समाजवादी गणतन्त्र नै सहिदको सपना हो – सांसद सुवाल


भक्तपुर, ८ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले समाजवादी गणतन्त्र नै सहिदको सपना हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा मङ्गलबार सम्पन्न ३३ औँ सहिद दिवस कार्यक्रममा अतिथि सुवालले बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकामा भएको स्वतन्त्रता आन्दोलनमा कामदारवर्गका जनताको हित नभएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा २०४६ सालमा भएको जनआन्दोलनपश्चात् ठुला पार्टीका नेताहरू मन्त्री भए पनि सहिदहरूको सपनाअनुसार कामदार जनताको हित हुन नसकेको बताउनुभयो ।
कम्युनिस्ट नाम गरेका ठुला पार्टीहरू वास्तविक कम्युनिस्ट नभएको स्पष्ट पार्दै उहाँले निःशुल्क शिक्षा, स्वास्थ्य, कृषिमा आत्मनिर्भरता र देशको सन्तुलित विकास नहुने पुँजीवादी गणतन्त्रले कामदारवर्गको हित नगर्ने बताउनुभयो । शासक दलहरूले नेपालमा विदेशी लगानी बढाउनु भनेको देश विदेशीको हातमा बेच्नुसरह हो, देशलाई उपनिवेश बनाउनु हो भन्दै जनताले विदेशी पुँजीको विरोध गर्दै समाजवादी व्यवस्था स्थापनाको लागि अगाडि बढ्नु नै सहिदको सपना साकार पार्नु हो भन्नुुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाज परिवर्तनको निम्ति काम गर्दा गर्दै आफ्नो ज्यान आहुती गर्नेहरू सहिद हुने उल्लेख गर्दै सरकारको जथाभावी सहिद घोषणाले सहिदको अपमान भएको बताउनुभयो ।
नेपालको राजनीति भारतीय शासकवर्गको इसारामा चलिरहेको हुँदा सहिदको सपनामा कुठाराघात भइरहेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुरका अध्यक्ष एवं वाग्मती प्रदेश सभासद् सृजना सैंजूले २०४६ सालको जनआन्दोलन नेपालको लागि इतिहास हो भन्दै प्रजातन्त्र स्थापनाको तीन दशक बितिसक्दा पनि देशमा प्रजातन्त्रको आभास हुन नसकेको बताउनुभयो । उहाँले अहिले देशका युवाहरू बिदेसिने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्दै ७० लाखभन्दा बढी युवा जनशक्ति विदेशमा हुँदा देशको शिक्षा, विकास निर्माण तथा उत्पादनलगायतका धेरै क्षेत्रमा प्रत्यक्ष असर परेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका सचिव एवं भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुरका अध्यक्ष एवं भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, सहिद परिवारको तर्पmबाट रचना सुवाल, जनआन्दोलनका घाइते राजेन्द्र दुमरु, नेपाल क्रान्तिकारी किसान सङ्घका जिल्ला समिति सदस्य गंगाराम ज्याख्वले सहिदहरूको योगदान र देशको वर्तमान परिस्थितिबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार