प्यालेस्टाइनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध विरोध प्रदर्शन तथा सभा


 

प्यालेस्टाइन स्वतन्त्र नभएसम्म इजरायली फासीवादविरुद्ध आवाज उठिरहने छ
काठमाडौँ १७, कार्तिक । प्यालेस्टाइनमा अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादको बर्बर नरसंहारको निन्दा गर्न र प्यालेस्टाइनी जनताको आफ्नो भूमि फिर्ता लिने सङ्घर्षलाई समर्थन गर्न नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले शुक्रबार दिउँसो १ बजे काठमाडौँमा प्रदर्शन तथा सभा आयोजना गरे ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम सांसद प्रेम सुवालले भन्नुभयो, “सरकारले इजरायल रोजगारीमा पठाएका नेपाली विद्यार्थीहरूमध्ये त्यहाँको युद्धमा परेर १० जनाको मृत्यु भयो र विपिन जोशी एकजना प्यालेस्टाइनीहरूको राजनैतिक र सैनिक सङ्गठन हमासको बन्धकमा रहेको सार्वजनिक भयो । सयौँ वर्षदेखिको युद्धभूमि इजरायलमा ‘सिक्ने र कमाउने’ भनी नेपाली विद्यार्थीहरूलाई पठाउने सरकारका प्रधानमन्त्री, मन्त्री, उच्च अधिकारीहरू र म्यानपावर कम्पनीका सञ्चालकहरू यो मृत्यु र बन्धकका दोषी हुन् । विपिन जोशीलाई सकुशल फिर्ता गर्न हामी हमासको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”
प्यालेस्टाइनी जनताको समर्थन गर्दै इजरायल सरकारको विरोधमा संसारभरि ‘बमबारी बढी भयो’ भनी नारा लगाई जुलुस र सभा भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संरा अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, क्यानडालगायत ५०–६० देशमा युद्धको विरोधमा जनताको प्रदर्शन भइरहेको छ । युद्धको समर्थन गरेका संसारका शासकहरू एक्लिँदै छन् ।”
सांसद सुवालले भन्नुभयो, “प्यालेस्टाइनमा युद्धविराम गरी मानवीय सहयोग पठाउने सम्बन्धी प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको १२० देशले समर्थन गरेर पारित ग¥यो भने विपक्षमा संरा अमेरिका र इजरायललगायत १४ ओटा देशमात्र भयो ।”
सांसद सुवालले स्पष्टसँग राख्नुभयो, “महासभामा अमेरिकी सरकारको हार भएपछि बाइडेनले सुरक्षा परिषद्मा विशेषाधिकार (भिटो) प्रयोग गरी उक्त प्रस्तावलाई विफल पारेर मानवताविरोधी अपराध गरे ।”

“मध्यपूर्व रणनीतिक महत्वको क्षेत्र भएको र त्यहाँ संसारको तीनचौथाइ तेलको भण्डारण (खानी) रहेको हुँदा अमेरिकाले इजरायललाई हतियार सहयोग गर्नुका साथै रैथाने प्यालेस्टाइनीहरूको आमसंहार गरी विस्थापन गरिरहेको हो,” उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “असोज ५ गते संयुक्त राष्ट्र सङ्घमा इजरायली प्रम न्यतन्याहुले प्यालेस्टाइनी भूमि मेटेर नक्सा देखाए । यसको विरोधमा असोज २० गते प्यालेस्टिनीहरूको सैनिक सङ्गठन हमासले प्रत्याक्रमण गरेको हो । कार्तिक १ गते इजरायल पुगेर अमेरिकी राष्ट्रपति बाइडेनले प्यालेस्टाइनी जनताविरूद्ध युद्ध गर्न आवश्यक हतियार सहयोग दिने बाचा गरे र १५ अर्ब डलरको हतियार इजरायललाई बिक्री गरे । बेलायती प्रम सुनकले पनि तेल अभिभ पुगेर प्यालेस्टाइनी जनताविरूद्ध इजरायलको युद्धलाई समर्थन गरे ।”
सांसद सुवालले अमेरिका र इजरायल सरकारको ध्यानाकर्षण गर्दै भन्नुभयो, “अहिले २३ लाख प्यालेस्टाइनीहरूको बसोबास रहेको गाजामा इजरायली र अमेरिकीहरूको बमवर्षा भइरहेको छ । त्यहाँ खानेपानी, खानेकुरा, बिजुली, औषधिसमेतको आपूर्ति रोकिएको छ ।”
“बेलायतको संसद्मा एक सांसदले प्रम सुनकसँग सोधे– इजरायली फासीवादले कति प्यालेस्टाइनी जनताको हत्या गरेपछि इजरायली राजदूतलाई बेलायतबाट फिर्ता पठाउने, इजरायली प्रम न्यतन्याहुलाई युद्ध अपराधी घोषणा गर्ने र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्ने ?” सांसद सुवालले भन्नुभयो ।
इटालीको रोमस्थित संयुक्त राष्ट्र सङ्घको भवनमा राखिएको इजरायली झन्डालाई एक युवकले हटाएको घटना उल्लेख गर्दै सांसद सुवालले अफ्रिकीहरूले इजरायली प्रम न्यतन्याहुलाई एक नम्बरको आतङ्कवादी घोषणा गरेको बताउनुभयो ।

“युद्ध अपराधमा संलग्न अमेरिकी राष्ट्रपति बाइडेन र न्यतन्याहुलाई सजाय हुनुपर्ने आवाज संसारभरि नै उठिरहेको छ । ‘प्यालेस्टाइनी राज्य स्थापना गर’ यो संसारभरिको आवाज हो । संसारका एकतिहाइ जनतालाई नाकाबन्दी गर्ने अमेरिकी साम्राज्यवादले संसारलाई ‘निगरानी गर्ने’ दाबी कसरी गर्न मिल्छ ?” सांसद सुवालले प्रश्न गर्नुभयो ।
“प्यालेस्टिनी जनताको समर्थनमा बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध विच्छेद ग¥यो भने चिली र कोलम्बियाले आफ्ना राजदूत फिर्ता बोलाए । नेपाल सरकारले पनि इजरायलका राजदूतलाई फिर्ता पठाउने तयारी गर्नु जरूरी छ” उहाँले भन्नुभयो ।
“अमेरिकी सरकारको फोन धम्कीको अगाडि तर्सेर नेपालका शासक दलहरूले एमसीसी सम्झौता संसद्को बहुमतबाट पारित गरे । युक्रेनबारे संयुक्त राष्ट्र सङ्घमा रूसविरूद्ध मत दिए ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।”

कार्तिक १६ गते संयुक्त राष्ट्र सङ्घमा क्युवाविरूद्धको अमेरिकी नाकाबन्दी हटाउने प्रस्तावको पक्षमा १८७ मत प¥यो भने संरा अमेरिका र इजरायलले मात्र विपक्षमा मत दिए । संरा अमेरिकाले सन् १९६० देखि क्युवाविरूद्ध नाकाबन्दी लगाएको थियो । सो नाकाबन्दी हटाउने प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट ३१ आँै पटक पारित भएको हो । तर अमेरिकी सरकारले नाकाबन्दी हटाएको छैन । अमेरिकी नाकाबन्दीले यो एक वर्षमा क्युवालाई ४८६७ मिलियन डलर नोक्सान भयो भने कूल नोक्सानी अहिलेसम्म १,५९०८४.३ मिलियन डलर भयो ।
“आजको प्रदर्शनमा नेपालका युवा विद्यार्थीहरूले प्यालेस्टाइन स्वतन्त्र हो, इजरायल आतङ्कवादी राज्य हो । हे बाइडेन तिमी के भन्छौ ? तिमीले आज कति विद्यार्थी हत्या ग¥यौ ? न्यतन्याहु तिमी भाग्न सक्दैनौ, हामी तिमीलाई आमसंहारको मुद्दा लगाउँछौँ ।” आदि नारा लगाएर संसारका जनतासँग स्वरमा स्वर मिलाएका छन् । संसारको यो आवाज प्यालेस्टाइनी जनताले आफ्नो भूमि फिर्ता नपाएसम्म र इजरायली फासीवादलाई सजाय नभएसम्म उठिरहने छ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य एवम् नेमकिपा केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले अमेरिकी साम्राज्यवादको बुँई चढेर इजरायली फासीवादले प्यालेस्टाइनका निर्दोष जनतामाथि बमबारी गरिरहेकोमा खेद प्रकट गर्नुभयो । उहाँले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न अविराम सङ्घर्ष गरिरहेका वीर प्यालेस्टिनी जनताप्रति नेपालका साम्राज्यवादविरोधी जनताको तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो । उहाँले नेक्रायुसङ्घ तथा नेक्राविसङ्घको तर्फबाट संरा अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायली प्रम बेन्जामिन न्यतन्याहुलाई (अङ्ग्रेजी भाषामा) लेखिएको ज्ञापनपत्र वाचन गर्नुभएको थियो ।
वाग्मती प्रदेशसभा सदस्य एवम् नेमकिपा केन्द्रीय सदस्य सिर्जना सैँजुले इजरायलको बमबारीमा परेर प्यालेटाइनका अस्पताल र विद्यालयहरूमा प्यालेस्टिनी महिला तथा बालबालिकाले भोग्नुपरिरहेको बिचल्लीमाथि प्रकाश पार्नुभयो । उहाँले प्यालेटाइनमै संरा अमेरिकाको चिहान खनिने विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले इजरायलले प्यालेस्टाइनलाई कैदमा राखेर आत्मरक्षा गरिपाउँ भनी झूटो विलाप गरिरहेको बताउनुभयो । इजरायली फासीवादको अत्याचार अचाक्ली हुन पुगेकोले अक्टोबर ७ बाट प्यालेस्टाइनी देशभक्तहरूले प्रतिरोध युद्ध गरेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटा र सहसचिव रमेश डंगोलले पनि बोल्नुभएको थियो ।
काठमाडौँ रत्नपार्कबाट सुरू भएको विरोध जुलुस जमल, ठँहिटी, इन्द्रचोक, न्युरोड हुँदै रत्नपार्कमै पुगेर सभामा परिणत भएको थियो । जुलुसमा अमेरिकी साम्राज्यवाद – मुर्दावाद !, इजरायली सेनाको बर्बरता – बन्द गर !, इजरायली फासीवाद – मुर्दावाद !, प्यालेस्टाइनीहरूको आफ्नो देश – फिर्ता गर !, इजरायली राज्य आतङ्क – बन्द गर !, प्यालेस्टाइनी मुक्ति सङ्घर्ष – जिन्दावाद !, प्यालेस्टाइनमा नरसंहार – बन्द गर !, विश्वका न्यायप्रेमी जनता – एक होऔँ !, प्यालेस्टाइनी भूमि खोस्न – पाइँदैन !, युद्ध सरदार को हो ? अमेरिकी राष्ट्रपति हो, न्यतन्याहु को हो ? – अमेरिकी कठपुतली हो, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिन्दावाद !, नेपाल क्रान्तिकारी युवा सङ्घ जिन्दावाद !, नेपाल मजदुर किसान पार्टी जिन्दावाद ! आदि नारा लगाइएको थियो ।
सोही दिन नेपाल क्रान्तिकारी युवा सङ्घ तथा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले युद्धको विरोधमा संरा अमेरिकी राजदूतावासमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ज्ञापनपत्र बुझाएका थिए भने काठमाडौँस्थित इजरायली राजदूतावासमार्फत प्रम बेन्जामिन न्यतन्याहुलाई पठाउने ज्ञापन पत्र इजरायली दूतावासले इमेल गर्नु भनेर बुझ्न अस्वीकार गरेको थियो ।

पार्टी गतिविधिहरु
समाचार