प्यालेस्टिनीहरूको समर्थनमा विद्यार्थीहरूको प्रदर्शन


भक्तपुर, ८ मङ्सिर । विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिको आयोजनामा प्यालेस्टाइनमाथि इजरायली फासीवादको बर्बर हमला तथा नरसंहारविरूद्ध हजारौँको सङ्ख्यामा विद्यार्थी जुलुस तथा सभा टौमढीमा सम्पन्न भयो ।
कमलविनायक र दरबार स्क्वायरबाट छुट्टाछुट्टै सुरू भएको विद्यार्थी जुलुस टौमढीमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिका अध्यक्ष प्रकाश गुरूङले यहुदीवाद जातिवाद र फासीवादको अर्को रूप भएको तर्क राख्दै इजरायलले प्यालेस्टाइनमा गरिरहेको हमला मानवताविरोधी अपराध भएको बताउनुभयो ।


नेपाल पनि भारतको हिन्दू फासीवादको खतरामा परेको चर्चा गर्दै उहाँले भन्नुभयो, “फासीवादको पक्षपोषण संरा अमेरिकी साम्राज्यवादले गरिरहेको छ ।”
संयुक्त राष्ट्र सङ्घको महासभामा इजरायली प्रधानमन्त्री नेतन्याहुले प्यालेस्टाइनी भूमि हटाएर इजरायलको नक्सा देखाउनु र भारतले अखण्ड भारतको नक्सामा नेपाललाई गाभ्नु उस्ताउस्तै भएकोले नेपाली जनताले प्यालेस्टाइनलाई समर्थन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्यालेस्टाइनी जनता अरब क्षेत्रका शिक्षित र प्रतिभाशालीहरूमध्ये पर्ने र उनीहरूको देशभक्ति भावनाबाट नेपाली जनताले सिक्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
नेक्राविसङ्घ भक्तपुर जिल्ला समिति सदस्य सुजी ह्यंगोजूले इजरायलले प्यालेस्टाइनका १८ वर्ष मुनिका बालबालिकाहरूलाई मार्नु र कैदी बनाउनु तथा विद्यालय र अस्पतालहरूमा हमला गर्नु खेदपूर्ण भएको बताउनुभयो ।
प्यालेस्टिनी बालबालिका र विद्यार्थीहरूको दुःख र पीडामा नेपाली विद्यार्थीले ऐक्यबद्धता र समर्थन गर्नु शिक्षित र सचेत विद्यार्थीको अन्तर्राष्ट्रिय दायित्व भएको र जुलुस प्रदर्शनीले विश्व समुदायमा नेपालको इज्जत राखेको औँल्याउनुभयो ।
उहाँले भारतले लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा गाभ्दा पनि विद्यार्थी हित समितिले यस्तै ¥याली निकालेको स्मरण गर्नुभयो ।
कार्यक्रममा सनम फैजू, राज प्रजापतिलगायतले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार