अमेरिकी साम्राज्यवाद एक्लो महाशक्ति बन्दा विश्व अशान्त तथा असुरक्षित


भक्तपुर, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा मङ्गलबार अगुवा कार्यकर्ता भेला सम्पन्न भयो । भेलामा नेमकिपाका सचिव प्रेम सुवालले समाजवादी विचारलाई गम्भीर ढङ्गमा आत्मसात् गर्न कार्यकर्तामा सैद्धान्तिक जग, सामूहिक भावना तथा सेवाभाव आवश्यक भएको विचार राख्नुभयो ।
भेलामा प्रशिक्षण दिँदै सचिव सुवालले रुसी अक्टोबर समाजवादी क्रान्तिले निर्माण गरेको शक्तिशाली सोभियत समाजवादले अस्थायी हार बेहोरिसकेपछि विश्व एक ध्रुवीय बनेको चर्चा गर्दै अमेरिकी साम्राज्यवाद एक्लो महाशक्ति बन्दा विश्व अशान्त तथा असुरक्षित बनेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “युक्रेनपछि प्यालेस्टाइनमा फासीवादीहरूको जगजगी बढ्दो छ । युद्ध चर्किंदै गइरहेको छ । युक्रेन र प्यालेस्टाइनमा भइरहेको युद्धको मूल कारक अमेरिकी साम्राज्यवाद हो । साम्राज्यवादविरोधी सङ्घर्ष बलियो नभई शान्ति स्थापना हुनेछैन ।”
उहाँले अगाडि भन्नुभयो, “प्यालेस्टाइनको पक्षमा विश्व जनमत बढ्दै गएबाट सकारात्मक सन्देश प्रवाह भइरहेको छ । युद्धविराममात्र होइन हामी प्यालेस्टिनी जनताले आफ्नो भूमि तथा स्वतन्त्रता पाउनुपर्छ भन्ने पक्षमा छौँ ।”
उहाँले प्यालेस्टाइनमा छानी–छानी मानिसको हत्या भइरहेको उल्लेख गर्दै अन्य देशमा समेत नरसंहार फैलिने खतरा बढ्दै छ भन्नुभयो । उहाँले विश्वका राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक अध्ययन गरी जनतालाई शिक्षित बनाउन कार्यकर्ताको महत्वपूर्ण भूमिका आवश्यक भएको चर्चा गर्नुभयो । नेपाली कामदार जनतालाई शिक्षित बनाउने उद्देश्यका साथ नेमकिपाले राष्ट्रिय – अन्तर्राष्ट्रिय विषयमा छलफल अगाडि बढाइरहेको र प्रकाशनमा समेत जोड दिइरहेको बारे उहाँले प्रकाश पार्दै भन्नुभयो, “पार्टी प्रकाशनको अध्ययन, अन्तरक्रिया तथा जनताबिच छलफल पार्टी जीवनको महत्वपूर्ण पक्ष हो । त्यसलाई कार्यकर्ताले जीवनपद्धति बनाउन आवश्यक छ ।”
नेमकिपाका भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले जिल्लामा भइरहेका राजनीतिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक गतिविधिबारे चर्चा गर्दै जनताको सांस्कृतिक स्तर वृद्धिले जनसङ्घर्षको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार गर्नुभयो । उहाँले कम्युनिस्टहरू अन्तर्राष्ट्रियवादी हुने प्रस्ट पार्दै नेमकिपाले आजभन्दा ५५ वर्ष अगाडि नै भियतनाममाथि अमेरिकी हमलाविरुद्ध सङ्घर्ष गरेको र त्यो अन्तर्राष्ट्रवादी कर्तव्य निर्वाह आज पनि गर्दै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवाद विश्वमा एक्लिँदै छ । क्युवाविरुद्ध अमेरिकी नाकाबन्दीबारे संयुक्त राष्ट्रसङ्घमा भएको मतदानमा अमेरिका एक्लियो र १८७ देशले क्युवाको पक्षमा मत दिए । प्यालेस्टाइनमाथि चालु इजरायली हमला रोकेर युद्धविराम गर्ने विषयमा विश्वका १२० देशले प्यालेस्टाइनको पक्ष लिए । यद्यपि, अमेरिकाले आफ्नो दादागिरी देखाउन छोडेको छैन । विश्व पुनः बहुध्रुवीयताको पक्षमा उभिँदै छ ।”
भेलामा जिल्लाका गतिविधिहरूबारे सिंहावलोकन तथा भावी कार्यक्रमबारे छलफल गरिएको थियो ।

पार्टी गतिविधिहरु
समाचार