इजरायलले प्यालेस्टिनमाथि गरिरहेको नरसंहारको विरोधमा चाँगुमा विरोध जुलुस र सभा


भक्तपुर, ३० मङ्सिर । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा प्योलिस्टनी जनताको जीवन रक्षाको समर्थन र इजरालयले प्यालेस्टिनमाथि गरिरहेको युद्धको विरोधमा शनिबार चाँगुनारायण नगरपालिकामा जुलुस र विरोध सभा भयो ।

इजरायलले प्यालेस्टिनमाथि गरिरहेको नरसंहारको विरोधमा चाँगुमा विरोध जुलुस र सभा
सभामा नेमकिपाका सचिव एवं सांसद सुवालले भन्नुभयो, “नगरकोट सडक निर्माण विलम्ब हुँदा तेलकोटदेखि खरिपाटीसम्म जुलुस गरी सरकारको ध्यानाकर्षण गराएको हाम्रो पार्टीले आज इजरायली फासीवाद र अमेरिकी साम्राज्यवादबाट प्यालेस्टिनी भूमि कब्जा र बमबारीको विरोधमा जुलुस र सभा गर्दै छ । सरकारमा गएका दलहरूको ध्यान भागबन्डामा केन्द्रित छ । नगरकोटको सडक बिग्रिएजस्तै सरकार पनि बिग्रिएको छ ।”
एमसीसी र एसपीपीको कारण नेपालमा पनि साम्राज्यवादीहरूको आक्रमण हुने खतरा रहेको तर्फ सचेत रहन आग्रह गर्दै उहाँले संसारमा भइरहेको अन्यायको आज हामीले विरोध नगरेमा भोलि नेपाली जनतालाई अप्ठेरो पर्दा कोही कसैले बोलिदिने छैनन् भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “अमेरिकी र इजरायली बमबारीले प्यालेस्टिनीहरू १८ हजार ६०० भन्दा बढीको मृत्यु र ५० हजार ६०० भन्दा बढी घाइते भए । बमबारीबाट गाजापट्टीका प्यालेस्टिनीहरूको ७० प्रतिशत घर ध्वस्त भएको छ ।”
बेलायती प्रधानमन्त्रीसँग त्यहाँका एक सांसदले ‘प्यालेस्टिन युद्धविरामसम्बन्धी संरा सङ्घमा पेस भएको प्रस्तावको पक्षमा बेलायतको मत नगएको लज्जाको विषय होइन र ? संरा सङ्घको महासभामा १९३ देशमध्ये १५३ देशले सो प्रस्तावको पक्षमा मत दिएको गलत हो र ?” जस्ता प्रश्न सोधी प्यालेस्टिनी जनताको पक्षमा ऐक्यबद्धता जनाएको सांसद सुवालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी र इजरायली सरकारले गाजापट्टीका अस्पताल, स्कूल, विद्यालय, शरणार्थी शिविर, चर्च, मस्जिदमा बमबारी गरे, खानेपानी, औषधि, खाद्यान्न, बिजुली बन्द गरी प्यालेस्टिनीहरूको नरसंहार गर्दै छन् । इजरायलले प्यालेस्टिनविरूद्ध युद्ध होइन कब्जा गरेको हो । युद्धमा सर्वसाधारणको हत्या गरिँदै छ । इजरायली यहुदीहरूले प्यालेस्टिनी सभ्यताविरुद्ध धर्म युद्ध गरिरहेका छन् । बेलायतले भारतमा उपनिवेश गर्दा दिल्लीका सबै सम्पदा नष्ट गरेको थियो । अहिले प्यालेस्टिनमा त्यही भइरहेको छ । प्यालेस्टिनको प्राकृतिक स्रोत ग्यास र तेलको भण्डारण इजरायल, अमेरिका र बेलायतले कब्जा गर्दै छन् । गाजावासीलाई उत्तरबाट दक्षिणतर्फ सुरक्षित छ, जानु भनी पठाउने र दक्षिणतर्फ नै बमबारी गर्ने इजरायली फासीवादको यो जातीय नरसंहार नै हो ।”
प्यालेस्टिनमा जातीय नरसंहार रोक्नू, पश्चिम एसिया हाम्रो क्षेत्र हो, नरसंहार तत्काल नरोकिए परिणाम भयावह हुनेछ’ भनी इरानले अमेरिकी सरकारलाई चेतावनी दिएको सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, संसारका न्यायप्रेमी जनताले बाइडेन र नेतन्याहुसँग प्रश्न गर्दै छन् – हमासलाई समाप्त पार्ने निहुँमा निर्दोष प्यालेस्टिनी जनताको नरसंहार आतङ्कवादविरूद्धको लडाइँ कसरी हुन्छ ? हो, हामी आतङ्कवादविरोधी हौँ । प्यालेस्टिनी जनताको बस्ती ध्वस्त पार्दै बालबच्चाको हत्या गर्ने अमेरिकी र इजरायली सरकार नै आतङ्कवादी किन होइन ?”
नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटाले प्यालेस्टिन र इजरायलबिचको युद्धको इतिहासबारे जानकारी दिँदै भन्नुभयो, “अमेरिका र इजरायलले मध्यपूर्वको तेलखानी कब्जा गर्ने उद्देश्यले यो युद्ध भइरहेको छ ।”
उहाँले भन्नुभयो, “प्यालेस्टिनी जनता आफ्नो भूमि फिर्ता लिन ७५ वर्षदेखि लड्दै छन् ।”
कार्यक्रममा सङ्गीता नेपाली र कुमार थिङले पनि बोल्नुभएको थियो । कार्यक्रममा सपना शाहीले गीत प्रस्तुत गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार