चीनको अभिन्न भूभाग थाइवानमा अमेरिकी हस्तक्षेपको नेपाल मजदुर किसान पार्टीद्वारा विरोध एवम् निन्दा


भक्तपुर, १ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा २०८० पुस २९ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले चीनको अभिन्न भू–भाग थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध एवम् निन्दा गर्दै ‘एक चीन नीति’को समर्थनमा वक्तव्य प्रकाशित गर्ने निर्णय ग¥यो । पार्टीका सचिव प्रेम सुवालको हस्ताक्षरमा सोमबार प्रकाशित उक्त वक्तव्य यसप्रकार छ :–
“पोर्तुगालीहरूले सन् १५४२ मा चीनको भू–भाग थाइवानलाई फार्मोसा टापु (सुन्दर टापु) नामकरण गरेका थिए । प्राचीनकालदेखि थाइवान चीनको अभिन्न अङ्ग हो । सन् १९४९ मा चीनको समाजवादी क्रान्तिपछि अमेरिकी साम्राज्यवादले च्याङ काइ सेकलाई थाइवानमा आफ्नो कठपुतली सरकार बनाउन लगायो । चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले प्रारम्भदेखि नै चीनको अभिन्न भू–भाग थाइवानलाई अलग्याउन खोज्ने अमेरिकी साम्राज्यवाद र तिनको पिछलग्गू थाइवानका अमेरिकी कठपुतली अधिकारीहरूको विरोध एवम् निन्दा गर्दै आएको हो ।
थाइवानमा अमेरिकी हातहतियार तैनाथीे, अमेरिकी अधिकारीहरूको बरोबर भ्रमण र अमेरिकी आडभरोसामा जनवरी १३ को आमनिर्वाचन चीनको सार्वभौमिकतामाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेप हो । अमेरिकी साम्राज्यवादले ‘थाइवानको स्वतन्त्रता’ को विषय उठाइरहेको सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमणमा संरा अमेरिका र चीनबिच भएको थाइवानसहित ‘एक चीन नीति’ उल्लेख सांघाई घोषणाको उल्लङ्घन हो ।
नेपाल मजदुर किसान पार्टीले थाइवानमा चीनको सार्वभौमिकतासहितको ‘एक चीन नीति’को दृढ समर्थन गर्दै आएको छ । विश्वमा थाइवानसहितको एउटै चीनको मात्र अस्तित्व छ । थाइवानको समस्या चीनको आन्तरिक मामिला हो । नेपाल मजदुर किसान पार्टी थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध गर्दछ र विनाबाहिरी हस्तक्षेप पुनःएकीकृत चीनको समर्थन गर्दछ ।”

पार्टी गतिविधिहरु
समाचार