संरा अमेरिका युद्धमा हतियार बिक्री गर्ने देश


भक्तपुर, २६ मङ्सिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा मङ्गलबार युवा, विद्यार्थी, महिलालगायतका कार्यकर्ताको एक प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्यालेस्टिनमा भइरहेको नरसंहारबारे प्रस्ट पार्दै भन्नुभयो, “प्यालेस्टिनमा फाँसीवादी इजरायलले बम वर्षा गरी १८ हजारभन्दा बढी प्यालेस्टिनी शिशु, बालबालिका, महिला र बुढाबुढीको हत्या गरिसकेको छ । पचासाँै हजार प्यालेस्टिनी जनता अपाङ्ग वा घाइते भएका छन् । खानेपानीको हाहाकार छ । खाद्यान्न, बिजुली, इन्धन सबै इजरायलले बन्द गरिदिएको छ । यो काम संरा अमेरिकाले गराएको हो । संरा अमेरिका युद्धमा हतियार बिक्री गर्ने देश हो । यसबारे नेपाली जनतालाई शिक्षित गर्नु जरुरी छ ।”
उहाँले भन्नुभयो, “इजरायली प्रधानमन्त्री नेतन्याहुले प्यालेस्टिनी मूलका जनता समुल नष्ट गर्ने अभियानमा लागिरहेको देखिन्छ । भोलि हाम्रो देशमा पनि अमेरिकी निर्देशनमा आक्रमण हुनसक्छ । तसर्थ, हामीले अहिलेदेखि नेपाली जनतालाई साम्राज्यवादी र त्यसका पिछलग्गू सरकारबाट सचेत गर्न र प्यालेस्टिनी जनताको पक्षमा आन्दोलन गर्न आवश्यक छ ।”
“इजरायलले विद्यालय, कलेज, अस्पताल र शरणार्थी शिविरहरूमा आक्रमण गरिरहेको छ । गाजामा भएको ३४ वटा अस्पतालमध्ये २० वटा ध्वस्त भइसकेकोे छ । यस्तो अत्याचार हुँदा पनि नेपाल सरकार र नेपालका पत्रपत्रिका केही लेख्दैनन् । इजरायल पुगेका नेपाली पत्रकारहरू इजरायलले गरेको अन्याय, अत्याचार र नरसंहारबारे केही खबर दिँदैनन् । संरा अमेरिकी सरकारले इजरायललाई अरबौँ डलरको हतियार सहयोग गरेको छ ।” सचिव सुवालले भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भन्नुभयो, “संरा अमेरिकाले कुत्सित मनसाय बोकेर विश्वमा मानव अधिकारको नाममा इजरायलद्वारा प्यालेस्टिनमा आक्रमण गराइराखेको छ । संसारमा जति पनि हत्या हिंसा हुन्छ त्यहाँ अमेरिकी सरकारकै हात हुन्छ । त्यो भियतनाम युद्ध होस्, लिवियाको युद्ध होस् वा इराकको युद्ध ।”
उहाँले भन्नुभयो, “अमेरिकाले इजरायललाई हतियार दिएर प्यालेस्टिनी जनताको नरसंहार गर्न लगाएको हो । यो युद्धमा २९१ जना स्वास्थ्यकर्मीको हत्या भइसकेको छ । २३ लाख मानिस बसोबास रहेको गाजापट्टीमा १९ लाख जनतालाई घरवारविहीन बनाई संरा अमेरिका र फासीवादी इजरायलले युद्ध अपराध गरेका छन् ।”
सांसद गोसाईले भन्नुभयो, “प्यालेस्टिनी जनतामाथि भएको जातीय सफायाविरुद्ध नेपालका कुनै शासक दल र नेपाल सरकारले बोलेनन् । नेपाल सरकार पनि अमेरिकी साम्राज्यवादको कठपुतली साबित भएको छ । शान्तिकामी नेपाली जनताको तर्फबाट नेपाल मजदुर किसान पार्टीले अन्याय र अत्याचारविरुद्ध बोल्दै छ र आन्दोलन गर्दै छ ।”
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष एनबीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुरुषोतम तमखुले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार