इजरायली आक्रमणको निन्दा गर्दै साँखुमा विरोध प्रदर्शन तथा सभा


काठमाडौँ (साँखु), १९ मङ्सिर । प्यालेस्टिनको गाजा क्षेत्रमा इजरायलले पुनः सञ्चालन गरेको नरसंहारविरुद्ध नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा विरोध प्रदर्शन तथा सभा मङ्गलबार सम्पन्न भएको छ ।

इजरायली आक्रमणको निन्दा गर्दै साँखुमा विरोध प्रदर्शन तथा सभा
विरोधसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्यालेस्टिनी युद्ध समकालीन इतिहासकै सबैभन्दा आततायी र बर्बर युद्ध भएको बताउनुभयो । इजरायली सेनाले बालबालिकालाई मात्र होइन, शिशुहरूको समेत हत्या गरेको चर्चा गर्दै उहाँले इजरायली आक्रमणको भत्र्सना गर्नुभयो । उहाँले नाजीवादी हिटलरको अन्त्य भएजस्तै यहुदीवादी नेतन्याहुको पनि एक दिन अन्त्य हुने र विश्वको न्यायप्रेमी जनताको विजय हुने औँल्याउनुभयो ।
इजरायलले १८ लाख प्यालेस्टिनी जनतालाई बेघरबार बनाएको उल्लेख गर्दै प्रदेशसभा सदस्य गोसाईले भन्नुभयो, “शान्तिका वास्तविक पक्षधरहरूसँग साम्राज्यवादको विरोध गर्नुबाहेक अर्को विकल्प छैन ।” प्यालेस्टिनी र नेपाली जनताको पीडा एउटै भएको चर्चा गर्दै उहाँले बाइडेन–नेतन्याहु–मोदीको साम्राज्यवादी र फासीवादी गठबन्धनले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने परिदृश्यबिच नेपालका शासक दलका नेताहरू भने एमसीसी तथा एसपीपी सम्झौतामार्फत देशमा साम्राज्यवादलाई स्वागत गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले अमेरिकी राष्ट्रपति जो बाइडेनकै साथ, सहयोग र उक्साइमा इजरायलले प्यालेस्टिनी जनताको नरसंहार गरिरहेको हुनाले इजरायलभन्दा ठूलो आतङ्ककारी अमेरिकी साम्राज्यवाद हो भन्नुभयो । गाजाका ५५ अस्पतालमध्ये २२ ध्वस्त भएको, ४५ हजार घर भत्किएको र ६ लाख २५ हजारभन्दा बढी विद्यार्थी पढाइबाट वञ्चित भएको कहालीलाग्दो स्थितिमा नेपालका शासक दलका नेताहरू भने साम्राज्यवादलाई नै पोस्न उद्यत रहेको उहाँको भनाइ थियो । इजरायलमा मारिएका नेपाली युवाको दोष स्वदेशमै रोजगारी दिन नसक्ने शासक दलहरूलाई जाने विचार राख्दै उहाँले भन्नुभयो, “युवालाई स्वदेशमा रोजगारी दिन नसक्ने दलले सरकारबाट तत्काल राजीनामा दिनुपर्छ ।” देशको खस्किँदो आर्थिक अवस्थालाई पुँजीवादी व्यवस्थाले ठाउँमा ल्याउन नसक्ने बताउँदै उहाँले समाजवादी क्रान्तिको तयारी गर्नु नै नेपाली जनताको कार्यभार भएको औँल्याउनुभयो । उहाँले प्यालेस्टिनी जनतालाई न्याय दिलाउनको लागि सङ्घर्ष नगर्ने राजनीतिक दल कम्युनिस्ट हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठले २०४६ सालमा नेवारी भाषाका जनकवि दुर्गालाल श्रेष्ठले भक्तपुरका जनता जागेर जनआन्दोलनलाई हाँकिरहेको बेला आफूलाई देशको मुटु भन्ने काठमाडौँ कुम्भकर्णको निद्रा सुतिरहेको कवितांशको स्मरण गर्नुभयो । प्यालेस्टिनी जनताको पीडाले सडकमा आएको नेपाल मजदुर किसान पार्टीले ०४६ सालको त्यो गरिमा अझै बोकिरहेको उहाँको भनाइ थियो । उहाँले साँखु आलुको लागि प्रख्यात भए पनि आलुमा भ्याट लगाउनाले किसानले आलुसमेत बिक्री गर्न नपाएको गुनासो पोख्नुभयो । एक समय तराईका किसानहरू उखुको रकम नपाउँदा प्रताडित भएजस्तै आज देशभरका किसान सरकारको किसानविरोधी नीतिबाट प्रताडित भइरहेको उहाँले औँल्याउनुभयो । उत्पादनमा जोड नदिँदा देश वृद्धाश्रममा परिणत हुने चिन्ता पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घकी सुजी ह्यङ्गोजुले पनि बोल्नुभएको विरोधसभामा झिगु ख्वप दे पुचः को तर्फबाट प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धतास्वरूप गीत प्रस्तुत गरिएको थियो । शिक्षिका मीरा महर्जनले एक अनुदित कविता वाचन गर्नुभएको थियो । भौ ध्वाका (पुरानो बसपार्क) बाट सुरु भएको ¥याली धुलाँ टोल, साल्खा, महादेवस्थान, सालीनदी रोड, धलंको, चलाखु हुँदै साल्खा टोलमा गएर सभामा परिणत भएको थियो । विरोध जुलुसमा ‘प्यालेस्टिनी जनतालाई बाँच्न दे !’, ‘युद्धविरोधी जनता एक हौँ !’, ‘स्थायी युद्धविराम सम्झौता गर !’, ‘जातीय सफाया बन्द गर !’ जस्ता नारा लगाइएको थियो ।

पार्टी गतिविधिहरु
समाचार