राष्ट्रियसभा सदस्यमा नेमकिपाको उम्मेदवारी दर्ता


काठमाडौँ, २३ पुस । नेपाल मजदुर किसान पार्टीलगायत विभिन्न राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सोमबार उम्मेदवारी दर्ता गरे ।
नेमकिपाको तर्फबाट बाग्मती प्रदेशसबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यहरूमा श्रीकृष्ण महर्जन, सङ्गीता नेपाली, कृष्णलक्ष्मी दुवाल र हिमालयश्वरलाल मूलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रियसभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्यका लागि माघ ११ गते मतदान हुनेछ । यसअघि आयोगले मङ्गलबार उम्मेदवारको विरोधमा उजुरी दिने, बुधबार र बिहीबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा शुक्रबार उम्मेदवारले नाम फिर्ता र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने सूचना जारी गरेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली प्रकाशित गरेको थियो ।
प्रकाशित नामावलीअनुसार सातवटै प्रदेशमा प्रदेशसभा सदस्यतर्फ कुल ५४९ र स्थानीयतर्फ एक हजार ४९८ जना मतदाता छन् ।
राष्ट्रियसभाका २० सदस्यको फागुन २० मा कार्यकाल सकिँदै छ । त्यसमध्ये एकजना राष्ट्रपतिबाट मनोनीत सदस्यको पनि कार्यकाल सकिन लागेको छ ।

पार्टी गतिविधिहरु
समाचार