समाज परिवर्तनको लागि क्रान्ति आवश्यक


भक्तपुर, ८ मङ्सिर । “अन्तर्राष्ट्रवादी पत्रकार अन्ना लुइस स्ट्रङको जीवन सङ्घर्ष र पत्रकारिताबाट सिकेर कामदार जनताको सेवा गर्नुपर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपा भक्तपुर नगर समितिको आयोजनामा अन्ना लुइस स्ट्र«ङको १३८ औँ जन्मदिवसको अवसरमा शुक्रबार भएको प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
सांस्कृतिक स्तर र सैद्धान्तिक ज्ञान बढाउन कार्यकर्ताहरूले अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “पार्टी प्रकाशनहरू अध्ययन गरी जनताको सेवामा आफूलाई समर्पित गर्नुपर्छ ।”
राजनीतिकरूपले सचेत र सङ्गठित गर्न नसके धर्म र संस्कृतिको नाममा जनतालाई अन्धविश्वासमा फसाउन सक्ने हुनाले भौतिकवादी दृष्टिले संस्कृतिको महत्व र अन्धविश्वासविरूद्ध जागरूक गराउनुपर्ने आवश्यकता सचिव सुवालले औँल्याउनुभयो ।
कार्यकर्ता सक्रिय भएमात्र समाजवादी क्रान्तिको आधार तयार गर्न मद्दत पुग्ने धारणा राख्दै सचिव सुवालले भन्नुभयो, “फासीवादी इजरायलद्वारा पीडित प्यालेस्टिनी जनताको पक्षमा हामीले आवाज उठाउनुपर्छ ।”
देशको अर्थतन्त्र र राजनीतिबारे चिन्तन र छलफल चलाउन आवश्यक भएको उल्लेख गर्दै सचिव सुवालले राजनीतिकरूपमा निर्देशित नभएको हुल भद्रगोल हुने बताउनुभयो ।
युद्ध भड्काई हतियारको व्यापार गर्ने साम्राज्यवादीहरूको चरित्र जनताबिच उदाङ्ग्याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले इजरायलले प्यालेस्टिनी महिला र बालबालिकाहरूको अमानवीय हत्या गरिरहेको छ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “राजनीति भनेको जनताको इमानदारीपूर्वक सेवा गर्नु हो । पीडित पक्ष र अन्यायको विरोधमा आवाज उठाउनु पर्छ ।”
समाज परिवर्तनको लागि क्रान्ति आवश्यक छ, साहित्य सृजना समाज परिवर्तनको लागि सहयोग गर्ने खालको हुनुपर्छ, उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पत्रकार अन्नाको योगदानबारे चर्चा गर्दै कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुने बताउनुभयो ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै नेमकिपाको लक्ष्य भएको स्पष्ट पार्दै उहाँले जनतालाई जातीयरूपमा भन्दा पनि वर्गीयरूपमा सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
सङ्ख्यात्मकभन्दा गुणात्मकरूपमा सङ्गठनको विस्तार गर्नुपर्ने धारणा राख्दै उहाँले योग्य र इमानदार जनतालाई सङ्गठनमा सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका अनिता जधारीले मजदुर र किसानहरूको आन्दोलनले मात्र समाजवादी क्रान्ति सफल हुने बताउनुभयो ।
समाजवाद र पुँजीवादको तुलनात्मक अध्ययन गरी जनतालाई समाजवाद र पुँजीवादको विशेषता र भेदहरूबारे जनतालाई स्पष्ट पार्नु अहिलेको आवश्यकता हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा योगेन्द्रमान बिजुक्छेँ र हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार