जिल्ला जिल्लामा पार्टी स्थापना दिवस मनाइँदै


पार्टी प्रकाशन अध्ययन र अन्तरक्रियाबाट कार्यकर्ताको सांस्कृतिक स्तर उठ्ने
बर्दिया, १५ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा बर्दियाको आयोजनामा सोमबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले पार्टी प्रकाशनको अध्ययन र अन्तरक्रियाबाट कार्यकर्ताहरूको सांस्कृतिक स्तर माथि उठ्ने बताउनुभयो । पार्टी कार्यकर्ताहरूले अध्ययन सँगसँगै जनताको दैनिक जीविकाको बारेमा पनि सङ्घर्ष गर्नुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य गोसाईले स्थानीय पालिकाले जनहितविपरीत गरेका गलत कामबारे जनतालाई सुस्पष्ट पार्नुपर्छ भन्नुभयो  ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले हिजो रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको बारे बहस गर्न र जनतालाई सचेत पार्न नचाहने कम्युनिस्ट नामधारी शासक दलहरूले आज नेपाली जनतालाई शोषण र विदेशी पुँजीको सेवा गरिरहेका छन् भन्नुभयो ।
नेमकिपा बर्दियाका अध्यक्ष हरिलाल न्यौपानेले कम्युनिस्ट सिद्धान्तअनुसार नेमकिपाले कामदार जनतालाई शासनसत्तामा पु¥याउन सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।

राजनीतिक परिवर्तनपछि मात्र महिला मुक्ति
महेन्द्रनगर, १५ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरूमा कार्यकर्ता भेला तथा प्रवचन कार्यक्रम शनिबार सम्पन्न भयो ।
चाँदनी दोधारा नगरपालिका वडा नं. १ चाँदनी गाउँमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पार्टी स्थापनाका आधारहरूबारे जानकारी गराउनुभयो । उहाँले तत्कालीन पञ्चायती समयमा राजा, काङ्ग्रेस र भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजी तीन टाउके सर्प बनेको र नेपाली जनताको मुख्य शत्रुबारे कम्युनिस्ट पार्टीमा एकमत हुन नसकेको चर्चा गर्दै राजतन्त्रको अन्त्य हुँदैमा जनताले सुख नपाउने अहिलेको घटनाक्रमले प्रस्ट पारेको स्पष्ट पार्नुभयो ।
उहाँले कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुने उल्लेख गर्दै संसारका न्यायप्रेमी जनताका देशभक्तिपूर्ण आन्दोलनहरूप्रति पार्टीले ऐक्यबद्धता जाहेर गरेको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले महाकाली सन्धिमा देशघात भएको चर्चा गर्दै सिमानाका जनताले भारतीय शासक दल तथा राज्य संयन्त्रबाट दुःख पाइरहेको बताउनुभयो । उहाँले शारदा बाँध जीर्ण भई कुनै पनि बखत भत्कन सक्ने खतरा रहेको औँल्याउँदै उक्त बाँध तत्काल भत्काई डुवानमा परेको र मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्ने र टनकपुर बाँधबाट नेपालले आधा पानी र बिजुली पाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले पार्टीले कामदार जनताको पक्षमा आवाज उठाइरहेको उल्लेख गर्दै समाजवादी व्यवस्था हुँदै साम्यवादसम्म पुग्नु पार्टीको उद्देश्य भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशनमैँया सुवालले महिलाहरूको चेतनास्तर उठाउन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्गीय समाजमा राजनैतिक परिवर्तनपछि मात्र महिला मुक्तिको कल्पना गर्न सकिन्छ ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र था श्रेष्ठ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य शेमसल तामाङले युवा विद्यार्थीले देशको चिन्ता लिनुपर्ने आवश्यकता औँल्याउँदै समाजको सकारात्मक परिवर्तनको लागि युवा विद्यार्थीले स्वदेशमै बसेर जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
आयोजक पार्टी जिल्ला समितिका अध्यक्ष दलबहादुर बोहराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पार्टी सदस्यहरू बलदेव पनेरु, मिनु गिरी र परमानन्द भट्टले पार्टीको इतिहासबारे जानकारी दिनुभयो ।
सोही दिन चाँदनी दोधारा नगरपालिका वडा नं. ८ मा पनि कार्यकर्ता भेला सम्पन्न भयो ।
उक्त भेलामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले साना कृषकहरूको उत्पादन र बजारीकरण कार्यमा सहकारीले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सहकारीसम्बन्धी ऐन कानुनमा भएका छिद्रहरूबाट फाइदा लिएर बचतकर्ताका करोडौँ रूपैयाँ लिएर केही सञ्चालकहरू भागेको उल्लेख गर्दै सहकारी संस्था र निजी बैङ्कबिचको भिन्नताबारे स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका मञ्जुमाया लाखाले कामदार महिलाहरू अझै चुलोचौकामा सीमित हुनुपरेको बताउनुभयो । महिलाहरूलाई पनि राजनैतिक गतिविधिहरूमा सँगै ल्याउन सके परिवर्तन चाँडै हुने उहाँको कथन थियो ।
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष दलबहादुर बोहरा र सदस्य परमान्द भट्टले जिल्लामा भइरहेको पार्टी गतिविधिबारे जानकारी दिँदै स्थानीय जनतामा पार्टीप्रति सद्भाव र माया रहेको बताउनुभयो ।
त्यस्तै, कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका धरमपुर बिसफाँटामा रहेका मुक्त कमैयाहरूका बिच नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवस आइतबार मनाइयो ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले सरकारमा गएका दलहरूले कम्युनिस्ट नाम राखेर जनतालाई ठगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्ट सरकार हुँदो हो त मजदुर किसानले सुखको जीवन पाउँथे, योग्यताअनुसार काम र कामअनुसार ज्याला पाउँथे, व्यक्तित्व विकासमा समान अवसर पाउँथे ।”
पार्टी कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले सरकारले कमैया मुक्तिको नाममा पुर्खौँदेखि जोत्दै आएको जमिनबाट वास्तविक किसानलाई वञ्चित गराएको र सामन्तहरूको जग्गा जोगिएको बताउनुभयो । उहाँले कमैयाहरूलाई मोहियानी हक दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका लक्ष्मीनारायण राजलवट खत्रीले तराईको किसान आन्दोलनको जगमा पार्टी स्थापना भएको चर्चा गर्दै जग्गामाथि वास्तविक किसानको हक सुनिश्चित गराउन पार्टीले गरेका सङ्घर्षबारे जानकारी दिनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका छोरीमैँया सुजखूले महिलाहरूले पनि उत्पादनमूलक गतिविधि गर्न जोड दिँदै बरोबर स्वास्थ्य उपचारको लागि चिकित्सकको सल्लाह लिनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका सुरेन्द्र था श्रेष्ठ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका शेमसल तामाङले पुँजीवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य उपचार निःशुल्क हुन नसक्ने चर्चा गर्दै समाजवादमात्र गरिब जनताको व्यवस्था हुने बताउनुभयो ।
कार्यक्रममा पार्टी कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावल र कञ्चनपुर जिल्लाको पार्टी समिति सदस्य सीताराम राना थारुले पार्टी गतिविधिबारे जानकारी दिनुभयो ।

कटारी नगरमा प्रशिक्षण कार्यक्रम
उदयपुर, १५ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा कटारी नगर समितिको आयोजनामा बबला–८ कटारीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् कोसी प्रदेश संयोजक उकेश कवांले समाजवादी व्यवस्थामा सरकारले शिक्षा, स्वास्थ्य निःशुल्क, स्वदेशमा रोजगारीको व्यवस्था गर्छ, काम गरिखाने वर्ग वर्गीयरूपले सचेत भई सङ्गठित हुनुपर्छ भन्नुभयो ।
अतिथि कवांले सबै नेपाली जनतालाई विद्युत् नपुगेको समयमा भारतलाई १० हजार मेघावाट विद्युत् दिने सम्झौता गर्नु आत्मसमर्पण गर्नु हो, भारतीय दूतावासलाई सिधैँ नेपाल सरकारको स्वीकृतबिना २० करोड लगानी गर्न दिनु नेपालमाथिको हस्तक्षेप हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपा कोसी प्रदेश सदस्य महेन्द्र बखुन्छेँले भन्नुभयो, “जनप्रतिनिधिहरू जनताको घरदैलोमा पुगेर सेवा गर्नुपर्छ । सरकारले युवाहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नुपर्छ ।”
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले मजदुर र किसानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान नगरी सरकारले विदेशी पुँजीको सेवा गर्दै छ, समाजवादी शिक्षाले मात्र देश र जनताको सेवा हुन्छ भन्नुभयो ।
कार्यक्रममा कृष्णप्रसाद कोजु, पदमबहादुर तामाङ, दलबहादुर बुढाथोकी, विष्णु खत्री, पूर्णबहादुर बुढाथोकी, सीता थापामगरले पनि बोल्नुभएको थियो । भेलाले दलबहादुर बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय नेमकिपा कटारी नगर समिति गठन गरेको छ ।

लम्कीचुहामा प्रशिक्षण
कैलाली, १५ माघ । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा लम्किचुहा नगरपालिका वडा नं.१ थपालीपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कैलालीका सचिव गगनबहादुर थापामगरले काम गरिखाने जनताको लागि नेमकिपा स्थापना भएको बताउनुभयो । उहाँले समाजवाद भनेको मजदुर र किसानको लागि स्वर्ग भएको कुरा राख्दै समाजवादी व्यवस्थामा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, मनोरञ्जन र सुरक्षाको सुनिश्चित हुन्छ भन्नुभयो ।
नेमकिपा कैलालीका सदस्य ज्योति बडुवालले विगतको कम्युनिस्ट पार्टीमा देखिएको खोटा विचारको खण्डन गर्दै काम गरिखाने जनताको पार्टी नेमकिपाको २०३१ माघ १० गते स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ कैलाली अध्यक्ष प्रेम बडुवाल, नक्रामहिला सङ्घ कैलाली कोषाध्यक्ष देवी अधिकारी र सहसचिव जानकी सिजापतिले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. वडा नं १ एकाइ समितिको आयोजनामा नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पुँजीवादी व्यवस्थाले पुँजीपतिवर्गको हितको निमित्त नियम कानुन बनाउने हुँदा काम गरिखाने मजदुर र किसानले सधँै दुःख पाउने भएकोले समाजवादी व्यवस्थाको निम्ति सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।
नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावलले परिवर्तनको निम्ति मजदुर र किसानलाई राजनीतिकरूपले सचेत गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ कैलाली अध्यक्ष हिक्मत भण्डारीले विद्यार्थीहरू सधैँ राजनीतिकरूपले सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. वडा नं १ एकाइ सीमित अध्यक्ष कमल प्याकुरेल र सदस्य सुविस्ता हमालले पनि बोल्नुभएको थियो ।

डुल्लु नपा र भैरवी गाउँपालिकामा पार्टी स्थापना दिवस
दैलेख, १५ माघ । नेपाल मजदुर किसान पार्टी डुल्लु नगर समिति र भैरवी गाउँपालिका समितिको आयोजनामा शुक्रबार पार्टीको स्थापना दिवस मनाइयो ।
कार्यक्रममा जिल्ला पार्टी समिति दैलेखका उपाध्यक्ष लक्ष्मीकुमार विकले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको खोटो विचार, रुसी संशोधन सामाजिक साम्राज्यवादमा पतन, नेपाल–भारत सम्बन्धमा र भारतजस्ता विषय सैद्धान्तिक मतभेद भएपछि नेमकिपा स्थापना भएको उल्लेख गर्दै उहाँले यो पार्टी व्यापक बहुमत जनताको सेवा गर्ने उद्देश्यले स्थापना भएको बताउनुभयो ।
नेमकिपा डुल्लु नगर समितिका सदस्य मदनकुमार भण्डारीले पार्टी गतिविधि जनतामाझ लानुपर्ने आवश्यकता औँल्याउनुभयो भने अर्का सदस्य पद्मबहादुर बुढाले विदेशी शक्ति राष्ट्रको हस्तक्षेपको विरोध गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा भरतबहादुर शाह, काशिराम बुढा, राजनकुमार गिरी, लोकप्रसाद आचार्यलगायतले पार्टीको योगदानबारे चर्चा गर्नुभयो ।
त्यस्तै, नेपाल क्रान्तिकारी महिला सङ्घ महाबु गाउँपालिकाको आयोजनामा माघ १० गते पार्टी स्थापना दिवस मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका जिल्ला समितिका पूर्वउपाध्यक्ष बमबहादुर सिंहले नेमकिपाले अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र आत्मसमर्पणवादको विरोध गर्दै कामदार जनताको पक्षमा सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेमकिपा महाबु गाउँपालिकाका भगिराम थापा, मनबहादुर खत्री, लक्ष्मीकुमारी सिंहले पनि बोल्नुभएको थियो । कार्यक्रम नेक्रामसङ्घ महाबु गाउँपालिका समितिका अध्यक्ष राजकुमारी डाँगीको सभापतित्वमा भएको थियो ।

जिल्ला जिल्लामा पार्टी स्थापना दिवस मनाइँदै

कनकासुन्दरीमा पार्टी स्थापना दिवस
जुम्ला, १५ माघ । नेमकिपा कनकासुन्दरी गाउँपालिकाको आयोजनामा जिउला बजारमा पार्टी स्थापना दिवस मनाइयो । उक्त कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला समितिका कार्यवाहक अध्यक्ष विर्षबहादुर राउतले नेमकिपा सिद्धान्त र विचारमा अडिग भएको पार्टी हो भन्नुभयो ।
नेमकिपा जिल्ला समिति जुम्लाका सदस्य राजेश्वर देवकोटाले नेमकिपाले नेपालको कम्युनिस्ट पार्टी र आन्दोलनमा मार्गनिर्देश गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य तारा शाहीले महिलाहरूको हक हितको निम्ति सङ्घ लडिरहेको बताउनुभयो ।
आयोजक समितिका उपाध्यक्ष हीरादेवी शाहीको सभापतित्वमा भएको सो कार्यक्रममा कर्मचारी समाजका केन्द्रीय सदस्य सुदर्शन काफ्ले र लालु बुढाले पनि नेमकिपाको योगदानबारे चर्चा गर्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार