रचनात्मक तथा सांस्कृतिक गतिविधिमा भाग लिनुपर्छ


भक्तपुर, ३० मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा आस्था सांस्कृतिक परिवारको आयोजनामा २०८० सालको गाईजात्रा र तःमुंज्यामा आस्था सांस्कृतिकको तर्फबाट गाइचा, फाकंदली, ख्याल र नृत्यमा सहभागी कलाकार र सहयोगीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाईले विद्यार्थी जीवनमा अनिवार्यरूपमा रचनात्मक तथा सांस्कृतिक गतिविधिमा भाग लिनुपर्छ भन्नुभयो ।

रचनात्मक तथा सांस्कृतिक गतिविधिमा भाग लिनुपर्छ
विद्यार्थीहरूले यस्ता गतिविधिमा भाग नलिए विद्यार्थीकालको अमूल्य समय खेर जाने भएकोले विद्यार्थी जीवन सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
घर, परिवार र विद्यालयका शिक्षकमात्रले सबै कुरा सिकाउन नसक्ने चर्चा गर्दै उहाँले सङ्गठनमा लागेमा व्यक्तित्व विकासमा सघाउ पुग्ने बताउनुभयो ।
विद्यार्थीहरू विभिन्न विधामा दक्षता हासिल गर्ने लक्ष्य लिएर राजनीतिक र सांस्कृतिक गतिविधिहरूमा सहभागी भई देश र जनताको सेवामा समर्पित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष बिलम सुवालले सुस्ताविरोधी आन्दोलनको जगमा नेक्राविसङ्घको स्थापना भएको उल्लेख गर्दै आस्था सांस्कृतिक परिवारका कलाकारहरूले प्यालेस्टिनी जनताको समर्थन र इजरायली फासिवाद तथा अमेरिकी साम्राज्यवादको विरोधमा नाटक र गीतमार्फत जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा अनिश ह्योङ्गोजू, सनम फैजु र प्रजिना प्रजापतिले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार