नेमकिपाको ३५ औँ केन्द्रीय परिषद् सुरु क्रान्तिको निम्ति कार्यकर्ताहरूले जनताको बिचमा काम गर्नु जरुरी


भक्तपुर, २७ पुस । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको पाँचौँ (३५ औँ) केन्द्रीय परिषद् शुक्रबार भक्तपुरमा सुरु भयो ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले परिषद्मा पार्टी केन्द्रीय समितिको प्रतिवेदनमा उल्लेख राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जिल्ला जिल्लामा कक्षा सञ्चालन गर्ने र नयाँ पुस्तालाई इतिहाससँगै नक्सासहित भूगोल पनि बताउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हामीले पूरा गर्न नसकेको देश र जनताको काम नयाँ पुस्ताले गर्न सक्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले आलोचना र आत्मालोचनामार्फत कार्यकर्ताको राजनीतिक एवम् सांस्कृतिक स्तर माथि उठाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
जिल्लाका प्रतिवेदनहरूमा उल्लेख ‘बसाइँसराइको कारण गाउँ रित्तिएको चिन्ता’ देशको एक झल्को भएको र यो आजसम्मका सरकारहरूको ‘करामत’ भएको अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभयो ।
“क्रान्तिको लागि जनता नै तयार हुनुपर्दछ । हामीले चाहेर हुने भए कार्ल माक्र्सकै पालामा क्रान्ति भइसक्थ्यो । क्रान्तिको निम्ति कार्यकर्ताहरूले जनताको बिचमा काम गर्नु जरुरी छ । एक्लै दुक्लै अनसन बसे पनि हुने होइन”, अध्यक्ष बिजुक्छेँले कार्यकर्ताहरूलाई सचेत गराउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कृषि काममा सहयोग गराउन सहकारी संस्था सुरु भएको हो । पुँजीवादी देशले जनताको बचत कब्जा गर्न बैङ्कजस्तै सहकारी चलाउने कानुन बनाउन लगाएको हो । सहकारी संस्थाको केन्द्र हुँदैन । आ–आफ्नो सहकारी आफँै चलाउने हो ।”
“नेपालका कतिपय सहकारी संस्थाहरूमा आर्थिक गोलमाल छ र अर्बाँै रुपैयाँ बचत ठगी भएको सार्वजनिक भइरहेको छ । जनताको बचत ठगी गरेका सञ्चालकहरूकै घैघरानाबाट बचत फिर्ता गराउनु आवश्यक छ”, अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
“बचत हिनामिना गरेका नवदुर्गा बहुमुखी सहकारी संस्थाका सञ्चालकहरूलार्ई जनताले उल्टो टोपी लगाएर बजार घुमाएका थिए । भ्रष्टाचारीहरूलाई सजाय दिन जनता अघि बढ्नै पर्दछ”, अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
परिषद्मा पार्टी सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला समिति र जनवर्गीय तथा पेसागत सङ्गठनहरूको प्रतिवेदन प्रस्तुति परिषद्मा सुरु भयो । परिषद् शनिबार पनि चालु हुनेछ ।

पार्टी गतिविधिहरु
समाचार