नेपालका सञ्चार माध्यममा पनि साम्राज्यवादी छाया


चितवन, १६ मङ्सिर । नेपाल मजदुर किसान पार्टी, चितवन जिल्ला समितिले शनिबार राप्ती नगरपालिका, स्वामिटारमा प्रशिक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले साम्राज्यवादीहरूको स्वार्थको कारण पश्चिम एसियामा युद्ध चर्किरहेको भन्दै साम्राज्यवाद रहेसम्म युद्धको अन्त नहुने भनाइ राख्नुभयो । उहाँले इजरायलले प्यालेस्टिनी जनतामाथिको नरसंहारको विरोधमा नेमकिपाले काठमाडौँ, ललितपुर, भक्तपुरमा आयोजना गरेको जुलुसमा हजारौँको उपस्थिति भएको तर तथाकथित निष्पक्ष सञ्चारमाध्यमले समाचारसमेत प्रसारण गर्ने साहस नदेखाएको विचार राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालका सञ्चारमाध्यमहरूमा पनि साम्राज्यवादी छाया परेको छ ।”
केन्द्रीय सदस्य गोसाईले पार्टी चिन्नको निम्ति पार्टीको सिद्धान्त, नीति तथा कार्यक्रममात्र होइन तिनको व्यवहार पनि हेर्नुपर्ने भन्दै नेका, एमाले, माओवादी, समाजवादी नामका पार्टीहरूले पुँजीवादी सिद्धान्तअनुसार काम गरिरहेको बताउनुभयो । नेपालका शासक दलहरूले जनतालाई राजनीतिकरूपमा शिक्षित नगरेको भन्दै उहाँले जनतामा आलोचनात्मक दृष्टिकोणको विकासको निम्ति राजनीतिक कक्षाको आवश्यकता छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा, चितवन जिल्ला समितिका अध्यक्ष हरिप्रसाद दुवालले नियमित अध्ययन, छलफल तथा अन्तरक्रियाले मात्र कार्यकर्ताको स्तर उठ्ने विचार राख्नुभयो ।
नेमकिपा, चितवनका सचिव ज्ञानेन्द्र चेपाङले रूसमा भएको डिसेम्वर विद्रोहबारे प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ, चितवन जिल्ला समिति अध्यक्ष राजकुमार श्रेष्ठले पुँजीवादी बन्दोबस्तले कामदार वर्गलाई मुक्त नगर्ने प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य लक्ष्मी चेपाङले पुँजीवादी महिलाले कामदार महिलालाई शोषण गरिरहेको भनाइ राख्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य अर्जुन प्रजाले कामदारवर्गका विद्यार्थीले राजनीतिक सङ्घर्षको नेतृत्व गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ, चितवन जिल्ला समिति अध्यक्ष कृष्णबहादुर तामाङ, सन्तबहादुर पाख्रिन, मोहनबहादुर प्रजालगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार