शोषणमा आधारित पुँजीवादी सत्ताबाट वर्गीय मुक्ति असम्भव


दैलेख, २ पुस । नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनी वडा नं १ को तेस्रो वडा सम्मेलन शनिबार तिजडाँडा सम्पन्न भयो ।
उक्त सम्मेलनमा नेमकिपा दैलेखका अध्यक्ष जगत वलीले स्वतन्त्र प्यालेस्टिनको पक्षमा आवाज उठाउनुपर्ने आवश्यकता रहेको चर्चा गर्नुभयो । शोषणमा आधारित पुँजीवादी सत्ताबाट वर्गीय मुक्ति सम्भव नहुने उल्लेख गर्दै उहाँले सङ्घर्षले मात्र समाजवाद स्थापना हुन्छ भन्नुभयो ।

शोषणमा आधारित पुँजीवादी सत्ताबाट वर्गीय मुक्ति असम्भव
उहाँले भन्नुभयो, “नेपालका लगभग ८० लाख युवाहरू विदेसिन बाध्य भए । तिनीहरूलाई स्वदेशमै रोजगारीको सुनिश्चित गर्नुपर्छ ।” समाजवादी व्यवस्था तल्लोवर्गका जनताको व्यवस्था हुने उल्लेख गर्दै उहाँले समाजवादमा योग्यताअनुसारको काम, कामअनुसारको ज्याला, व्यक्तित्व विकासमा समान अवसर, कलकारखाना तथा उद्योगहरू राष्ट्रियकरण हुने र शिक्षा स्वास्थ्य निःशुल्क हुन्छ भन्नुभयो ।
नेमकिपा दैलेखका सल्लाहकार तथा नेक्राविसङ्घका केन्द्रीय सदस्य निरक शाहीले सम्मेलनको शुभकामना दिँदै जहाँ असमानता हुन्छ त्यहाँ विद्रोह हुन्छ भन्नुभयो । प्यालेस्टिनमाथिको बर्बर हमला र युक्रेन युद्धमा साम्राज्यवादी देश अमेरिकाको प्रत्यक्ष हात रहेको उल्लेख गर्दै उहाँले विश्वका न्यायप्रेमी जनताले यसको विरोध गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा दैलेखका सदस्य केसेन्द्र कार्कीले नेमकिपा सधैँ जनताको साथमा रहने चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी तेस्रो वडा सम्मेलन तयारी समितिका संयोजक मनबहादुर विकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेमकिपा जिल्ला सदस्य तथा वडा न. ३ का निर्वाचित वडा अध्यक्ष दीपक शाहीले चामुण्डा विन्द्रासैनी नगरपालिकाले शिक्षालाई ध्वस्त पार्दै हरेक काममा आफ्नो एकाधिकार कायम गरिरहेको चर्चा गर्नुभयो । नेक्राशिसङ्घका हर्क विकले १२४ जना शिक्षकको राजीरोटी खोस्नु दुःखद भएको उल्लेख गर्दै यसले शिक्षा क्षेत्रमा नकारात्मक असर पार्दै जाने बताउनुभयो । कार्यपालिका सदस्य मन विकले चाविपाको ज्यादतीको बारेमा चर्चा गर्नुभएको थियो । वडा नं १ का वडाध्यक्ष उदय कामी, नेक्राशिसङ्घका दीपक शाहीले पनि शुभकामना दिनुभएको थियो । सम्मेलन तयारी समितिका सदस्य गोरक केसीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा खगेन्द्र कँडेलले पनि बोल्नुभएको थियो ।
सम्पन्न बन्द सत्रले गोरक केसीको अध्यक्षतामा २१ सदस्यीय वडा नं १ को वडा समिति गठन गरेको छ ।

पार्टी गतिविधिहरु
समाचार