जुम्लामा जुलुस प्रदर्शन तथा सभा


जुम्ला, १० माघ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति जुम्लाको आयोजनामा पार्टीको ५० औँ स्थापना दिवस जुम्ला बजारमा जुलुस प्रदर्शन तथा जनसभा गरी मनाइयो ।
जनसभामा पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले माघ १० गते नेपाल र न्यायप्रेमी नेपाली कामदार जनताको हक र हितको निम्ति नेमकिपा स्थापना भएको बताउनुभयो ।
उहाँले कर्णालीको भूमिमा नेमकिपाले रातो झन्डा लिएर माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा बिजारोपण गरी सामन्ती व्यवस्था उन्मूलनका निम्ति कष्टसाध्य सङ्घर्ष गरेको उल्लेख गर्नुभयो ।
उहाँले देशको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पु¥याउने शासक दलहरूदेखि सावधान हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा जुम्लाका कार्यवाहक अध्यक्ष बिर्खबहादुर रावतले इजरायलले ७५ वर्षदेखि अमेरिकी र पश्चिमी देशको इसारामा प्यालेस्टिनमा आक्रमण गर्दै आएको र पछिल्ला दिनमा गाजा क्षेत्रका विद्यालय, अस्पतालमा समेत आक्रमण गरी निहत्था जनताको हत्या गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला समितिका सदस्य राजेश्वर देवकोटाले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद विश्वका कामदार जनताबाट तिरस्कृत र बहिष्कृत हुने बताउँदै नेपाल र नेपाली जनताको हितमा नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको खोटो विचारलाई परास्त गरी समाजवादी आन्दोलन जोगाउन नेमकिपाको स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा चन्दननाथ नपा समितिका यज्ञबहादुर बुढथापाले नेमकिपाको स्थापना ऐतिहासिक आवश्यकताको रूपमा भएको चर्चा गर्नुभयो भने जङ्गबहादुर शाहीले क्रान्तिकारी गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेक्रायुसङ्घका मानबहादुर बोहोराले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार