एमसीसी सम्झौता पारित गर्ने दल देशभक्त र कम्युनिस्ट नहुने


सिन्धुपाल्चोक, १३ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले शनिबार सिन्धुपाल्चोकका जनतासँग भेटघाट गर्नुभयो ।
ऐँसेलुखर्क र चौताराका जनतासँग भएको भेटघाट कार्यक्रममा सांसद सुवालले पार्टी स्थापनाका आधार र पार्टीको उद्देश्यबारे प्रस्ट पार्दै पार्टीले देशमा परिवर्तनको निम्ति जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गरिरहेको बताउनुभयो ।
पुँजीवादी सरकारमा भइरहेको भागबन्डाको विरोध गर्दै उहाँले कम्युनिस्ट भनिने सरकार पुँजीवादी सरकार भएकोले जनताले दुःख पाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी सम्झौता पारित गर्ने दलहरू देशभक्त र कम्युनिस्ट होइनन् देशविरोधी र जनविरोधी दल हुन् ।”
स्वदेशमै रोजगारको व्यवस्था नगर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क नगर्ने दल कम्युनिस्ट नहुने स्पष्ट पार्दै उहाँले माघ २२ गतेदेखि सुरू हुने प्रतिनिधिसभामा सिन्धुपाल्चोकका जनताका समस्याबारे सरकारको ध्यानाकर्षण गर्न आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।
साम्राज्यवादी देश अमेरिका र फासीवादी देश इजरायल मिलेर प्यालेस्टिनको ग्यास र पेट्रोलियम पदार्थ कब्जा गर्न गरिरहेको जातीय नरसंहारको निन्दा गर्दै नेपालको पनि स्रोत र साधन कब्जा गर्ने सम्भावना भएको हुँदा जनता सचेत भई सो कदमविरूद्ध आन्दोलनको निम्ति तयार भइरहनुपर्नेमा जोड दिनुभयो ।
चुरे क्षेत्रमा गिटी ढुङ्गा भारतमा पठाउने कार्य रोक्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले चुरे दोहन रोक्न नसके सो क्षेत्र मरूभूमिमा परिणत हुने विचार राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालको जलविद्युत् देशलाई चाहिन्छ, नेपाललाई चाहिने जलविद्युत् भारतलाई दिनु उचित होइन ।”

 

पार्टी गतिविधिहरु
समाचार