शासक दलहरूको अदूरदर्शिताको कारण देश झन् सङ्कटमा


सिन्धुली, २५ पुस । विश्व सर्वहारावर्गका महान् गुरुहरू स्तालिनको १४५ औँ र अध्यक्ष माओको १३० औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी सिन्धुली जिल्ला समितिको आयोजनामा मङ्गलबार कार्यकर्ताहरूको एक भेला भयो ।
उक्त भेलामा पार्टी सचिव प्रेम सुवालले देश बेच्ने र जनतालाई शोषण गर्ने भ्रष्ट नेता, मन्त्री र कर्मचारीहरूलाई उदाङ्ग्याएर नफालेसम्म नेपालको विकास हुँदैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “हरेक बौद्धिक व्यक्तित्व राजनैतिकरूपमा सचेत नभएमा देशको सार्वभौमिकता रक्षा गर्न सकिँदैन । देशका ठुला दलका नेताहरूको अदूरदर्शिताको कारण देश झन्झन् सङ्कटमा फस्दै गइरहेको छ । नेपालका नदीनालाहरू सबै भारतलाई सुम्पिने काम भइरहेको छ । भारतीय दूतावासले २० करोड रूपैयाँ नेपाल सरकारको कुनै स्वीकृति नलिई खर्च गर्न पाउने सम्झौता गरी नेपाललाई भारतीय उपनिवेश बनाउने काम सरकारले गरेको छ । यो निन्दनीय कार्य हो ।”
सरकारले समाजवादी देशहरूको सहयोगमा बनेको छालाजुत्ता कारखाना, कागज कारखाना, कपडा उद्योग, सिमेन्ट उद्योग, इँटा टायल कारखाना, चुरोट कारखाना, कृषिऔजार कारखानालगायत ३० भन्दा बढी कारखानाहरू सरकारले निजीकरण गर्यो । ती उद्योगहरू कौडीको मूल्यमा बिक्री गरेर नेपाली मजदुरलाई विस्थापित गर्ने कार्य भयो । नेपाली युवाहरूलाई विदेश जान बाध्य पारियो । यसले देश झन्झन् परनिर्भरतातर्फ तानियो ।,” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “ती पुँजीवादी पार्टीहरू देशभक्त नभएकै कारण देश परनिर्भरतातर्फ धकेलिएको हो । देशलाई आज तरकारी, चामल, फलफुललगायतका सम्पूर्ण वस्तु भारतबाट आयात गर्नुपर्ने स्थितिमा पु¥याइयो ।”
नेमकिपा सिन्धुलीका अध्यक्ष कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त भेलामा एनबी दुवाल, रामेश्वरी कोजु, नवीनकुमार ग्वाछा, राजाराम बासीले दलाल पुँजीपतिवर्गले देशको हितमा भन्दा एकाधिकार पुँजीको हितमा कार्य गर्ने भएको हुँदा सचेत युवाहरूले राजनीतिमा चासो राखी देश परिवर्तनको लागि लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।
भेलाले कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नेपाल मजदुर किसान पार्टी सिन्धुली जिल्ला समिति पुनःगठन ग¥यो ।

पार्टी गतिविधिहरु
समाचार