विरोध गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले थप्नुभयो, “इजरायली फासीवादले प्यालेस्टिनी जनताको नरसंहार गर्दा प्यालेस्टिनी जनताको पक्षमा नेपाल क्रान्तिकारी युवा सङ्घले प्रदर्शन गरेको चर्चा गर्दै नेपाली जनताको स्वतन्त्रता र सार्वभौमिकताको रक्षाको जिम्मेवारी पनि नेक्रायुसङ्घले निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।”
नेमकिपा टोखा नगर समितिका अध्यक्ष शोभालाल श्रेष्ठले भ्रष्टाचारविरोधी आन्दोलन पनि नेमकिपाको इतिहासको एक मुख्य भाग रहेको चर्चा गर्दै सम्पदा जलाउने र राष्ट्रको सम्पत्ति विनाश गरेर परिवर्तन नआउने बताउनुभयो ।
सभापतिको आसनबाट नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले सन् १९७५ मा अमेरिकी साम्राज्यवादको भियतनामसँगको हारपछि प्रत्यक्ष सैनिक कारबाहीको सट्टा रङ्गीन (नक्कली) क्रान्ति गराएर विभिन्न देशको सरकार ढाल्ने रणनीति अमेरिकी साम्राज्यवादले अपनाउँदै आएको यथार्थ युवाहरूले बुझ्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घका रमेश वैद्य, नेक्रायुसङ्घका सचिव मुना तामाङ र सहसचिव रमेश डंगोलले पनि बोल्नुभएको थियो ।