दैलेखका शिक्षकहरूसँग सांसद सुवालको भेट


दैलेख, २३ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले दैलेखको पश्चिमी भेग चामुण्डा विन्द्रासैनी नपा, आठबीस नपा र ठाँटीकाँध गाउँपालिकामा कार्यरत नेपाल क्रान्तिकारी शिक्षकहरूसँग सोमबार ठाँटीकाँधमा भेट गर्नुभयो ।
भेटको क्रममा सांसद सुवालले वर्तमान परिस्थितिबारे जानकारी दिँदै स्थानीय संरचना स्थापना भए यता जनताका समस्या सहजै समाधान हुनुपर्नेमा झनै गञ्जागोल देखिएको छ भन्नुभयो । शिक्षकलगायत विभिन्न पेसागत सङ्घ सङ्गठनहरूले पेसागत हक, हित र आफ्नो सेवा सुविधाको थप माग राखी आन्दोलनमा उत्रिएको चर्चा गर्दै उहाँले भन्नुभयो “सरकारले विद्यालय शिक्षा र पढाउने शिक्षकहरूको उचित व्यवस्थापन गर्न सकिरहेको छैन, विभिन्न प्रकृतिका शिक्षकहरू न्यून पारिश्रमिक÷वेतनमा काम गरिरहनुभएको छ । सरकारले यसमा ध्यान दिनुपर्ने हो ।”
शिक्षामा गुणस्तर ल्याउन लगानी पनि जरुरी भएकोले नेमकिपाले कुल राष्ट्रिय बजेटको २४ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा आफूले संसद्मा बारम्बार राख्दै आएको उहाँको थप भनाइ छ ।
उहाँले थप्नुभयो, “अहिले १२ कक्षा पढेका विद्यार्थी भाइबहिनीहरू उच्च शिक्षा पढ्ने कुरा भन्दा विदेशतिर आकर्षित भएको धेरै पाइएको छ । विद्यार्थीहरूलाई राजनीतिक चेतना जगाउनुपर्छ । हामी देश र जनताको सेवामा समर्पित हुनुपर्छ ।”

पार्टी गतिविधिहरु
समाचार