अस्पताल र विद्यालयमा आक्रमण गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत


भक्तपुर, २४ मङ्सिर । नेपाल क्रान्तिकारी किसान सङ्घ सूर्यविनायक ७ नं. वडा एकाइ समितिको आयोजनामा प्यालेस्टिन र इजरायलबिचको लडाइँसम्बन्धी प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले मान्छे र पशुबिच भेद भएकोले मानिसले अरुलाई मर्का पर्दा सहयोग गर्नुपर्छ भन्नुभयो । कम्युनिस्ट पार्टी भएर विश्वका काम गरी खाने जनतालाई समस्या पर्दा नबोल्ने र सहयोग नगर्ने पार्टी कम्युनिस्ट पार्टी हुनै सक्दैन भन्दै उहाँले प्यालेस्टिनमा विशेषगरी महिला र बालबच्चालाई ताकी ताकी आक्रमण गर्नु न्यायोचित छैन, देशबिचको लडाइँ सेना–सेनाको बिचमा हुन्छ, जनतासँग होइन, लडाइँ हुँदा अस्पताल, विद्यालयजस्ता सार्वजनिक संस्थामा आक्रमण गर्नु हुन्न, यो अन्तर्राष्ट्रिय मान्यता हो भन्नुभयो ।

अस्पताल र विद्यालयमा आक्रमण गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत
“युक्रेन देशमा धेरै उत्पादन हुन्छ, शिक्षा र स्वास्थ्य राम्रो छ र तेलको भण्डार ठुलो छ । त्यस्तो देशमा जेलेन्स्की भन्ने व्यक्तिलाई राष्ट्रपतिमा जिताएर युक्रेनको तेल भण्डार कब्जामा लिनको लागि अमेरिकाले युक्रेनमार्फत रुसमाथि आक्रमण गराएको हो,” उहाँले भन्नुभयो ।
एमसीसीमार्फत अमेरिका र नागरिकता विधेयकमार्फत भारतले नेपालमाथि आक्रमण गर्न सक्ने खतरा बढ्दै गएकोले नेपाली जनता सचेत हुनु आवश्यक भएको बताउँदै उहाँले जनता सचेत नभएमा नेपाली जनताले पनि कालान्तरमा प्यालेस्टिनको जस्तो दुःख भोग्नुपर्ने अवस्था आउनेछ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्टिनमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताउनुभयो ।
कार्यक्रमका सभापति काजीबहादुर पञ्चले इजरायलले प्यालेस्टिनीमाथि आक्रमण गरी प्यालेस्टिनको धेरै जनधनको क्षति पु¥याएको छ; खानलाउन धौ धौ पारेको छ; मानिसलाई बिचल्ली बनाएको छ; त्यसकारण, न्यायप्रेमी मानिसले प्यालेस्टिनमाथि गरेको हमलाको विरुद्धमा आवाज उठाउनुपर्छ भन्नुभयो ।
पुँजीवादी व्यवस्थामा मजदुर र किसानमाथि अन्याय र शोषण हुन्छ । कम्युनिस्ट व्यवस्थामा योग्यताअनुसारको काम र कामअनुसारको ज्याला वा तलबको बन्दोबस्त हुन्छ । शिक्षा, स्वास्थ्य निःशुल्क हुन्छ । वृद्धवृद्धाहरूको लागि आदर निकेतन र बालबालिकाको लागि बालोद्यानको व्यवस्था पनि सरकारले गर्छ, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका प्रतिनिधि दिनेश खड्गी, नेपाल क्रान्तिकारी किसान सङ्घ, सूर्यविनायक नगर समितिका अध्यक्ष राजेन्द्र बखुन्छेँ र न्हुछेभक्त पञ्चले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार