पार्टी कार्यकर्ताहरूले जनताको हितमा सङ्घर्ष गर्नुपर्नेमा जोड


सुर्खेत, २१ असोज । नेपाल मजदुर किसान पार्टी सुर्खेतको नवौँ जिल्ला सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले हरिबहादुर बोहराको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
आइतबार भएको सम्मेलनको बन्द सत्रमा प्रशिक्षण दिँदै पार्टी सचिव प्रेम सुवालले पार्टी कार्यकर्ताहरू जनताको बिचमा गएर सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै पार्टी प्रकाशन नियमित अध्ययन र पार्टी गतिविधिमा नियमित सहभागी हुनु जरूरी छ भन्नुभयो ।
घर छाडेर पार्टी सङ्गठनमा नलागेका कार्यकर्ताहरूले आन्दोलनको आँधीसित जुध्ने आँट गर्न नसक्ने धारणा राख्दै उहाँले पार्टी कार्यकर्ताहरू जनताकै घर–आँगनमा पुग्नुपर्ने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “पार्टी कार्यकर्ताहरूले जनताको विचार र सुझावलाई ध्यान दिनु जरूरी छ । जनतालाई हेला वा घृणा गर्नु ठूलो गल्ती हुनेछ । पार्टी कार्यकर्ताले बढी चिन्ता देश, जनता र पार्टीकै लिनुपर्दछ ।”
“कम्युनिस्टको कसी जनसमर्थन नै हो । जनताको बिचमा गइरहने पार्टी कार्यकर्ताको खोट भए पनि सफा गर्न मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले कार्यकर्ताहरू मनोगतवाद र गुटवादमा लाग्न नहुने चर्चा गर्दै उहाँले भन्नुभयो, “भविष्यलाई जोगाउन बितेका गल्तीहरूबाट पाठ सिक्नु जरूरी छ । सैद्धान्तिक र राजनीतिक आलोचनालाई स्वीकार गर्नुपर्दछ । आलोचनाले राजनीतिक विराम हटाउन मद्दत पुग्छ । जनतालाई सचेत र सङ्गठित नगरिएको सङ्घर्ष सफलतामा टुङ्गिदैन ।”
नयाँ कार्य समिति गठनको लागि निवर्तमान जिल्ला समितिका उपाध्यक्ष प्रेमकुमार थापाले प्रस्ताव गर्नुभएको थियो भने प्रस्तावमाथि समितिका निवर्तमान सचिव धनेन्द्र विकले समर्थन गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार