समाज परिवर्तनको निम्ति सही विचार र सिद्धान्त भएको सङ्गठन चाहिने


भक्तपुर, ७ माघ । नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा शनिबार युवा भेला भयो ।
उक्त भेलामा वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले समाज परिवर्तनको निम्ति विचार र सिद्धान्त भएको सङ्गठन चाहिने उल्लेख गर्दै नेमकिपाले आफ्नो स्थापनाकालदेखि नै देश तथा जनताको पक्षमा सङ्घर्ष गर्दै आएको बताउनुभयो । उहाँले कामदार जनताको पक्षमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै राजनीतिमा अनेक उतारचढाव झेल्नुपर्ने बताउनुभयो ।
उहाँले शासक दलहरू पदको निम्ति विदेशीको इसारामा चलेको चर्चा गर्दै उहाँले नेमकिपा पदको कुकुर झगडामा नफसी देश र जनताको सेवा गरिरहेको बताउनुभयो ।
नेमकिपाले युवाहरूलाई विदेश पठाउने नीतिको विरोध गरेको बताउँदै उहाँले नेपाली युवालाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नुपर्ने बताउनुभयो । उहाँले युवालाई देशको निम्ति लड्न सिकाउनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “शासक दलहरूले नेपाललाई वैदेशिक ऋणमा डुबाए देश उपनिवेश बन्ने खतरा भएकोले शासक दलहरूको विरोध गर्नु जरुरी छ ।” शासक दलहरूले नेपालको नदीनाला विदेशीको हातमा सुम्पिरहेको उहाँले बताउनुभयो ।
उहाँले नेमकिपाले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादीभन्दा पनि प्रतिक्रियावादी सङ्घसंस्थाभित्र छिरेर देश र जनताको सेवा गरेको विचार राख्नुभयो ।
उहाँले अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादले प्यालेस्टिनमा जातीय नरसंहार गरिरहेको स्पष्ट पार्दै नेमकिपाले प्यालेस्टिनी जनताको पक्षमा आवाज उठाइरहेको बताउनुभयो । “अमेरिकी साम्राज्यवादले चीनको अभिन्न भूभाग थाइवानलाई अलग्ग गराउन नक्कली निर्वाचन गराएको बताउँदै नेपाल एक चीन नीतिप्रति अडिग रहनुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटाले साम्राज्यवादीहरूको विरोध नगर्ने, न्यायको पक्षमा नलाग्नेहरू, समाजवादी विचारको पक्ष नलाग्नेहरू देशप्रेमी युवा हुन नसक्ने बताउनुभयो । उहाँले नेक्रायुसङ्घका युवाहरू देशको सार्वभौमिकता रक्षाको निम्ति निरन्तर लाग्ने प्रगतिशील विचार भएकाहरू हुन् भन्नुभयो ।
कार्यक्रममा उत्तम साखकर्मीले पनि बोल्नुभएको थियो ।

 

पार्टी गतिविधिहरु
समाचार