नेक्रायुसङ्घ चाँगुनारायणको तेस्रो नगर सम्मेलन सम्पन्न


भक्तपुर, २० माघ । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिको तेस्रो नगर सम्मेलन नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले भन्नुभयो, “युवा भनेको उमेरसँगै विचार पनि हो । सामन्ती र पुँजीवादी विचार भएकाहरू उमेर भए पनि युवा होइनन् । मजदुर र किसानको मत लिएर सरकारमा गएका शासक दलका युवाहरू पुँजीपतिवर्गको सेवा गर्ने दलालहरू हुन् ।”
गोर्खा भर्तीको नाममा नेपाली युवाहरूलाई बेलायत र इन्डियाले मित्र देशविरूद्ध प्रयोग गरिरहेको र गोर्खा भर्तीलाई विदेशीले भाडाको सिपाही बनाउँदै आएकोले गोर्खा भर्ती अविलम्ब खारेज गर्नु जरूरी रहेको उहाँले बताउनुभयो ।नेक्रायुसङ्घ चाँगुनारायणको तेस्रो नगर सम्मेलन सम्पन्न
सचिव सुवालले भन्नुभयो, “नेपालका शासकहरूले नेपाली युवालाई अमेरिकी, फ्रान्सेली, रूसी, युक्रेनी सेनामा पनि पठाएर मृत्युको मुखमा धकेल्दै छन् । सरकारले नेपाली युवालाई विदेशी सेनामा मर्न पठाउने होइन, नेपालमै रोजगारी दिनुपर्छ । युवालाई स्वदेशमा रोजगारी दिन नसक्ने शासकहरूले सिंहदरबार छोड्नुपर्छ ।”
कम्युनिस्टको सरकार आयो भने उद्योगधन्दा, कलकारखाना लगायत उत्पादनका साधनहरू राष्ट्रियकरण हुने तर, नेपालका कम्युनिस्ट नामधारी शासक दलहरूले नेपालको उत्पादनका साधनहरू निजीकरण गरी कमिसन र भ्रष्टाचारमा लिप्त रहेको हुँदा ती पार्टीहरू भाइकाङ्ग्रेस भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “माओवादी सशस्त्र युद्ध गरेको भन्दै आफूलाई कम्युनिस्ट दाबी गर्छ । काङ्ग्रेसले पनि हतियार उठाएको थियो । जङ्गबहादुर राणाले पनि हतियारकै बलमा सत्ता कब्जा गरेका थिए । के तिनीहरू कम्युनिस्ट हुन् त ? यसकारण विचार र सिद्धान्त नभएकाहरूले हतियार उठाउँदैमा कम्युनिस्ट हुँदैनन् ।”
“नेपाल सरकारले विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगमलगायत सार्वजनिक संस्थानहरू बेच्ने तयारी गर्दै छ । शासक दलहरू विदेशी पुँजीको दलाल साबित हुँदै छन् । नेपाली जनताले खबरदारी गर्नु जरूरी छ, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “६ महिनाको अवधिमा भारतबाट विषादी भएको १२ अर्बको तरकारी भित्रिएको समाचार आयो । संसदीय समितिको बैठकमा खाद्य स्वच्छतासम्बन्धी विधेयकबारे भएको छलफलको क्रममा यही विषय राखेर हामीले सरकारको ध्यानाकर्षण गरायौँ । तर सभापति आरजु राणाले रोक्न खोज्नुभयो । देश र जनताको पक्षमा, भष्टाचारको विपक्षमा बोल्न थालेपछि शासक दलहरूलाई चित्त बुझ्दैन । हामीले यसको प्रतिवाद ग¥यौँ ।” उहाँले भन्नुभयो, “देशको सन्तुलित विकास नगरी शासक दलका नेता, कार्यकर्ताहरू भ्रष्टाचार गर्दै काठमाडौँमा घरजग्गा जोड्दै छन् । काठमाडौँमा जनसङ्ख्या वृद्धि भई धुलो, धुवाँ, पदुषण बढ्दै छ । काठमाडौँमा फोक्सोका रोगीहरू बढ्दै छन् । यसकारण, देशको सन्तुलित विकास गर्न निर्वाचन जितेका शासक दलका नेताहरूले आफ्नै क्षेत्रमा घर बनाएर आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना गर्नु जरूरी छ ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य रमेश वैद्यले शासक दलहरूको कारण सहकारीमा पनि समस्या आएको धारणा राख्दै निम्न आय भएकाहरूको सेवा गर्न स्थापना भएका सहकारीहरूले निजी बैङ्कले जस्तै नाफाको लागि काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले एमसीसी र एसपीपीको माध्यमबाट नेपाललाई रणमैदान बनाउन खोजेको हुँदा युवाहरूले यसको विरोध गर्नु जरूरी छ ।”
नेमकिपा चाँगुका उपाध्यक्ष केशवप्रसाद तिमिल्सेनाले चाँगुनारायण नपामा शासक दलहरूले गरेको भ्रष्टाचारविरूद्ध नेमकिपाले सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
नेक्रायुसङ्घ चाँगु नगर सम्मेलन तयारी समितिका संयोजक एलएनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा चानपा ९ एकाइ समितिका अध्यक्ष नारायणभक्त न्हेमाफुकी, सोही वडाका वडाअध्यक्ष गणेश त्यात, नेक्रायुसङ्घ भक्तपुर नसका अध्यक्ष जगतराम धुख्वा, नेक्रायुसङ्घ मध्यपुर नसका अध्यक्ष सुरेन्द्र था श्रेष्ठ र नेक्रायुसङ्घ सूर्यविनायक नसका अध्यक्ष रोशन मचामसी, नेक्रायुसङ्घ चाँगुका सचिव एस. दुलाल, उत्तम साखकर्मी, सरोज दुलाल र राजन फँुयालले पनि बोल्नुभएको थियो ।
चानपा ८, सुडालस्थित खत्री टोलबाट बाजागाजाका साथ सुरू भएको उद्घाटन ¥याली चानपा ९, ताथलीको बनमाला टोल, खर्कपुल, गोठालेचौर हुँदै फैढोकामा सभामा परिणत भएको थियो । कार्यक्रममा जनगायक विनोद विक र सपना शाहीले गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको बन्दसत्रमा नेमकिपा चाँगुका अध्यक्ष न्हुछेभक्त फोजूले युवाहरूले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराअनुसार कामदार वर्गको पक्षमा समर्पित भई देश र जनताको सेवा गर्नु जरूरी रहेको औँल्याउनुभयो ।
बन्दसत्रबाट एलएनको अध्यक्षतामा २१ सदस्यीय नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समिति चयन गरेको छ । बन्द सत्रबाट निर्वाचित पदाधिकारीहरूलाई अध्यक्ष मण्डलका सदस्य कमला भारती र मिनबहादुर बाटाले शुभकामना तथा बधाई दिनुभयो ।

पार्टी गतिविधिहरु
समाचार