जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य र देशभित्र रोजगारीको व्यवस्था नभएसम्म समृद्ध नेपाल र सुखी नेपाली हुनेछैन


भक्तपुर, १८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद पे्रम सुवालसँग सुनसरी जिल्लाका समाजसेवीहरूको टोलीले शनिबार भेटघाट ग¥यो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एव्म सांसद सुवालले राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र भएको धारणा राख्दै कार्यकर्ताहरूमा यही भावना विकास गराउन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ४८ वर्ष अगाडि ‘जनताको साहित्य र साहित्यकार’ र ४० वर्ष अगाडि ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ पुस्तकहरू लेख्नुभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा प्रधानमन्त्री भएकाहरूसँग देश विकासको खाका भएन । देशलाई परनिर्भर बनाइयो । जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य र देशभित्र रोजगारीको व्यवस्था नभएसम्म समृद्ध नेपाल र सुखी नेपाली हुनेछैन ।”
कम्युनिस्ट दावी गरेकाहरू पुँजीवादी सरकारको भागबन्डा खान गएको, मजदुर र किसानविरोधी बनेको, विदेशी पुँजीको दलाल भएको हुँदा दाल, चामल, तरकारीसमेत भारतबाट किनेर खानुपर्ने अवस्था भएकोतर्फ सांसद सुवालले सचेत गराउनुभयो ।
“प्रधानमन्त्री बनेकाहरू फोन धम्कीमा डराएर एमसीसी सम्झौता संसदबाट पारित गराउँछन्, रुसविरुद्ध संयुक्त राष्ट्र सङ्घमा मत दिन्छन्”, उहाँले भन्नुभयो, “भारतसँगको खुला सीमा नियमन र बन्द गरिए सीमा तस्करी, अपराधी एकअर्को देशमा लुक्ने, चेलिबेटी बेचविखन र नागरिकता समस्यासमेत समाधान गर्न मद्दत पुग्छ । जन्मको आधारमा विदेशीलाई नेपाली नागरिकता दिइएको खारेज हुनुपर्दछ ।”
नेपाल मजदुर किसान पार्टीले विद्यालय र कलेज खोलेर देश र जनताको सेवा गर्दै आइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “मध्यपूर्व विश्वको तीन चौथाई तेल भण्डारण (खानी) भएको क्षेत्र हो । यसैकारण अमेरिकी सरकारले आफ्ना दलाल यहुदीवादी इजरायली प्रम बेन्जामिन न्येतन्याहुलाई सहयोग गरी रैथाने प्यालेस्टिनीहरूको उठिवास गराएको हो, बमवारी गरिरहेको हो । इजरायली फासीवादको आक्रमणको कारण प्यालेस्टिनी जनताले खानेपानी, औषधि, खाद्यान्न, इन्धन पाएका छैनन् । यसकारण नेपाल मजदुर किसान पार्टीले हजारौँको सहभागितामा युद्धको विरोधमा प्यालेस्टिनी जनताको समर्थनमा कार्तिक १७ गते काठमाडौंमा प्रदर्शन र सभा गरेको हो । प्यालेस्टिनी जनताको समर्थनमा संसारभरी प्रदर्शन भइरहेको छ । यसबारे सञ्चार माध्यममा समाचार प्रकाशित भइरहेका छन् । नेपाल मजदुर किसान पार्टीले प्यालेस्टिनी जनताको समर्थनमा काठमाडौँमा गरेको प्रदर्शनको समाचार अधिकांश सञ्चार माध्यमले छाप्ने आँट गरेनन् । एउटा समाचार माध्यमले निद्युतीय माध्यममा राखिसकेको समाचार समेत हटायो ।”
कतिपय देशका सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई प्यालेस्टिनी जनताको विरोधमा समाचार लेखाउन इजरायलले त्यहाँ पुग्ने, खाने, बस्ने व्यवस्था गरी बोलाएको उहाँले जानकारी दिनुभयो ।
सांसद सुवालले भन्नुभयो, “अन्ततः जीत सत्यको हुनेछ, प्यालेस्टिनी जनताको हुनेछ । प्यालेस्टिनी जनताले आफ्नो भूमि फिर्ता पाउनेछन् । इजरायली फासीवादको पराजय हुनेछ ।”
भेटमा नेमकिपा केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक उकेश कवांले भक्तपुर नगरपालिकाले नेमकिपाको निर्देशनमा र निर्वाचन घोषणापत्रअनुसार देश र जनताको इमानदारीपूर्वक काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारको नीतिको कारण युवाहरू विदेशिन बाध्य भएको हो । २०६३ र २०७९ मा नागरिकता ऐन संशोधन गरेर वंशजको नागरिकको अधिकार खोसियो । विदेशीलाई नेपाली नागरिकता दिएर नेपालको स्वतन्त्रता र सार्वभौमिकता खतरामा पु¥याउने काम भयो ।”
देश आत्मनिर्भर बन्न राष्ट्रिय पुँजीको संरक्षण गर्र्नुपर्नेमा दलाल पुँजीपतिको हावी भइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सरकारमा विदेशी दलालहरू गएर देशका कलकारखाना कौडीको मोलमा निजीकरण गरिए । विदेशीसँग ऋण लिएर देश विकास नहुने पक्का भइसकेको छ ।”
कार्यक्रममा धरानका सुनिल शाक्यले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार