दैलेखको जम्बुकाँधमा जुलुस तथा सभा


दैलेखको जम्बुकाँधमा जुलुस तथा सभा

दैलेख, १० माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समितिको आयोजनामा बुधबार जम्बुकाँध बजारमा सांस्कृतिक झाँकीसहित जुलुस तथा सभा सम्पन्न भएको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक नेतृत्व गरिरहेको विचार राख्नुभयो । उहाँले जनमतसङ्ग्रहमा नेमकिपाले बहुदलको पक्षमा मत दिन आह्वान गरेको तर कम्युनिस्ट नामका विभिन्न पार्टीहरूले बहिष्कारको नीति लिँदा २०४६ सालसम्म पर्खिनु परेको विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर जनताको सेवा गर्ने नेमकिपाको नीति नै सही भएको भन्दै नेमकिपाका कार्यकर्ताले माओवादी अराजकतावादविरुद्ध सङ्घर्ष गरेको प्रसङ्ग राख्नुभयो । नेमकिपा आन्दोलन र सङ्घर्षको बेला नेमकिपा नभई आन्दोलन हुन नसकेको उदाहरण राख्दै उहाँले आन्दोलनकै बेला नेमकिपाले समाजवादी गणतन्त्रको नारा लगाएपछि जनतामा उत्साहको सञ्चार भएको बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले हिन्द प्रशान्त रणनीतिअन्तर्गत साम्राज्यवादी अमेरिकासँग एमसीसी सम्झौता गरेपछि नेपाल युद्धमा फस्ने सम्भावना बढेको भन्दै नेपाल प्यालेस्टिन बन्ने खतरा बढेको विचार राख्नुभयो । नेमकिपा अन्तर्राष्ट्रवादी पार्टी भएकोले प्यालेस्टिनमा इजरायली फासीवादी आक्रमणको विरोध गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
कामदार जनता सचेत र सङ्गठित नभएसम्म कामदारवर्गको शासन स्थापना हुन नसक्ने हुँदा आधा शताब्दीदेखि नेमकिपा दत्तचित्त भएर सङ्घर्ष गरिरहेको बताउँदै केन्द्रीय सदस्य गोसाईले शिक्षा, स्वास्थ्य र रोजगारबाट बञ्चित युवाहरू बिदेसिँदा मूकदर्शक भएर बस्ने शासक दलहरू जनविरोधी हुन् भन्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले शासक दलका कार्यकर्ताहरू निर्वाचित भएर व्यक्तिगत स्वार्थ र भ्रष्टाचारमा लिप्त भएको चर्चा गर्दै जनताले चामुण्डा विन्द्रासैनी नगरमा बालविकास केन्द्र बन्द गर्ने र नगर विद्यालयका शिक्षक दरबन्दी कटौती गर्ने दलहरूको विरोध गर्नु आवश्यक छ भन्नुभयो । देश जोगाउन नेमकिपाले नागरिकता विधेयकको विरोध गरेको उल्लेख गर्दै केन्द्रीय सदस्य शाहीले विदेशीलाई नागरिकता दिएपछि फिजीमा विदेशी नागरिक नै प्रधानमन्त्री बनेको उदाहरण राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले नेपालमा कामदारवर्गको शासन सत्ता स्थापना गर्न नेमकिपाले राजनीतिक र सैद्धान्तिक सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै नेमकिपाको स्थापना नभएको भए नेपालको कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक बहस अन्त्य हुने स्पष्ट पार्नुभयो ।
नेमकिपा दैलेखका जिल्ला अध्यक्ष जगत ओलीले पुँजीवादी र समाजवादी व्यवस्थाका भिन्नताबारे जनतालाई सुशिक्षित पार्नु आवश्यक छ भन्नुभयो ।
नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समितिका अध्यक्ष निरकबहादुर शाहीको सभापतित्वमा सम्पन्न जनसभामा नेमकिपाका जिल्ला कोषाध्यक्ष खगेन्द्रबहादुर शाही, जिल्ला सदस्य केशेन्द्रप्रकाश कार्की, धनकुमारी शाही, नेमकिपाबाट चाविनपामा जननिर्वाचित वडाध्यक्ष इन्द्रप्रसाद चौलागाई, नेमकिपा चावि नगर उपाध्यक्ष कृष्णप्रकाश ढकाल, नेक्राविसङ्घका सचिव दिनेश खड्गीलगायतले शुभकामना मन्तव्य दिनुभयो । जनसभामा लोकप्रिय हुड्के तथा मारुनी नाच र चर्चित देउडा गायकहरू जयबहादुर थापा र पानसरा थापाले देउडा गीत प्रस्तुत गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार