सोभियत सङ्घको गुण बिर्सने युरोप !


ललितपुर, १९ फागुन । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा ललितपुर जिल्लाको महालक्ष्मी नगर समितिको आयोजनामा कार्यकर्ता भेला शनिबार सम्पन्न भयो ।
पार्टीका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सत्ता र प्रमुख विपक्षी दलको सिद्धान्तहीन गठबन्धन ती दुवैको लागि हिमालयमा चिप्लेटी खेल्नुजस्तै हुने उल्लेख गर्नुभयो ।
सांसद सुवालले अगाडि थप्नुभयो, “राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र हो । राजनीतिक दल एक निश्चित दर्शनअनुसार एक वर्ग आधारमा स्थापना र सञ्चालन हुन्छ । सिद्धान्तहीन निर्वाचन गठबन्धन र सत्ता गठबन्धन गर्ने शासक दलरूबाट देश र जनताले केही पाउने छैनन् बरु गुमाउँदै जानुपर्नेछन् । शासक दलहरूको नाम फरक फरक भए पनि आर्थिक विषय निजीकरण र वैदेशिक मामिला भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पिछलग्गू बन्नु हो । विदेशी लगानीले नेपाललाई नवउपनिवेश बनाउनेछ ।”
सांसद सुवालले पार्टीका कार्यकर्ताहरू पार्टी प्रकाशन अध्ययन गरी पार्टी गतिविधिमा सहभागी हुनुपर्ने आवश्यकता औँल्याउँदै शत्रु र मित्रलाई चिन्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।
“सरकारहरूले देशमा रोजगारी नदिई युवालाई वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न पठाएको देशघात नै हो । वैदेशिक रोजगारीमा गएका लाखौँ नेपाली महिलाहरू यौन शोषण र बलात्कारको शिकार भएका छन् । दाल, चामल, तरकारीसमेत भारतबाट आयात गरी खुवाउने सरकारहरूले कृषिमा आत्मनिर्भर नेपाल बनाउने छैन । नेपालीले देशभित्र रोजगारी नपाएको हुँदा नेपालको राहदानी वरियता १०३ औँ स्थानबाट २७ औँ स्थानमा खस्किएको बताइन्छ”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले थप्नुभयो, “स्तालिन नेतृत्वको सोभियत सङ्घले दोस्रो विश्व युद्ध (सन् १९३९ सेप्टेम्बर १ देखि सन् १९४५ सेप्टेम्बर २) मा जर्मनी नेतृत्वको सेनालाई स्तालिनग्राडमा पराजित गरेको थियो । जर्मनीले डेनमार्कलाई ६ घण्टा, लक्जेम्बर्गलाई १ दिन, हल्यान्डलाई ५ दिन, युगोस्लाभियालाई ११ दिन, बेल्जियमलाई १८ दिन, ग्रिसलाई २४ दिन, पोलेन्डलाई २७ दिन, फ्रान्सलाई ४२ दिन, नर्वेलाई ६१ दिनमा कब्जा गरेको थियो । त्यस युद्धमा जर्मनीले युक्रेनका १ करोड जनता मारेको थियो । सोभियत सङ्घका २ करोड ३० लाख जनता बलिदानपछि जर्मन आक्रमणकारी सेना पराजित भएको थियो । सोभियत सङ्घले २०० दिन–रात लडेर जर्मनीलाई पराजित गरेपछि युरोपसमेत मुक्त भएको थियो । सोभियत सङ्घमा सहिद नभएको कुनै घर थिएन । अहिले युरोपले रूसको गुण बिर्सेको छ । दोस्रो विश्व युद्धमा एकातिर बेलायत, रुस, फ्रान्स, चीन, अमेरिका थिए भने अर्कोतिर इटाली, जर्मनी, जापान थिए ।”
सांसद सुवालले भन्नुभयो, “त्यही युक्रेनमा अहिले अमेरिकाले रूसविरुद्ध युद्ध गर्दै छ । अमेरिकी साम्राज्यवादले कारण रूसी र युक्रेनी जनता मरिरहेका छन् । विश्वका न्यायप्रेमी जनता युद्धको विरोध गर्दै छन् ।”
कार्यक्रममा आर.बी. डंगोल, कविन्द्र डंगोल, महन्त महर्जनलगायतले बोल्नुभएको थियो ।

 

पार्टी गतिविधिहरु
समाचार