शोषक वर्गको सरकारमा मानवता नहुने


काठमाडौँ, २६ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार प्रज्ञाप्रतिष्ठान भवनमा प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले कामदारवर्गलाई शिक्षाको व्यवस्था नभएसम्म राज्यमा महिला सहभागिताको औचित्य पुष्टि हुनेछैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिकरूपले सचेत महिलाहरूले देश र जनताको बढी सेवा गर्नसक्नेछन् । रूसका खान्दानीवर्गका छोरा बुहारीहरूले भूदास प्रथा र सामन्ती व्यवस्थाको विरोधमा सङ्घर्ष गरे भने साइबेरियाको सजाय हुँदा समेत विचलित भएनन् । क्रान्तिकारी महिलाहरूको जीवनी अध्ययन गरेर नेपाली महिलाहरूले अन्यायविरूद्ध दृढ भएर सङ्घर्ष गर्ने प्रेरणा पाउन सक्छन् ।”
उहाँले भन्नुभयो, “नेपालमा महिला राष्ट्रपति, उपप्रम र मन्त्रीहरू भए । तर, कामदारवर्गका महिलाहरूको हितमा मौलिक काम हुन सकेन । सिंहदरबारको नेतृत्व गरेका पार्टी र नेताहरू गतिला नभएको हुँदा देश र जनताको हित नभएको हो । शोषकवर्गको सरकारसँग मानवता हुँदैन । मानवता नभएको सरकारले कामदारवर्गको हित पनि हेर्दैन । कामदारवर्गको सरकार भएमात्र कामदारवर्गको सम्मान हुनेछ । पेरिस कम्युनले मन्त्री र मजदुरको तलब बराबर हुने व्यवस्था गरेको थियो ।”
सचिव सुवालले भन्नुभयो, “शोषकवर्गको सरकारले वैदेशिक रोजगारीको नाममा गरिबहरूको बेचबिखनजस्तै गर्छ । सन् १८१६ को सुगौली सन्धिलाई नेपाली युवालाई गोर्खा भर्तीको नाममा बेलायती सेनामा पठाएर पहिलो र दोस्रो विश्वयुद्धमा मराए । २००७ सालको परिवर्तनपछि भारत बस्न गएका राणाहरूको लागि नेपाली चेलीबेटी बेचबिखन सुरू भएको आज वैदेशिक रोजगारमा पठाइएका लाखौँ नेपाली महिलाहरू यौन दुव्र्यवहारको सिकार भएका छन् । खाडी मुुलुकमा नेपाली महिलाहरू बेचिएको संसदीय समितिले प्रतिवेदन नै तयार ग¥यो । तर कुनै पनि सरकारहरू नेपाली चेलीलाई वैदेशिक रोजगारीमा पठाउँदैनन् र नेपालमै रोजगारी दिन्छन् भन्न सकेनन् ।”
नेपाली महिलाहरूले समलिङ्गी विवाहजस्तो सांस्कृतिक विचलनको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले युक्रेनमा रुसविरुद्ध अमेरिकी छद्मयुद्ध र अमेरिकी हतियार पठाएको इजरायली सरकारले प्यालेस्टिनी भूमि कब्जा र नरसंहारको विरोध गर्नुपर्दछ भन्नुभयो ।
“शासक दलहरूको नाम कम्युनिस्ट राखिए पनि काम मजदुर किसानविरोधी नै छ । प्रजग कोरियाको सरकारको नेतृत्व गरेको पार्टी कोरियाली मजदुर पार्टी हो । यो पार्टीको सरकारले आफ्नो जनतालाई वैदेशिक रोजगारीमा पठाउँदैन । नेपालमा कम्युनिस्ट नाम राखिएका शासक पार्टीहरू देशघाती काम गर्दै छन्”, उहाँले भन्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले मार्च ८, लैङ्गिक मुद्दा मात्रै नभई वर्गीय मजदुर आन्दोलन, समाजवादको निम्ति सङ्घर्ष गर्ने सिलसिला रहेको र वर्गीय मुक्तिले कामदार महिला मुक्ति हुने क्लारा जेटकिनको भनाइबारे स्पस्ट पार्नुभयो ।
उहाँले सन् १९१७ को रूसी क्रान्ति सफल भएपश्चात् रुसी महिलाहरूले मताधिकार, समान ज्याला, राज्य सञ्चालनमा भूमिका, सुत्केरी बिदा, दूध बैङ्कजस्ता उपलब्धिहरू हासिल गरेकै कारण २६ वर्षकै उमेरमा रूसका भ्यालेन्टिना तेरेस्कोभा अन्तरिक्षमा पुग्ने विश्वको प्रथम महिला बन्न सफल भएको प्रस्ट्याउनुभयो ।
उहाँले क्युवामा पनि समाजवाद स्थापनापछि राजनैतिक, प्रशासनिक र अन्य क्षेत्रहरूमा महिलाहरूको मुख्य भूमिका रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साम्राज्यवाद र पुँजीवादविरूद्ध र समाजवाद प्राप्तिको सङ्घर्ष भएकै कारण सन् १९७५ मा संयुक्त राष्ट्रिय सङ्घले पुँजीवादी देशहरूको दबाबमा श्रमिक शब्द हटाई श्रमिक महिला दिवसलाई लैङ्गिक मुद्दा बनाइदिएकोमा उहाँले खेद प्रकट गर्नुभयो ।
नेपालमा दैनिक ७ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र सोही रोगको कारण दैनिक ४ जनाको मृत्यु भइरहेको उल्लेख गर्दै उहाँले नेमकिपाले संसद्मा बलात्कारीहरूलाई मृत्युदण्डको सजाय माग गर्दै गर्दा शासक दलका महिला सांसदहरूले त्यसको विरोध गरेको बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले कृषिमा महिलाहरूको भूमिका विषयमा धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्थानीय तहमा महिलाको उपस्थिति विषयमा प्रवचन दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशनमैँया सुवालले विश्वका क्रान्तिकारी महिलाहरूको छोटो जीवनी प्रस्तुत गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष कमलमैँया सुवालको सभापतित्वमा भएको कार्यक्रममा सुलोचना छ्वाजु र मीना डंगोलले पनि बोल्नुभएको थियो ।

 

पार्टी गतिविधिहरु
समाचार