नेपाल विश्वविद्यालय विधेयकबारे प्राज्ञहरूमाझ छलफल


विश्वविद्यालय गुणस्तरीय शिक्षाको लागि आवश्यक
काठमाडौँ, ४ फागुन । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेपाल विश्वविद्यालयबारे शुक्रबार सरोकारवालासँग छलफल कार्यक्रम भयो ।
उक्त छलफल कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहरी विश्वविद्यालयको रूपमा धेरै विश्वविद्यालयहरू स्थापना हुनु जरूरी रहेको उल्लेख गर्दै नेपाल विश्वविद्यालयलाई पनि त्यही रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विश्वविद्यालय गुणस्तरीय शिक्षाको लागि हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “अहिले कतिपय विश्वविद्यालयको स्नातकोत्तर र पीएचडीसम्मका अनुसन्धानपत्रहरू फोटोकपि पसलमा किन्न पाइने चर्चा छ । खुला सिमानातर्फको देशबाट स्नातकोत्तर र पीएचडीको डिग्री समेत किनेर नेपालमा आउने सङ्ख्या बढिरहेको चर्चा छ । त्यस्तो गलत प्रमाणपत्रलाई नेपालमा विश्वविद्यालयले समकक्षता दिनु हुँदैन ।
राणा शासनले समेत शिक्षालाई अन्ततः रोक्न नसकेको चर्चा गर्दै सांसद सुवालले अहिलेका सरकारहरूले शिक्षालाई रोक्न सम्भव छैन; यसकारण विश्वविद्यालय खोल्न दिनुपर्छ भन्नुभयो ।
“नेपाल विश्वविद्यालयको विधेयकलाई गैरसरकारी भनी ल्याइएको छ; त्यसो गर्नुहुँदैन । कुनै एउटा स्थानीय पालिकालाई नेपाल विश्वविद्यालयको स्वामित्व दिनु जरूरी छ । उपकुलपतिहरू भागबन्डा गरेर विश्वविद्यालय चल्दैन । देशको राजस्व सङ्कलन गरेर बनेको ढुकुटीलाई अर्थ मन्त्रालयले मन्त्रीको पेवा ठान्नु गलत हो । विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षाको लागि आवश्यक बजेट अर्थमन्त्रालयबाट विनियोजन हुुनुपर्छ ।” उहाँले भन्नुभयो ।
विश्वविद्यालय या प्राध्यापकले सिधै विदेशीसँग पैसा लिए विदेशीको दलाल बनाउने सम्भावना रहेको उल्लेख गर्दै सांसद सुवालले विदेशी सहयोग सरकारमार्फत ल्याउन उपयुक्त हुनेछ भन्नुभयो ।
नेपाल विश्वविद्यालयको सरोकारवालाको तर्फबाट पूर्वउपकुलपति केदारभक्त माथेमाले अबका विद्यार्थीलाई पृथ्वीनारायण शाहले नेपाल खाल्डोमा हमला गर्नुअघि के व्यवस्था थियो भनी सोध्नुभन्दा पृथ्वीनारायण शाह लडाइँमा हारेको भए नेपालको खाल्डोको अवस्था के हुने होला भनी कल्पनाशील प्रश्न सोध्नु जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा १५ प्रतिशत युवाले मात्रै विश्वविद्यालयमा प्रवेश गर्न पाएका छन् । बङ्गलादेशमा २८ प्रतिशत युवाले विश्वविद्यालयमा प्रवेश पाएका छन् । चीनको त कुरै नगरौँ, त्यहाँ धेरै विश्वविद्यालय छन् । यसकारण, नेपालमा विश्वविद्यालय पर्याप्त खोल्नुपर्छ ।”
पूर्वशिक्षामन्त्री माधव पौडेलले १२ कक्षा उत्तीर्ण विद्यार्थीहरू विदेश जानुको कारण देशभक्तिसँग सम्बन्धित शिक्षा नभएकोे चर्चा गर्दै इथियोपियामा झन्डै ६ करोड जनसङ्ख्या छ; ६०–७० वटा विश्वविद्यालय छन्; नेपालमा विश्वविद्यालय पुगेको छैन; विश्वविद्यालयलाई गैरसरकारी भन्नु ठीक छैन; सरकारले बढी नियन्त्रण पनि गर्नुहुँदैन; सरकारले विश्वविद्यालयको पूर्वाधार निर्माण गर्न सहयोग गर्नुपर्छ भन्नुभयो ।
प्राध्यापक चैतन्य मिश्रले पढ्ने राम्रो भन्नुको अर्थ विषयवस्तु बुझ्नु हो; प्रमाणपत्र मात्र वितरण गर्नु होइन, राममनोहर श्रेष्ठलाई त्रिविको उपकुलपति बनाउनु राम्रो हुनेछ भन्नुभयो ।
अर्जुन कार्कीले नेपाल विश्वविद्यालय विधेयकलाई सरकारले तोडमरोड गरी वितरण ग¥यो, राष्ट्रिय सभाले गैरसरकारी विधेयक भनी थप्यो; यसमा हाम्रो चित्त बुझेको छैन; अहिले सरकारले नेपाल विश्वविद्यालयलाई पूर्वाधारको निम्ति वर्षको एकडेढ करोड बजेट पठाइएको छ भन्नुभयो ।
विपिन अधिकारीले सो विधेयकलाई सरकारी र गैरसरकारी विधेयक भनी छुट्याउनु गलत भएको उल्लेख गर्दैै डाक्टर पढ्नेलाई सामाजिक शिक्षा चाहिँदैन; इन्जिनियर पढ्नेलाई नेपाली चाहिँदैन भन्नु नै गलत हो; विश्वविद्यालयलाई सिधै विदेशीसँग आर्थिक सहयोग लिन नदिनु तानाशाही हो; त्रिविको जस्तो स्वतन्त्रता दिइएन भने नेपाल विश्वविद्यालय चलाउँदैनौँ भन्नुभयो ।
उमिना सिंहले नेपाल विश्वविद्यालयमा स्नातक पढ्ने विद्यार्थीलाई पहिलो दुई वर्ष विभिन्न विषय पनि अध्ययन गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
सूर्यराज आचार्यले प्राध्यापकको निष्ठाबाट विश्वविद्यालय निर्देशित हुनुपर्छ; सरकारको ऐनकानुनले निर्देशित गर्नुहुँदैन; विदेशमा सेवा आयोग भन्ने छैन; दक्षिण एसियामा मात्र छ भन्नुभयो ।
समितिका सभापति भानुभक्त जोशीले अन्य विज्ञहरूसँग पनि छलफललाई निरन्तरता दिने विश्वास दिलाउनुभयो ।

पार्टी गतिविधिहरु
समाचार