ललितपुरमा पार्टी परिषद्को सन्देश कार्यक्रम


ललितपुर, २९ पुस । नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समितिको आयोजनामा पार्टीको ३५ औँ परिषदको सन्देश दिने उद्देश्यले कार्यकर्ता भेलाका साथ अन्तरक्रियात्मक अध्ययन गोष्ठी शनिबार सिद्धिपुरमा भयो ।
कार्यक्रममा नेमकिपा वाग्मती प्रदेश समितिका सदस्य एन. महर्जनले पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले व्यापक कामदार जनताको सेवाको लागि बढीभन्दा बढी पूर्णकालीन कार्यकर्ता बनेर पार्टीको काममा लाग्नु जरूरी भएको, पार्टीसँग जीवित सम्पर्कमा रहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सुसूचित हुनुपर्ने, आफ्नो व्यक्तिगत जीवनबारे पनि पार्टीमा जानकारी दिनुपर्ने, पार्टीभित्र प्रतिक्रियावादीहरू घुस्न सक्नेबारे सचेत हुनुपर्ने, पार्टी कार्यकर्ताले अन्धविश्वासको विरोध गर्नुपर्ने, पुर्खाले सिर्जेको वास्तुकला र संस्कृतिलाई संरक्षण गर्नु आवश्यक भएको बताउनुभएको उल्लेख गर्नुभयो ।
उहाँले परिषद्ले गरेका निर्णयहरूबारे जानकारी गराउनुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष जीपी लासिवाले पार्टी परिष्दबाट पारित राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे जानकारी गराउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ ललितपुरका सदस्य चन्द्रमान महर्जनले अमेरिकी स्वार्थको लगानी र नेपालले अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता र नेपाली सेनाको ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी अविलम्ब खारेज गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुरका सदस्य रूपना महर्जनले प्यालेस्टिनी भूमि कब्जा र नरसंहार गरेका अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध अपराधमा कारबाही हुनुपर्ने र प्यालेस्टिनमा तत्काल युद्धविराम हुनुपर्ने बताउनुभयो ।
नेमकिपा महालक्ष्मी नगर समितिका एम. महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ महालक्ष्मीका बिकी महर्जन, आशाराम महर्जन, शोभा महर्जन, वीरेन्द्र महर्जन, मनिश महर्जन, रामेश्वरी महर्जनलगायतले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार