पुँजीपतिवर्गले बहुमत जनताको सेवा नगर्ने


भक्तपुर, १३ मङ्सिर । नेपाल मजदुर किसान पार्टी इनाचो चोर्चा एकाइ समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरु फ्रेडरिक एङ्गेल्सको २०३ औँ जन्म दिवसको अवसरमा प्रवचन कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले फ्रेडरिक एङ्गेल्सले माक्र्सवादी सिद्घान्त प्रतिपादन गर्न ठूलो भूमिका खेलेको बताउँदै फ्रेडरिक एङ्गेल्सका श्रीमतीले एङ्गेल्सको मृत्युपश्चात् पनि उनका भावना र विचारहरू प्रकाशनमा ल्याउन अहम् भूमिका खेलेको बताउनुभयो । पुँजीपतिवर्गले बहुमत जनताको सेवा नगर्ने हुँदा समाजवादी व्यवस्थाको निम्ति लड्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
पुरुषोत्तम तमखुले एङ्गेल्स एक पुँजीपतिवर्गको भए तापनि माक्र्सवादी सिद्घान्त प्रतिपादन गरी कामदारवर्गको हितमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
समितिका सदस्य कृष्णगोविन्द लाखाले सबै धनी शोषक र सबै गरिब कम्युनिस्ट हुँदैनन् भन्ने कुरा प्रस्ट पार्नुभयो । एङ्गेल्सले २८ वर्षको उमेरमा नै समाजवादको आवश्यकता महसुस गरी कामदारवर्गको मुक्तिको निम्ति सिद्घान्त प्रतिपादन गर्नुभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा समितिका सदस्य हरिरत्न गोर्खालीले एङ्गेल्सले आफ्नो अमूल्य समय र सम्पत्ति समाज र प्रकृतिको विकासमा लगानी गरेर योगदान गरेको बताउनुभयो । उहाँले वडामा भइरहेका गतिविधिहरूका साथै भनपाबाट नगरवासीले निःशुल्क रगत र अक्सिजन सुविधा पाइरहेको जानकारी दिनुभयो ।
समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले समाजको निम्ति योगदान गर्ने व्यक्तिहरूको स्मरण गर्नुपर्नेमा जोड दिँदै सङ्गठनका हरेक कार्यक्रममा नयाँ पुस्तालाई संलग्न गराउनुपर्छ भन्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार