इजरायली आक्रमणविरुद्ध कीर्तिपुरमा विरोध प्रदर्शन र सभा


काठमाडौँ, २९ मङ्सिर । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा प्यालेस्टिनी जनताको जीवन रक्षाको समर्थन र युद्धको विरोधमा कीर्तिपुरमा शुक्रबार जुलुस तथा सभा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले इजरायली प्रम नेतन्याहुले संयुक्त राष्ट्र सङ्घको महासभामा प्यालेस्टिन नरहने गरी मध्य पूर्वको नक्सा सार्वजनिक गरेकै कारण प्यालेस्टिनी जनता र हमासले प्रतिरक्षा गरेको बताउनुभयो ।
उहाँले युद्धरत इजरायलमा सिक र कमाउको नीतिअनुसार गएका १० जना नेपालीको मृत्यु र विपिन जोशी बेपत्ता हुनुमा नेपाल सरकारकै मुख्य दोष रहेको र सरकारमा बस्न योग्य नभएको प्रस्ट्याउनुभयो ।
नेपाल मज्दुर किसान पार्टीबाहेक अन्य नेपालका ठुला भनाउँदा पार्टीहरू प्यालेस्टिनमाथि भइरहेको नरसंहारविरुद्ध अमेरिकी दलाल भएकै कारण मौन रहेको बताउनुभयो । हाम्रो सङ्घर्ष र दबाबको कारणले अमेरिका र इजरायल पछि हट्नेछ र प्यालेस्टिनमा युद्धविराम हुने उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले प्यालेस्टिनमा हजारौँ बालबालिका, महिला, स्वास्थ्यकर्मी, पत्रकारहरूको ज्यान जाँदा पनि मन नदुख्ने सबै युद्ध समर्थक रहेको बताउनुभयो । विश्वभरिका विद्यार्थीहरूले प्यालेस्टिनी जनताको समर्थन र इजरायली फासीवादको विरुद्धमा निरन्तर आवाज उठाउँदै आएको र उठाउँदै जाने उहाँले बताउनुभयो ।
उहाँले संसारभरिका लगानीकर्ताले इजरायली र अमेरिकी सामानहरूबाट आफ्नो लगानी फिर्ता लिएर उनीहरूको आतङ्कलाई संसारबाट समाप्त पार्नुपर्नेमा जोड दिनुभयो । युद्ध विरामको लागि नबोल्ने नेपालका सांसदहरूलाई नेपाली जनताले युद्धका समर्थकको रूपमा लिने बताउनुभयो ।इजरायली आक्रमणविरुद्ध कीर्तिपुरमा विरोध प्रदर्शन र सभा
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सदस्य सुजि ह्यङ्गोजुले इजरायलले संरा अमेरिकाको आडमा बच्चा र आमाहरूको रगत खाँदै राक्षसीपना देखाइरहेको स्पस्ट पार्नुभयो ।
कीर्तिपुर गेटबात सुरु भएको विरोध जुलुस पाँगा बसपार्कमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका राजेश महर्जन, नेपाल क्रान्तिकारी महिला सङ्घका बिन्दिरा महर्जनले पनि बोल्नुभएको थियो ।
सो विराध सभामा नेक्राविसङ्घका विद्यार्थीहरूले प्यालेस्टिनी जनताको समर्थनमा प्यालेस्टिन जिन्दावाद ! शीर्षकको गीत प्रस्तुत गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार