भक्तपुर, १६ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा भक्तपुर काण्डको भत्र्सना एवं विरोध कार्यक्रम सोमबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले भक्तपुर काण्डको पृष्ठभूमिबारे जानकारी गराउँदै नेमकिपाले पञ्चायती चुनाव उपयोग गरी पञ्चायतकै विरोधमा जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरेको पञ्चायतलाई असह्य भएको बताउनुभयो ।
त्यसबेला कक्षा ५ सम्म निःशुल्क शिक्षा व्यवस्था भएकोमा भक्तपुर नगरमा निर्वाचित जनप्रतिनिधिहरूले कक्षा ७ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नु पञ्चायती व्यवस्थालाई एक प्रकारको हाँक भएको उहाँले बताउनुभयो ।
नयाँ पुस्तालाई भक्तपुर काण्डको यथार्थ जानकारी दिने उद्देश्यले पार्टीले धेरै पार्टी प्रकाशन प्रकाशित भइसकेको जानकारी दिँदै ती प्रकाशनहरू अध्ययन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष नारायणभक्त न्हेमाफुकीको सभापतित्वमा भएको उक्त कार्यक्रममा जी. सुवाल, कमला गिरी, एसबी फोजुले पनि बोल्नुभएको थियो ।