“राजनीतिक लडाइँ शोषक र शोषित वर्गबिच हुने गर्छ”


भक्तपुर, २६ फागुन । नेपाल कर्मचारी समाजको तेस्रो राष्ट्रिय सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शनिबार भक्तपुरमा सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन गर्दै अतिथि बिजुक्छेँले राजनीतिक लडाइँ शोषक र शोषित वर्गबिच हुने गर्छ भन्नुभयो ।
उहाँले प्रहरी, सैनिक, गुप्तचर विभाग र कर्मचारीतन्त्र शासनयन्त्रको अङ्ग भएको बताउनुभयो ।
“शोषकवर्गले आफूले उपभोग गरिरहेको सुख सयल गुम्न नदिन राजनीति गर्छ, तर कामदारवर्गले शोषणरहित समाज स्थापना गर्ने उद्देश्यले राजनीति गर्छ”, उहाँले स्पष्ट पार्नुभयो ।
“कर्मचारीहरूको लागि सरकारले नै आवास तथा कार्यालयमै खानाको व्यवस्था गर्ने सोच ल्याउनु आवश्यक छ । सार्वजनिक यातायातको अव्यवस्था र निजी सवारी साधनको चापले ट्राफिक व्यवस्थापनमा समस्या आइरहेकोले कार्यालय समय फरक फरक गर्नुपर्छ”, अध्यक्ष रोहितले भन्नुभयो ।
शासक पार्टीका नेताहरूमा राजनीति गर्नुको उद्देश्य नै धन कमाउनु हो भन्ने गलत बुझाइ रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “जनतालाई इमानदार बनाउन हामीले वैचारिक सङ्घर्ष गर्नैपर्छ । हामी आलोचना र आत्मालोचना गर्नबाट भाग्नु हुँदैन । परिवर्तन सम्भव छ; तर बहुमत जनता राजनीतिकरूपमा सचेत र सङ्गठित भएमा परिवर्तन गर्न धेरै समय लाग्नेछैन ।”
असल नेतृत्वकै कारण चीन विश्वको महाशक्ति बन्न सफल भएको उदाहरण दिँदै उहाँले भन्नुभयो, “हामीले संसारको इतिहासबारे तुलनात्मक अध्ययन गर्नु आवश्यक छ । सशस्त्र सङ्घर्षको परिणाम आज चिनियाँ जनता गरिबीबाट मुक्त भएका छन् भने शान्तिपूर्वक आन्दोलन गर्दाको परिणाम आज भारतमा गरिबी बढ्दो छ ।”
कर्मचारीहरू सुसंस्कृत र व्यवहारिक हुनुका साथै ऐन कानुनबारे जानकार हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले जस्तोसुकै जिम्मेवारी आई परे पनि जिम्मेवारी सम्हाल्न तयार भएर बस्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैंजूले कर्मचारीहरू सचेत र इमानदार भए देश नबिग्रने, सरकार कर्मचारीकै भरमा कार्य क्षेत्रमा उत्रने भएकोले कर्मचारीहरू इमानदार हुनु आवश्यक छ भन्दै कर्मचारी इमानदार भएमात्र देश अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
देशको स्थिति भद्रगोल हुनुमा उच्चपदस्थ कर्मचारीहरू पनि उत्तिकै दोषी रहेको चर्चा गर्दै उहाँले नेपाल कर्मचारी समाजका सदस्यहरू यसतर्फ सचेत हुनु आवश्यक भएको बताउनुभयो ।
संयमित, इमानदार र इच्छाशक्ति भएका कर्मचारीकै कारण आज छिमेकी चीनले हरेक क्षेत्रमा संसारलाई नेतृत्व दिइरहेको छ भन्दै केन्द्रीय सदस्य सैंजूले चीनबाट सिक्न जरुरी रहेको बताउनुभयो ।
भ्रष्टाचारको सवालमा ‘झिङ्गा र बाघलाई पनि नछोड्ने’ चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ स्मरण गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणसम्बन्धी चिनियाँ नीतिबाट नेपालले सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उत्पादनविना कुनै पनि देश समृद्ध हुन नसकिने स्पष्ट पार्दै उहाँले सानोतिनो नै किन नहोस् देशमै आफ्नै उत्पादन गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले नेपाल कर्मचारी समाजमा आबद्ध कर्मचारीहरूले सच्चा राष्ट्र सेवकको कर्तव्य र दायित्व अझ प्रभावकारीरूपमा निर्वाह गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “हाम्रा साथीहरूमा भएको सचेततालाई अझ सबल बनाउन, इमानदारीलाई अझै सशक्त बनाउन, कर्तव्य र दायित्व निर्वाहमा अझ उत्कृष्टता ल्याउन, सेवाग्राहीहरूको आँखामा राख्दा नबिझाउनेमात्र होइन शीतलता प्रदान गर्नमा अझ सक्षम बनाउन नेपाल कर्मचारी समाजको गतिविधि निरन्तर चलिरहोस् शुभकामना छ ।”
कार्यक्रमका सभापति एवं नेपाल कर्मचारी समाज तेस्रो राष्ट्रिय सम्मेलन तयारी समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले राजनीति गर्नु बेइमानी गर्नको लागि नभई सबैलाई राम्रो बनाउनको लागि हो भन्नुभयो ।
कर्मचारी पनि कामदारवर्गभित्र पर्ने स्पष्ट पार्दै उहाँले नेपाल कर्मचारी समाज कर्मचारीको हक, हित एवं व्यक्तित्व विकासमा जोड दिन्छ तर, टे«ड युनियनवादको पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि बिजुक्छेँले नेपाल कर्मचारी समाजको मुखपत्र ‘सन्देश बुलेटिन –४, अङ्क ४’ सार्वजनिक गर्नुभयो ।
शनिबारै सम्पन्न बन्द सत्रको पहिलो बैठकले समाजका सचिव शिवराम धुख्वाले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । विधान संशोधन समितिका सदस्य काजीबहादुर पञ्चले विधान संशोधन गर्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
बन्द सत्रको दोस्रो बसाइँमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको समसामयिक राजनीति, तीन तहको सरकार र कर्मचारीतन्त्र विषयमा र नेपाल प्राध्यापक समाजका सहसचिव सुजन माकले फासीवाद, नाजीवाद र मोदी फासीवाद विषयमा प्रशिक्षण दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको अध्यक्षतामा रहेको अध्यक्षमण्डलले गौतमप्रसाद लासिवाको अध्यक्षतामा नेपाल कर्मचारी समाजको १५ केन्द्रीय समिति सर्वसम्मतबाट चयन गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल र नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार