देशघाती सन्धि सम्झौता र आक्रमणको निन्दा


भक्तपुर, १६ माघ । नेपाल क्रान्तिकारी शिक्षक सङघ, बासु एकाइ समितिको आयोजनामा सोमबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थामा रहेर नेमकिपाले देश र जनताको सेवा गरिरहेको बताउनुभयो ।देशघाती सन्धि सम्झौता र आक्रमणको निन्दा
देशघाती सन्धि सम्झौताको विरोध गर्नुका साथै उहाँले भियतनाममाथि अमेरिकी आक्रमण, सुस्ता बचाउने आन्दोलन र भारतीय एकाधिकार पुँजीको विरोधमा नेमकिपाले सङ्घर्ष गर्दै आएको चर्चा गर्नुभयो ।
बासु माविका प्राचार्य अम्बिका न्याइच्याईले पार्टीले शिक्षा र स्वास्थ्यमा जोड दिँदै आएको उल्लेख गर्दै भक्तपुरको शिक्षा र स्वास्थ्यमा उदाहरणीय काम गरेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सुनिता घटुवाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विष्णुप्रसाद दुमरु र रविलाल प्रधानले पनि बोल्नुभएको थियो ।
सहिद दिवसको अवसरमा कविता गोष्ठी पनि गरिएको थियो ।
त्यस्तै नेमकिपा भनपा वडा नं ७ को आयोजनामा इनाचो चोर्चामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सोभियत सङ्घमा बोल्शेभिक पार्टीले जनतालाई विभिन्न किसिमका कक्षाहरू सञ्चालन गरी सचेत र सङ्गठित गरेकै कारण समाजवाद स्थापना भएको औँल्याउनुभयो ।
नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, र किसान सङ्घर्षबारे चर्चा गर्दै शासक दलका नेता कार्यकर्ताहरू भारतीय विस्तारवादसामु नतमस्तक भएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले प्यालेस्टिन र इजरायलको घटना विवरणबारे प्रस्ट्याउनुभयो भने ख्वप कलेजका सुनिल दुवालले नेमकिपा स्थापनाको औचित्यबारे प्रस्ट पार्नुभयो ।
कृष्णगोविन्द खाइजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजन लाखा, चिरीमाया लाखा र चन्द्रप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।

समाजवादी व्यवस्थामा मात्र जनताले सेवा सुविधा पाउने
नेपाल मजदुर किसान पार्टी सूर्यविनायक ७ वडा एकाइ समितिको आयोजनामा नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा विचार गोष्ठी भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपाले राजनीतिक र सैद्धान्तिकरूपमा जनतालाई सचेत र सङ्गठित बनाउँदै कम्युनिस्ट पार्टीको दायित्व पूरा गरेको बताउनुभयो ।
क्युवा, चीन, प्रजग कोरियामा भएका गतिविधिहरूको चर्चा गर्दै उहाँले समाजवादी व्यवस्थामा मात्र जनताले उचित सेवा र सुविधा उपभोग गर्न पाउँछ भन्नुयो ।
उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा नागरिकले जीवन निर्वाहको लागि पाउनुपर्ने अत्यावश्यक सेवा सुविधाहरू शिक्षा, रोजगारी, सुरक्षा आदि पाउँछन् ।
अमेरिकी साम्राज्यवादी शक्तिले विश्वमा विभिन्न आतङ्क मच्चाइरहेको उल्लेख गर्दै उहाँले जनता सचेत नभएसम्म साम्राज्यवादले टाउको उठाइरहने सङ्केत गर्नुभयो । देश अधोगतितर्फ गइरहेको प्रस्ट्याउँदै उहाँले देशमा विद्यमान स्रोत तथा साधनहरूको समुचित प्रयोग गरी युवा श्रमशक्तिलाई विदेश पलायन हुनबाट बचाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले कार्यकर्ताले पार्टी प्रकाशनको अध्ययन गोष्ठी, अन्तरक्रिया, छलफल आदि कार्यक्रममार्फत सैद्धान्तिक र राजनीतिक विचार मजबुत बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार नेमकिपाले निर्वाचनको उपयोग गर्दै आएको स्पष्ट पार्दै उहाँले जनताको राजनीतिक चेतनाको विकाससँगै जनविरोधी दलहरूलाई उदाङ्ग्याउँदै जाने स्पष्ट पार्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य रमेश वैद्यले कम्युनिस्ट घोषणापत्रको अध्ययन र यसको महत्व सबैलाई बुझाउनुपर्छ भन्नुभयो । “पार्टीका कार्यकर्ताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा भएका घटनाको अध्ययन गरी समुदायमा बुझाउनुपर्दछ ।” उहाँले भन्नुभयो ।
नेमकिपा सूनपाका सदस्य राजेन्द्र बखुन्छँेले मोहियानी हक प्राप्त गर्न नेमकिपाले ठुलो सङ्घर्ष गरेको चर्चा गर्दै बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन आदिको बारेमा चर्चा गर्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य श्याम विसुङ्खेले देशमा ठुला कहलिएका कम्युनिस्ट पार्टीहरूले कम्युनिष्ट सिद्धान्तको बदनाम गर्दै हिँडेको बताउनुभयो । “देशमा नै अत्यावश्यक सेवाको उपलब्ध गराउन तथाकथित कम्युनिस्ट सरकारहरू असफल भएको र सैद्धान्तिक स्खलनले देश बर्बादीतिर धकेलेको छ ।” उहाँले भन्नुभयो ।
नेमकिपा सूनपा ७ वडा एकाइका संयोजक सूर्यबहादुर पञ्चको सभापतित्वमा भएको उक्त कार्यक्रममा काजीबहादुर पञ्च र न्हुछेभक्त पञ्चले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार