राजनीतिक र सांस्कृतिक स्तर उठाउन अध्ययन र अन्तरक्रिया आवश्यक


दैलेख, २३ असोज । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा डुङ्गेश्वरमा सोमबार ‘समाज विकासको एक झलक’ पुस्तकको अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले पार्टी कार्यकर्ताहरूले राजनीतिक र सांस्कृतिक स्तर उठाउन पार्टी प्रकाशनको अध्ययन र अन्तरक्रिया गर्नु जरुरी छ भन्नुभयो ।
उहाँले मानिसको दुःखको कारण कर्म देखाएर प्रक्रियावादीहरूले झूटा तर्क राख्ने गरेको चर्चा गर्दै नेपाली जनतालाई दुःख सिंहदरबार कब्जा गर्न पुगेका शासक दल र तिनका नेताहरूको कारण भएको हो भन्नुभयो ।
सचिव सुवालले माध्यमिक शिक्षा विधेयकमा विद्यालय शिक्षा कक्षा १२ सम्म निःशुल्क र अनिवार्य गर्नुपर्ने, राष्ट्रिय स्तरको एसईई परीक्षा चालु राख्नुपर्ने तथा शिक्षक शिक्षिकालाई अन्य पेसामा लाग्नेलाई भन्दा बढी पारिश्रमिक र सुविधाको व्यवस्था गर्ने उल्लेख हुनु जरुरी छ भन्नुभयो ।
कार्यक्रममा सचिव सुवालले नेमकिपाले संविधान निर्माणकै बेला शिक्षा र स्वास्थ्य निःशुल्क, नेपालीको सम्पत्ति सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने, राज्यको स्वामित्वमा उत्पादन र वितरणको व्यवस्था गर्ने संशोधन राखेको थियो, ती संशोधनलाई शासक दलहरूले अस्वीकार गरेको हुँदा अहिले नेपाल र नेपाली जनतालाई दुःख भएको हो भन्नुभयो ।
“कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण, पश्चिम सेती भारतीय एकाधिकार पुँजीलाई दिएका शासक दलहरूले निर्वाचनमा सामान र पैसा बाँडेर भोज खुवाएर जित्नु, परीक्षामा नक्कल गरी उत्तीर्ण हुनुजस्तै हो ।”, उहाँले भन्नुभयो ।
उहाँले अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी, अमेरिकी सेनाले नेपाली सैनिक ब्यारेक कब्जा गर्ने एसपीपी र नेपाललाई सिक्किमको अवस्थामा पु¥याउने नागरिकता विधेयकको समर्थन गरेका शासक दल र तिनका नेताहरू देशभक्त होइनन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “चीनले केन्द्रीय बजेट तिब्बतको दुर्गम क्षेत्रमा लगाई विकास गरेजस्तै नेपालका सरकारहरूले देशको धेरै बजेट गाउँ गाउँको विकासमा लगाउनु जरुरी थियो तर लगाएनन् । उल्टो नेपाली युवाहरूलाई म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा पठाएर दाल, चामल, तरकारीसमेत भारतीय एकाधिकार पुँजीसँगै मिलेर खान नेपाली जनतालाई बाध्य पारियो ।
उहाँले भन्नुभयो, “समाजवादको नेतृत्वमा रुस, चीन, प्रजग कोरिया, क्युवाले पुँजीवादको २–३ सय वर्षको विकास ३०, ४० वर्षमा हासिल गरे । नेपालमा एमाले र माओवादी सरकारमा गएर भाइ काङ्ग्रेसजस्तै भए । शासक दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही महिनाअघि भारत पठाएर फुकोट कर्णाली पनि दिए । ”
नेमकिपा दैलेख जिल्ला समितिका जगत ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्यद्वय सरोजराज गोसाई र हरिसुन्दर बासी, दैलेखका लोकप्रसाद आचार्य, उदयजङ शाही, नरेन्द्र कार्की, हिरामणी न्यौपाने र मनोज दाहाललगायतले बोल्नुभएको थियो ।

​​​​​​​

पार्टी गतिविधिहरु
समाचार