जिल्ला जिल्लामा नेमकिपाको ५० औँ स्थापना दिवस मनाइँदै


कठपुतली सरकारले देश र जनताको पक्षमा काम नगर्ने
भक्तपुर, १२ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले देश र जनताको हितको पक्षमा नेमकिपाले सडक र संसदमा निरन्तर सङ्घर्ष गरिरहेको बताउनुभयो । अहिलेको सरकार साम्राज्यवादी र विस्तारवादी देशको कठपुतलीजस्तो भएकोले देश र जनताको पक्षमा काम हुने अपेक्षा गर्नु आकाशको फल हुने विचार उहाँले व्यक्त गर्नुभयो ।
क्रान्तिको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति तयार हुनुपर्नेमा स्पष्ट पार्दै उहाँले क्रान्ति सफल पार्न कठीनभन्दा पनि कठीन गतिविधिहरू अघि बढाउनु कम्युनिस्टहरूको दायित्व हो भन्नुभयो ।
प्रमुख अतिथि सुवालले समाजवादी व्यवस्थामा योग्यताअनुसार काम र कामअनुसारको पारिश्रमिकको व्यवस्था हुने भएकोले त्यस्तो व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्लाका उपाध्यक्ष न्हुछेभक्त फोजुले पार्टी स्थापनाका आधारहरू, पार्टीको प्रकाशन, अन्तरक्रिया गर्नुको उपादेयताबारे चर्चा गर्नुभयो । पार्टी अनुशासनमा रहेर कर्तव्य पूरा गर्नु नै असल कार्यकर्ताको गुण हो, उहाँले भन्नुभयो ।
उक्त कार्यक्रममा समितिका नारायणभक्त न्हेमाफुकी, गणेशराम सुवाल, सूर्यबहादुर फोजु, कमला गिरी र धनबहादुर श्रेष्ठले पनि बोल्नुभएको थियो ।
अछामको तुर्माखाद भैरवस्थानमा प्रशिक्षण कार्यक्रम
अछाम, १२ माघ । नेपाल मजदुर किसान पार्टी तुर्माखाद पालिका समितिको आयोजनामा तुर्माखाद गाउँपालिका वडा नं. ३ भैरवस्थानमा प्रशिक्षण सम्पन्न भयो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक नवराज कोइरालाले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले वैचारिक र सैद्धान्तिक सङ्घर्ष गरिरहेको चर्चा गर्दै सच्चा कम्युनिस्ट पार्टीले समाजवादी क्रान्तिको निम्ति जनतालाई सचेत र सङ्गठित गर्छ भन्नुभयो ।
नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीले सच्चा कम्युनिस्ट देशभक्त हुने भएकोले सिद्धान्ततः अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरोधी हुन्छ भन्नुभयो ।
नेमकिपा तुर्माखाद पालिका समितिका अध्यक्ष पद्मबहादुर बुढा, नेपाल क्रान्तिकारी युवा सङ्घ तुर्माखाद पालिकाका उपाध्यक्ष रतन बुढालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेमकिपा तुर्माखाद गाउँपालिका वडा नं. ३ का अध्यक्ष तुलाराम बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यकर्ताको सांस्कृतिक स्तर उठाउन प्रशिक्षण तथा अन्तरक्रियाको अभियान
दैलेख, १२ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा, आठबिस नगर समितिले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको सुरुआत गर्दै नेमकिपा कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले पार्टीको ५० औँ स्थापना कार्यकर्ताको सांस्कृतिक स्तर उठाउन प्रशिक्षण तथा अन्तरक्रिया अभियान वर्षको रूपमा मनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले कार्यकर्ताको सांस्कृतिक स्तरको अभावमा सैद्धान्तिक विचलन आउने सम्भावना भएको बताउनुभयो ।
पार्टीले जनताको दैनिक जीवनसँग सरोकार राख्ने विषयमा सङ्घर्षका गतिविधिमा अगाडि बढाउनुपर्ने भन्दै उहाँले बाटोघाटो, खानेपानी, सरसफाइ, विद्यालय, स्वास्थ्य उपचारको सुविधालाई सर्वसुलभ बनाउन दबाब सिर्जना गर्नुपर्ने विचार राख्नुभयो ।
हरेक प्रशिक्षणको गतिविधिमा सहभागीले अध्ययन तथा लेखनमा जोड दिँदा पुनःताजगीको काम गर्ने भन्दै उहाँले लेखन कार्यले दिमागलाई एकाग्र बनाउने तथ्यमाथि प्रकाश पार्नुभयो ।
कार्यकर्ताहरूले आत्मअनुशासनमा जोड दिनुपर्ने कुरा औँल्याउँदै संयोजक गोसाईले खैनी, जाँडरक्सी, चुरोट, जुवातासबाट टाढा रहनुपर्ने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले नेकपा (माओवादी) ले कम्युनिस्ट आन्दोलनकै बदनाम गरेको भन्दै बिप्पा सम्झौता गरेर माओवादी नेता बाबुराम भट्टराई भारतीय विस्तारवादको दलाल प्रमाणित भएको बताउनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादको दलाल शेरबहादुर देउवा र भारतीय विस्तारवादका दलाल केपी ओली र प्रचण्ड मिलेर एमसीसी सम्झौता अनुमोदन गरेको प्रस्ट पार्नुभयो । केन्द्रीय सदस्य कोइरालाले नागरिकता विधेयक पारित गरेर शासक दलहरूले देशको सार्वभौमिकतामाथि आँच पुग्ने काम गरेको बताउनुभयो ।
केन्द्रीय सदस्य जग्यबहादुर शाहीले देश र जनताको पक्षमा काम गर्दै आएको नेमकिपालाई सानो पार्टी भन्नुले कुनै अर्थ नराख्ने बताउनुभयो । उहाँले बहुदलीय व्यवस्था स्थापनालाई नेमकिपाका अध्यक्ष रोहितले बहुदललाई दुई चम्चा पानीको संज्ञा दिँदै जनताको प्यास मेटिन्न भन्नुभएको उदाहरण राख्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका अध्यक्ष जगत वलीले प्रशिक्षणलाई फलदायी बनाउन अध्ययन र टिपोटको बानी बसाल्नुपर्ने कुरामा जोड दिनुभयो ।
नेमकिपा, आठविस नगर समितिका अध्यक्ष जयबहादुर सिजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रामबहादुर बडुवाल र कटक सिजापतिले पनि बोल्नुभएको थियो ।
सूर्यविनायकमा प्रवचन कार्यक्रम
भक्तपुर, १२ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा सूर्यविनायक वडा नं. ५ एकाइ समितिको आयोजनामा बिहीबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै सङ्गठनले पार्टी कार्यकर्ताको राजनीतिक तथा सांस्कृतिक स्तर उकास्न जोड दिँदै आएको बताउनुभयो ।
साम्राज्यवादी संरा अमेरिकाको कठपुतली इजरायली सरकारले प्यालेस्टिनी जनतामाथि गरिरहेको नरसंहार क्षम्य नभएको धारणा राख्दै उहाँले प्यालेस्टिनमाथिको आक्रमण तुरून्त बन्द गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामकृष्ण बखुन्छेँको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रमेश वैद्य, सूर्यभक्त त्वाती, जितबहादुर खाइजु, चनमती खुलिमुली र राधेश्याम भुजुले पनि बोल्नुभएको थियो ।

सुर्खेतमा पुस्तकको अन्तरक्रिया
सुर्खेत, १२ माघ । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारको खण्डन’ पुस्तकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले नेमकिपा स्थापनाको ५० वर्षको अनुभवबारे जानकारी गराउँदै कम्युनिस्ट पार्टीमा खोटो विचार रहेसम्म क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन भन्नुभयो ।
नेमकिपा सुर्खेतका सचिव एवं नेक्रायुसङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले युवा, विद्यार्थी र बुद्धिजीवीहरूले आमूल परिवर्तनको निम्ति भूमिका खेल्नुपर्ने बताउँदै पार्टी प्रकाशनहरूको अध्ययनलाई जोड दिइरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकल राना, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य विजुकला राना, चेतन पौड्याल, अङ्गबहादुर शाही, हस्तबहादुर साँवद, गणेश खड्का, अमर भन्डारी र मनबहादुर विकले पनि बोल्नुभएको थियो ।

तिला गाउँपालिकामा पार्टी स्थापना दिवस
जुम्ला, १२ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा तिला गाउँपालिकाको वडा न ३ को कुरारी भन्ने स्थानमा एक कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला समितिका उपाध्यक्ष विर्षबहादुर रावतले नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनलाई बाटो देखाइरहेको बताउनुभयो ।
नेमकिपा जिल्ला समिति जुम्लाका राजेश्वर देवकोटाले नेमकिपाले देशको श्रमजीवी तथा शोषितपीडित जनताको प्रतिनिधित्व गरिरहेको बताउनुभयो ।
मानबहादुर बोहराको सभापतित्वमा भएको सो कार्यक्रममा यज्ञबहादुर बुढ्थापा, नेक्राशिसङ्घका दीर्घबहादुर शाही र हर्कबहादुर बोहराले पनि बोल्नुभएको थियो ।

पार्टी स्थापना दिवसको अवसरमा महिला भेला
भक्तपुर, १२ माघ । नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगरपालिका नगर समितिको आयोजनाम शुक्रबार महिला भेला भयो ।
भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपा स्थापनाका आधार र उद्देश्यबारे प्रस्ट पार्नुभयो ।
नेमकिपाले भ्रष्टाचार, साम्राज्यवाद र भारतीय विस्तावादको विरोधमा स्थापनाकालदेखि सङ्घर्ष गर्दै आएको छ । नेमकिपाले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन संशोधनवाद र अराजकतावादी विचारको विरोध गर्दै कामदार जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने कार्य गरिरहेको छ, उहाँले भन्नुभयो ।
नेमकिपा वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले नेमकिपाले शोषितपीडित महिलाहरूको हितमा काम गर्दै आएको छ भन्नुभयो । उहाँले महिलाको हकहितको लागि महिला आफँै सक्रिय र सङ्घर्षशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष सानुमाया लागेजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा कमला गिरी, जीना चाकतुलगायतले बोल्नुभएको थियो ।

कैलालीमा पुस्तक अध्ययन गोष्ठी तथा प्रशिक्षण
कैलाली, १२ माघ । नेमकिपा कैलालीको आयोजनामा नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा जानकी गाउपालिका वडा नं ४ कञ्चनपुरमा पुस्तक अध्ययन गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन एक ऐतिहासिक प्रकाशन भएको बताउनुभयो ।
राजनीति गर्दा सबै भन्दा पहिले शत्रु र मित्र शक्ति छुट्याउन सक्नुपर्ने उहाँले बताउनुभयो ।
नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावलले कार्यकर्ताहरूले पार्टी प्रकाशनहरू गहनरुपमा अध्ययन गरी छलफल कार्यक्रम चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीको विस्तार गर्न नयाँ पुस्तालाई राजनीतिक रुपमा सचेत र सङ्गठित गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा सिताराम पण्डित, गगन बहादुर थापामगर र देवी अधिकारीले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार