नेमकिपाका अध्यक्ष बिजुक्छेँ र चिनियाँ नेता वाङको भेटवार्ता


भक्तपुर, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपाल भ्रमणमा आएका मित्र देश चीनको सिन्चाङ (तिब्बत) स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युनचङले आइतबार भेटवार्ता गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले नेपाल र चीनको सम्बन्ध धेरै पुरानो भएको र तिब्बतमा विवाह भएकी नेपालकी छोरी भृकुटीको समयदेखि नै नेपाल र चीनबिच सांस्कृतिक आदानप्रदान बढेको चर्चा गर्नुभयो ।
बरोबरको भूकम्प र युद्धको कारण प्राचीन नेपालको अभिलेख थोरैमात्र बाँकी भएको उल्लेख गर्दै उहाँले प्राचीन नेपाल र बौद्ध दर्शनबारे बुझ्न चिनियाँ र तिब्बती भाषाका अभिलेख अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
दुई देशका नयाँ पुस्तालाई भाषा र संस्कृतिबारे प्रशिक्षण दिएर पुरानो सम्बन्ध र सहकार्यलाई घनिष्ट बनाउन सकिने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले चिनियाँहरू नेपालीका पुराना मित्र भएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले उत्तरको वास्तुकला र दक्षिणको धर्म दर्शनको प्रभाव नेपालमा परेको अर्थात् उत्तर र दक्षिणको मिलनबिन्दु नेपाल भएको उल्लेख गर्दै माक्र्सवाद र माओ त्सेतुङ विचारधाराका पुस्तकहरू दक्षिणबाट हिन्दी र अङ्ग्रेजी भाषामा नेपाल ल्याइएको बताउनुभयो ।
“हामीले माओ त्सेतुङ विचारधारालाई देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने रूपमा लिएका छौँ”, अध्यक्ष बिजुक्छेँले थप्नुभयो ।
“नेपालमा स्थानीय उत्सवको समय चिनियाँ मित्रहरूको भ्रमणले अर्को उत्सव थपिएको छ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
सचिव वाङले भक्तपुरको संस्कृति र सम्पदा अवलोकनले आफूलाई गहिरो छाप परेको उल्लेख गर्दै विश्व सम्पदा सूचीमा परेको भक्तपुर मानव जातिको लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँ चीनको असल र पुरानो साथी भएको र आगामी दिनमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल मजदुर किसान पार्टीबिचको मित्रता थप घनिष्ट हुने विश्वास व्यक्त गर्दै सचिव वाङ्ले आफू चीनका पुराना र असल मित्रसँग भेटवार्ताको लागि भक्तपुर आएको बताउनुभयो ।
चीनका राष्ट्रपति सिन चिनफिङको सन् २०१९ मा भएको नेपाल भ्रमणमा दुई देशबिच भएको सम्झौतालाई कार्यान्वयन गर्न यसपटक आफ्नो नेपाल भ्रमण जोडिएको उल्लेख गर्दै सचिव वाङले नेपालको पूर्वाधार निर्माण गर्न हरेक वर्ष ४० करोड रूपैयाँ सहयोग गर्ने र सो सहयोग सीमावर्तीका नेपाली जनताको हितमा जोड दिने बताउनुभयो ।
सचिव वाङले भर्खरै पश्चिम नेपाल जाजरकोट केन्द्र भई गएको भूकम्प पीडित जनतालाई सहयोग गर्न केन्द्र सरकारको सहमतिमा सिंचाङ सरकारले थप ५ करोड रूपैयाँ सहयोग गर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँलाई चीन र सिन्चाङको भ्रमणको निमन्त्रणा दिँदै सचिव वाङले देश र जनताको निःस्वार्थ सेवा मुख्य विषय भएको बताउनुभयो ।
“भाषा जुनसुकै भए पनि माओ त्सेतुङ विचारधाराको आधारभूत विषय देश र जनताको सेवा नै हो† दुई पार्टी र दुई देशको उद्देश्य जनताको सेवा हो† पहाड र नदीले जोडिएको नेपाल र चीनका जनताको सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण छ”, सचिव वाङले थप्नुभयो ।
अध्यक्ष बिजुक्छेँले सचिव वाङलाई काष्ठकलाको मयुर झ्याल र पार्टी प्रकाशनहरू उपहार दिनुभयो भने सचिव वाङले अध्यक्ष बिजुक्छेँलाई चिनियाँ आधुनिक प्रविधिबाट बनेको सेरामिक्सका कप र सिंचाङका तस्बिरहरू संलग्न पुस्तक उपहार दिनुभयो ।
भेटवार्तामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति र केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजुको उपस्थिति थियो ।
चिनियाँ टोलीमा नेपालका निम्ति चिनियाँ राजदूत चेन सङसहित १३ जनाको उपस्थिति थियो ।
चिनियाँ टोलीलाई भक्तपुरको दरबार क्षेत्र (लायकू) मा भनपा प्रमुख सुनिल प्रजापतिलगायत जनप्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो । सचिव वाङले चिनियाँ कम्युनिस्ट पार्टीको कुनमिनको एक सहरको जिल्ला प्रमुख, लिचियाङ सहरको मेयर र सचिव भएर पनि सेवा गर्नुभएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वशासित क्षेत्रका सचिव वाङ च्युनचङ भक्तपुर भ्रमणमा

भक्तपुर, २६ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वशासित क्षेत्रका सचिव वाङ च्युनचङले आइतबार भक्तपुर भ्रमण गर्नुभयो ।
पार्टी सचिव च्युनचङसहितको टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभयो । उक्त टोलीले भक्तपुर दरबार क्षेत्रस्थित न्ह्यकं झ्या दरबार, लुँ ध्वाका, पचपन्न झ्याल दरबार, सिलु महादेव, चतर्ब्रह्म महाविहार हुँदै भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर र भैरवनाथको मन्दिरको अवलोकन गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार