साम्राज्यवादी युद्धविरुद्ध आवाज उठाउन जरुरी


मोरङ, ९ असोज । ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद पुस्तक’ बारे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले नेपालका हरेक जातजाति, भाषा, संस्कृति र कला विश्वकै सम्पत्ति हो, मानव सभ्यताकै निधि हो भन्नुभयो ।
आफू नै सर्वश्रेष्ठ ठानेर अरूलाई तुच्छ ठान्ने प्रवृत्ति अन्धराष्ट्रवाद हो† अरूलाई राष्ट्र नभन्ने, नमान्ने बडाराष्ट्र अहङ्कारवाद हो, उहाँले भन्नुभयो ।
संयुक्त राज्य अमेरिकाले तानाबाना बुनिरहेका हरेक किसिमका युद्धविरुद्ध आवाज उठाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले सत्यतथ्य जनतासमक्ष राख्नु हाम्रो कर्तव्य हो भन्नुभयो ।
युक्रेनलाई संरा अमेरिकाले उक्साएको हो, त्यसमा अमेरिकाले सहयोग गरेको हो, अमेरिका र नाटो मिलेर युक्रेनमा युद्ध थोपेको हो । युक्रेनलाई नेपालले समर्थन गर्नु गलत हो; यो नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत छ, उहाँले भन्नुभयो ।
अन्तरक्रियामा नेमकिपा प्रदेश नम्बर १ का इन्चार्ज उकेश कवां र वाग्मती प्रदेशभाका सदस्य सृजना सैंजूले पुस्तकबारे सङ्क्षिप्त चर्चा गर्नुभएको थियो ।
नेमकिपा जिल्ला समिति मोरङका अध्यक्ष शालिग्राम राउतको सभापतित्वमा भएको सो कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेलले पुस्तक नेपाली समाजसँग जोडेर लेखिएको बताउनुभयो ।
उहाँले राजनीतिक नेतृत्व सही भएन भने हाम्रो देश पनि युक्रेन बन्ने सम्भावना हुन्छ भन्नुभयो ।
स्वयम्भु कार्कीले जुनसुकै सन्धि सम्झौतामा हस्ताक्षर गर्न सरकार किन हामफाल्छ भनी प्रश्न गर्नुभयो ।
युक्रेनको पक्षमा रुसको विरुद्धमा सरकारले दिएको अभिव्यक्तिप्रति नेमकिपाले उठाएको प्रश्न सही छ, उहाँले भन्नुभयो ।
केशवप्रसाद गौतमले पुस्तकालयको संयोजनमा ज्येष्ठ नागरिकहरूको सम्मान गरेको, मादक पदार्थविरोधी आन्दोलन चलाएको बताउनुभयो ।
उहाँले रुसको अक्टोबर क्रान्तिमा लेखक म्याक्सिम गोर्कीले क्रान्तिमा योगदान गरेको चर्चा गर्नुभयो ।
दिनेश श्रेष्ठले पठन संस्कृतिमा जोड दिनुभयो भने बलराम पोखरेल, जीवन खत्री र केशव सुवालले पनि समसामयिक विषयमा आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार