स्वास्थ्य बीमा रकम समयमै अस्पताललाई भुक्तानी हुनु आवश्यक


काठमाडौँ, ११ असोज । “भक्तपुर नगरपालिकाअन्तर्गतको ख्वप अस्पतालले रु. १० करोड ३८ लाख स्वास्थ्य बीमा भुक्तानी पाएको छैन । देशभरिका अस्पतालहरूले अर्बौँ र खर्बौँ रुपैयाँ स्वास्थ्य बीमाको रकम भुक्तानी पाएका छैनन् ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गको कानुन समितिको उपसमितिको बुधबारको बैठकमा उक्त भनाइ राख्नुभएको हो ।
“स्वास्थ्य बीमा गरेकाहरूले तिरेको खर्बौँ रुपैयाँ सरकारी कोषमा जम्मा भएको छ । समयमा स्वास्थ्य बीमाको रकम भुक्तानी नपाएका अस्पतालहरूलाई बिरामीको उपचारको लागि आवश्यक औषधि खरिद गर्न कोषको समस्या भएको छ । स्वास्थ्य बीमा गरेकाहरू उपचार नपाएर मृत्यु हुने खतरा छ ।” सांसद सुवालले बैठकमा उल्लेख गर्नुभयो ।
“चुनावमा जित्नुको अर्थ सिंहदरबार कब्जा गर्नुमात्र होइन जनताको सेवा राम्रोसँग गर्नु हो । स्वास्थ्य मन्त्रीलाई बोलाएर समितिले स्वास्थ्य बीमाको अर्बौँ रूपैयाँ भुक्तानी गर्न निर्देशन दिनु आवश्यक छ ।” सांसद सुवालले जोड दिनुभयो ।
सम्पत्ति शुद्धीकरणलगायत नेपालका केही ऐन संशोधनमा विधेयकमा छलफल गर्न बोलाइएको उपसमितिको बैठकमा सांसद सुवालले विधेयकमा दफावार छलफल गरी प्रतिवेदन पेश गर्न प्रतिनिधिसभाको बैठकबाट समितिमा पठाउने निर्णय गरेको उल्लेख गर्दै उपसमिति बनाई विधेयकबारे छलफल गर्नु उपयुक्त नभएको बताउनुभयो ।
सांसद सुवालले आफ्नो संशोधन समितिको बैठकमा राख्ने व्यवस्थाको लागि उपसमितिको ध्यानाकर्षण गराउनुभयो ।
एमालेका सांसद रघु पन्तले पनि विधेयकमाथि दफावार छलफल उपसमितिमा नभई समितिमा हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टी गतिविधिहरु
समाचार