अवसरवाद, संशोधनवाद र सामाजिक साम्राज्यवादको विरोधमा नेमकिपाको स्थापना


अवसरवाद, संशोधनवाद र सामाजिक साम्राज्यवादको विरोधमा नेमकिपाको स्थापना

दैलेख, १३ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा पार्टीको आठबिस नगर समितिको दुईदिने प्रशिक्षण शनिबार सम्पन्न भयो ।
नेमकिपाका अध्यक्ष रोहितको पुस्तक ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारहरूको खण्डन’ बारे प्रकाश पार्दै नेकपाको तत्कालीन नेतृत्वबाट माक्र्सवाद, लेनिनवाद तथा माओ त्सेतुङ विचारधाराप्रति धोका भएपछि नेमकिपाको स्थापना भएको प्रस्ट पार्नुभयो ।
अवसरवाद, संशोधनवाद, सामाजिक साम्राज्यवादको विरोधमा नेमकिपाको स्थापना भएको भन्दै केन्द्रीय सदस्य गोसाईले नेमकिपाका अग्रजहरूले शान्तिपूर्ण क्रान्तिको नाराको विरोध गरेको उल्लेख गर्नुभयो । उहाँले विदेशीको भरमा क्रान्ति गर्ने दृष्टिकोणको विरोधमा सङ्घर्ष गरिएको भन्दै साम्राज्यवाद र उपनिवेशवादको विरोध नगर्नु गलत भएको तर्क गर्नुभयो ।
उहाँले राजावादी र पुँजीवादीको पुच्छर लाग्ने प्रवृत्तिको विरोध भएको उल्लेख गर्दै किसान सङ्घर्ष र वर्गसङ्घर्षको पक्षमा नेमकिपाले वकालत गर्दै आएको भनाइ राख्नुभयो । कम्युनिस्ट पार्टीभित्र सानो सङ्घर्षलाई देशव्यापी बनाउने प्रस्तावबारे छलफल भएको तर नेतृत्वले त्यसलाई अस्वीकार गरेको भन्दै विभिन्न देशको मुक्ति आन्दोलनको समर्थन नगर्नु र पञ्चायती सामन्तवादको विरोध नगरेकै कारण नेमकिपाको स्थापना भएको भनाइ राख्नुभयो ।
पार्टी केन्द्रीय सदस्य नवराज कोइरालाले नेमकिपाले क्रान्तिकारी संसदवादको सिद्धान्तअनुसार निर्वाचनलाई उपयोग गर्दै आएको स्पष्ट पार्नुभयो । उहाँले चुनावमा भाग लिन मिल्छ तर सङ्घर्षलाई त्यसैमा सीमित राख्नु हुन्न भन्दै कम्युनिस्टहरू पुँजीवादी संसद्बाट बन्ने सरकार गठनमा भाग लिँदैन भन्नुभयो । उहाँले नेमकिपाले संसद्मा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको भन्दै देशको सार्वभौमिकता रक्षाको निम्ति सदन र सडकमा सङ्घर्ष गरिरहेको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले नेमकिपाका अध्यक्ष रोहितले लेख्नुभएको पुस्तक रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतनबारे बोल्दै नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले सैद्धान्तिक छलफलको विषयलाई चालु राखेको तर्क गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव दिनेश खड्गीले प्यालेस्टिनी जनतामाथि इजरायली हमला युद्ध अपराध भएको तर्क गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष जयबहादुर थापाले प्रशिक्षणले कार्यकर्ताको सैद्धान्तिक स्पष्टताको निम्ति सहयोग गरेको बताउनुभयो ।

पार्टी गतिविधिहरु
समाचार