सांसद सुवालद्वारा अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको तर्फ राष्ट्रपतिको ध्यानाकर्षण


काठमाडौँ, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्व मनाउन संसद्मा भएका दलका नेता र प्रतिनिधिहरूलाई सोमबार बिहान ११ बजे आफ्नै निवासमा निम्ता दिनुभयो ।
राष्ट्रपति पौडेलले थारू, मगरलगायत जनजाति र आदिवासीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व माघी भएको उल्लेख गर्दै ऋतु परिवर्तनसँग जोडिएको यो पर्वको अवसरमा निम्ता दिनुभएको बताउनुभयो ।
आफूसँग भेटघाटमा आएका विदेशी पाहुना र राजदूतहरूले नेपालको संविधानमा तल्लो वर्गलाई अधिकार दिइएको दक्षिण एसियामै बेजोडको संविधान भएको भनी प्रशंसा गरेको बताउँदै राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
संविधान कार्यान्वयनमा नआउँदा जनतामा निराशा देखिएको, जनता पछाडि फर्कन नचाहेको बरु अगाडि नै बढ्न चाहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले समावेशी लोकतन्त्रलाई साकार पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान कार्यान्वयनमा नआएको तर्फ राष्ट्रपतिको चासो प्रकट भएको तर निम्तामा प्रधानमन्त्री उपस्थिति नभएको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरणको ६० अर्ब रूपैयाँ बराबरको सेयर बिक्री गरी निजीकरणको तयारी भइरहेको, वैदेशिक रोजगारीमा लाखौँ लाख युवासँगसँगै गत वर्ष एमबीबीएस उत्तीर्ण डाक्टर २,२२२ मात्र भएकोमा तर, सरकारले २,३१८ चिकित्सकलाई ‘असल चरित्र प्रमाणपत्र’ दिएर सरकारले विदेश पठाएको र अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको तर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रपति निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, रास्वपाका नेता रवि लामिछाने, जसपाका नेता उपेन्द्र यादव, नेकपा (एस) का नेता माधवकुमार नेपाल, लोसपाका महन्थ ठाकुर, जनमत पार्टीका सीके राउत, नाउपाका नेतृ रञ्जिता श्रेष्ठ, राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला श्रेष्ठ, सांसदहरू प्रभू साह, अमरेशकुमार सिंह, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, सांसद आरजु राणा, राष्ट्रिय सभाका सदस्य वामदेव गौतमको उपस्थिति थियो ।
सांसद सुवालले राष्ट्रपति पौडेललाई नेपाल मजदुर किसान पार्टीको तर्फबाट भएका प्रकाशनहरू – अमेरिकी ‘प्रजातन्त्र’, ‘देशघाती एमसीसी सम्झौताविरूद्ध नेमकिपाको सङ्घर्ष’ र ‘जनताको साहित्य र साहित्यकार’ उपहार प्रदान गर्नुभयो ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै उपस्थित भएर जिल्लातिर कार्यक्रममा सहभागी हुन जानुभएको र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सकेसम्म आउने खबर गर्नुभएको जानकारी गराउनुभयो ।

पार्टी गतिविधिहरु
समाचार