कामदारवर्गको हित गर्ने व्यवस्था समाजवाद


ललितपुर, १७ मङ्सिर । विश्व सर्वहारावर्गका महान् गुरु फ्रेडरिक एङ्गेल्सको २०३ औँ जन्म दिवसको अवसरमा नेमकिपा महालक्ष्मी समितिको आयोजनामा शनिबार सिद्धिपुरमा माक्र्सवादमा एङ्गेल्सको योगदान विषयमा अन्तरक्रिया भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले भन्नुभयो, “शासन सत्ता सम्हालेर सम्पूर्ण कामदारवर्गको हितमा शासन गर्ने सिद्धान्तका प्रतिपादक कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स हुनुहुन्थ्यो । उहाँहरूले मानव समाजमा दुःखको कारण पुँजीपतिवर्गको शोषण भएको पत्ता लगाउनुभयो । वास्तवमै कामदारवर्गको हित गर्ने व्यवस्था समाजवाद हो ।”
नेमकिपा वाग्मती प्रदेश समिति सदस्य एन. महर्जनले भन्नुभयो, “पुँजीवादी बन्दोबस्त दोषरहित भएको भए समाजवादी बन्दोबस्तको उदय नै हुने थिएन । माक्र्सवादी राजनैतिक अर्थशास्त्रले पुँजीवादको उत्थान, विकास र पतनको सिद्धान्तको व्याख्या गरेको छ । अतिरिक्त मूल्य नै शोषणको प्रमुख आधार हो । पुँजीपतिवर्गको शोषणकै कारण सर्वहारावर्गको जन्म भएको हो र पुँजीवादको विकल्प समाजवाद हो ।”
नेमकिपा ललितपुर जिल्ला समितिका उपाध्यक्ष अशोक महर्जनले भन्नुभयो, “नेपालमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी–लेनिनवादी राख्नेले उल्टो कार्य गरिरहेको छ; संशोधनवादी नीति लिइरहेको छ । नेमकिपाले माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा अंंँगालिरहेको छ ।”
नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला सदस्य महन्त महर्जनले समाजवादी व्यवस्थामा उत्पादनका मुख्यमुख्य साधन सामाजिकीकरण हुने, व्यक्तित्व विकासमा समान अवसर पाउने, गाउँ र सहरको भेद क्रमशः अन्त्य हुने, शिक्षा र स्वास्थ्य उपचारको बन्दोबस्त गर्ने जिम्मा सरकारको हुन्छ भन्नुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष एल.पी. गौतमले भन्नुभयो, “विश्वका सचेत मजदुरहरू, संवेदनशील बुद्धिजीवी समुदाय र मानव समाजकोे विकासबारे सूक्ष्म ढङ्गले चिन्तन गर्ने लेखक, कवि र कलाकारहरूले माक्र्स र एङ्गेल्सलाई सदा सम्झिरहन्छन् ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले भन्नुभयो, “मानिसको जीवनमा संसारलाई परिवर्तन गर्ने बाटो देखाउनु एक महान् काम हो । डार्विनले जीव–विज्ञानको क्षेत्रमा विकासको नियम पत्ता लगाउनुभयो । त्यसले जीव जगतमा मात्र होइन, समाजशास्त्र र राजनैतिक क्षेत्रमा समेत प्रभाव पार्यो ।”
नेपाल प्राध्यापक सङ्घका केन्द्रीय सदस्य कान्छा दुवालले भन्नुभयो, “माक्र्स एक यहुदी जातिका मानिस हुन् । उहाँले संसारका सम्पूर्ण मानव जातिको कल्याणको लागि कामदारवर्गको राज्य सत्ता समाजवाद ल्याउनुपर्ने आवश्यकता देख्नुभयो ।”
नेमकिपा महालक्ष्मीका सदस्य आशाराम महर्जनले काठमाडौँ उपत्यकाको कला संस्कृति संरक्षण गर्न उपत्यकामा बसाइँसराइ रोकी देशमा सन्तुलित विकास गर्नु आवश्यक छ भन्नुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रम एम. महर्जनको सभापतित्वमा भएको थियो । कार्यक्रममा रुपना महर्जन, कृष्णराज महर्जन, बिकी महर्जन,अनिश महर्जन, सुजिना महर्जन, भरत र इन्द्रराज महर्जनलगायतले समाजवादी व्यवस्थामा कामदार जनताको सेवा हुने बताउनुभयो ।

पार्टी गतिविधिहरु
समाचार