व्यापक जनतालाई सचेत र सङ्गठित नगरिएसम्म क्रान्ति सफल नहुने


भक्तपुर ५, फागुन । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिले शनिबार ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तकको अध्ययन गोष्ठी सम्पन्न ग¥यो ।व्यापक जनतालाई सचेत र सङ्गठित नगरिएसम्म क्रान्ति सफल नहुने
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले पार्टी कार्यकर्ताहरूले संसारको विषय थाहा पाउन पार्टी प्रकाशन अध्ययन गरी अध्ययन र अन्तरक्रियालाई जोड दिनु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्ताका युवालाई अध्ययन र अन्तरक्रियाको साथै विभिन्न भाषाको ज्ञान पनि हुनुपर्दछ । साहित्य र संस्कृतिको फाँटमा पनि युवाहरूले आफ्नो गतिविधिलाई अगाडि बढाएर जनताको सेवा गर्नु जरुरी छ । देशका विभिन्न ठाउँमा गएर जनताको सेवा गर्नुपर्छ ।”
उहाँले थप्नुभयो, “माक्र्सवाद विश्वव्यापी दर्शन हो । संसारका मजदुर र किसानको हित माक्र्सवादले मात्र गर्छ । माक्र्स र एङ्गेल्सले ‘कम्युनिस्ट घोषणापत्र’ लेखेर पुँजीवादको विकास, उत्थान र पतनको नियमबारे व्याख्या गर्नुभयो ।”
नेपाल मजदुर किसान पार्टीले बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन गरेर शोषित पीडित जनताको पक्षमा आफ्नो स्थापनाकालदेखि नै काम गर्दै आएको प्रमुख अतिथि सुवालले बताउनुभयो ।
सांसद सुवालले डिसेम्बरवादी विद्रोहीहरूले युरोपमा भएको सामान्तवादीविरोधी आन्दोलन र विकासबाट प्रभावित भई रुसमा पनि प्रजातन्त्रको निम्ति सङ्घर्ष गरेको उल्लेख गर्दै व्यापक जनतालाई सचेत र सङ्गठित नगरेसम्म क्रान्ति र विद्रोह सफल नहुने शिक्षा डिसेम्बर विद्रोहबाट सिक्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले एक व्यक्तिमात्र क्रान्तिकारी भएर नपुग्ने भएकोले परिवारका परिवार क्रान्तिको निम्ति तयार हुनु जरुरी रहेको उल्लेख गर्दै कार्यकर्ताहरूले आफ्नो परिवार र समाजमा पनि क्रान्तिको विचार फैलाउन क्रियाशील रहनु जरुरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गणेशप्रसाद सुवाल, प्राध्यापक विश्वमोहन जोशी, नेक्रायुसङ्घका राजकुमार लघु, रमेश वैद्य, सङ्गीता नेपाली, मुना बासुकला, रामकृष्ण प्रजापति, रुपेश कर्माचार्य, दिनेश प्रधान, गोपालसुन्दर गोसाई, सिद्धिराम सुवाल, राजाराम बासी, जगतराम धुख्वालगायतले पुस्तकबारे आ–आफ्नो विचार प्रस्तुत गर्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार