“जबसम्म जनता सचेत हुँदैनन् तबसम्म देश जोगाउन कठिन हुन्छ”


काठमाडौँ, ७ पुस । नेपाल मजदुर किसान पार्टी कोसी प्रदेश समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादको विरोध नगर्ने कम्युनिस्ट हुननसक्ने बताउनुभयो ।

“जबसम्म जनता सचेत हुँदैनन् तबसम्म देश जोगाउन कठिन हुन्छ”
नेपालको शासक दलका नेताहरूको बरोबर दिल्ली दौडाइले देश जोगाउन नसक्ने र जबसम्म जनता सचेत हुँदैनन् तबसम्म देश जोगाउन कठिन हुने विचार व्यक्त गर्दै उहाँले राजनैतिक चेतनाको अभाव र निर्वाचनमा पैसाको लोभमा मत दिएर पार्टीलाई जिताउन नहुने विचार व्यक्त गर्नुभयो ।
बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भारतीय सेना पठाउनु बङ्गलादेशको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप भएको बताउँदै उहाँले नेपालको राजनीतिक मामिलामा पनि भारतीय विस्तारवादको निरन्तर हस्तक्षेप भइरहेको तर्फ सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले काठमाडौँ उपत्यकामा भएका सबैखाले सहुलियत देशका सबै क्षेत्रमा हुनुपर्ने र त्यसो भएमा ती क्षेत्रका मानिसहरू पनि आत्मनिर्भर हुने बताउनुभयो ।
सरकारले अहिले गरिरहेको काम देशको हितमा नभएको तर्फ सङ्केत गर्दै उहाँले सरकारले अहिले गरिरहेको काम आफैँले गरिरहेको हो या अरू कसैले योजनाबद्ध तरिकाले गराइरहेको हो, त्यसतर्फ सबै जनता सचेत हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र प्रवेश गरेर निर्वाचनलाई वर्गीय र राजनैतिक सङ्घर्षको रूपमा उपयोग गर्ने लेनिवादी सिद्धान्तअनुसार त्यहाँभित्र भएका सकारात्मक पक्षको वकालत र नकारात्मक पक्षको विरोध गर्ने नीतिका साथ नेपाल मजदुर किसान पार्टी अघि बढेको भएको बताउनुभयो ।
पार्टी स्थापनाको आधार मजदुर किसानको हितमा काम नगर्ने नीतिको विमति पनि रहेको उल्लेख गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीको विचार र सिद्धान्त नै मजदुर र किसानको हितमा राजनीति गर्नु हो भन्नुभयो ।
उहाँले सबै पुँजीपतिवर्ग विदेशी दलाल नहुने चर्चा गर्दै समाजमा भएका हरेक प्रकारका नकारात्मक कुरा र विचारलाई सच्याएर जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देश विदेशीहरूको इसारामा चलिरहेकोतर्फ चिन्ता व्यक्त गर्दै उहाँले सरकारले गर्ने हरेक प्रकारका गलत कामको निरन्तर विरोध र आलोचना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले सङ्गठित शक्तिले अरू शक्तिलाई हराउन सक्ने हुँदा जनताको चेतनास्तर बढाउनुपर्ने पनि बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कोसी प्रदेशका संयोजक उकेश कवांले अहिलेसम्म सरकारमा गएका राजनीतिक दलले सिद्धान्त त्यागेर पद, पैसा र कुर्सीको लागि मात्र राजनीति गरिरहेको बताउनुभयो ।
कोसी प्रदेश संयोजक उकेश कवांको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिनेश खड्गीले इजरायलले प्यालेस्टाइनमा गरेको अमानवीय हमला र रामेश्वर मचामसीले पार्टीको इतिहास, स्थापनाको आधारको विषयमा बताउनुभएको थियो । कार्यक्रममा नेक्रायुसङ्घका महेन्द्र बखुन्छेले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार