वैदेशिक रोजगारीको नाममा चेलिबेटी बेचबिखन गर्नेहरूलाई मृत्युदण्डको सजाय हुनु जरुरी


(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न पेस गर्नुभएको प्रस्तावमाथि छलफलको क्रममा आफ्नो धारणा राख्नुभयो । उहाँले राख्नुभएको विचारको सार–सं)
देहायका विषयमा सभामुखमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु :–
– राजनीतिक दल एउटा दर्शन र एउटा वर्ग आधारमा स्थापना हुन्छ । दर्शन र वर्ग आधार मिल्ने राजनीतिक दलहरूबिच निर्वाचन र सत्ता गठबन्धन गर्नु स्वाभाविक होला । देशको प्राथमिकताबिना प्रधानमन्त्री र मन्त्री खानकै निम्ति सिद्धान्तहीन निर्वाचन एवम् सत्ता गठबन्धन गर्नु हिमालयमा चिप्लेटी खेल्नुजस्तै हो ।
– नेपालीलाई भाडाको सिपाही बनाउने गोर्खा भर्तीकेन्द्र र नेपालको सुरक्षा मामिला भारतलाई जिम्मा लगाएको सन् १९५० को नेपाल–भारत सन्धि खारेज गर्नुपर्दछ । अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता र अमेरिकी सेना आएर नेपाली सेनाको व्यारेक कब्जा गर्ने एसपीपी साझेदारी खारेज गर्नु जरुरी छ । सित्तैमा वा अनुदानमा आयो भनेर विष खानु हुँदैन । विदेशी नागरिकता लिएकालाई गैरआवासीय नेपाली नागरिकता दिनु, जन्मको आधारमा विदेशीले पाएको नेपाली नागरिकता खारेज नगरी तिनका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु, समलिङ्गी विवाह गर्न लगाउनु देशको हितमा हुनेछैन ।
– विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क गर्नुपर्दछ । शैक्षिक परामर्श संस्थाको नाममा ठगी गर्नेहरूलाई कारबाही गर्नुपर्दछ । युवालाई स्वदेशमा रोजगारीको व्यवस्था हुनुपर्दछ । वैदेशिक रोजगारीको नाममा भइरहेको चेलीबेटी बेचबिखन र खर्बौँ रुपैयाँ ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकहरूलाई अविलम्ब जेलमा थुन्नुपर्दछ । मानव अधिकारविरुद्ध गम्भीर अपराध गर्ने, सार्वजनिक जग्गा, कमलपोखरी, जङ्गल, निजी गर्ने गराउने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने, अन्तर्राष्ट्रिय विमानस्थललाई सुन तस्करको केन्द्र बनाउनेहरूलाई संविधान संशोधन गरी मृत्युदण्डको सजायसमेत दिने कानुन जरुरी छ । यस्ता अपराधीलाई मृत्युदण्डको सजाय हुने प्रावधान २०४७ सालमा नेकाका कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले हटाएको हुँदा अहिले अपराधीहरूको मनोबल बढेको हो ।
– सरकारले भ्रष्टाचारी किटान नगर्ने अनि भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ ? मजदुरलाई परिवार पाल्न सक्ने पारिश्रमिकको व्यवस्था हुनुपर्दछ ।
– देशको सन्तुलित विकास नगरिँदा सङ्घीय राजधानी काठमाडौँ उपत्यका र प्रदेश राजधानीमा बसाइँसराइ बढ्दो छ । काठमाडौँ उपत्यकाको उर्वरभूमिमा दैनिक १० हजार हाराहारीको टिपर गाडीमा ढुङ्गा, गिटी, बालुवा, आसपाल खन्याइँदै छ । चुरे दोहन रोक्नु पर्दछ । विषादी भएको दाल, चामल, तरकारी भारतबाट आयात गरेर देश आत्मनिर्भर हुनेछैन । एउटा बस्ती वरिपरि त्यहाँको पर्यावरणीय सन्तुलन र खेतीपातीको लागि आवश्यक जग्गा राखी ७७ जिल्लामा सहर विकास गरिए देशको सन्तुलित विकास हुनेछ । यसको लागि सङ्घीय राजधानी काठमाडौँबाट दाङमा सार्नु उपयुक्त हुनेछ । बसाइँसराइ जिल्लाभित्र सीमित गर्नु आवश्यक छ ।
– कमैया, कमलरी र जोताहा किसानलाई मोहियानी हक दिनुपर्छ । सरकारले गुठीको देवस्व अर्बौँ अर्ब रूपैयाँ प्रशासनिक खर्चमा सिध्याउनु हुँदैन । गुठीको जग्गा र भवन संरक्षणमा सरकार लागेन । गुठी जग्गा किसानको हितमा रैतानी गर्नुपर्दछ ।
– इलामको पशुपतिनगर, सप्तरीको लालपट्टि र तिलाठी, नवलपरासीको सुस्तादेखि टनकपुर, कालापानी, लिम्पियाधुरासम्मको भारत अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता लिएर नेपाल–भारत खुला सीमा बन्द गर्नुपर्दछ । खुला सीमा बन्द नगरिएसम्म नेपाली नागरिकताको समस्या समाधान हुनेछैन । नेपाली भूमि कालापानीबाट भारतीय सेना तत्काल फिर्ता पठाउनुपर्दछ ।
– मिटरब्याज पीडित, लघुवित्त पीडित, सहकारीमा राखिएको बचत ठगीमा पारिएका पीडित, दूधको भुक्तानी नपाएका किसान, उखुको भुक्तानी नपाएका किसानको समस्या समाधान गर्न पीडितसँग सहमति र कार्यदल गठन गरेर पुग्दैन । सरकारले पीडकलाई कारबाही गरेर देखाउनु जरुरी छ ।
– प्र्रधानमन्त्रीले जन्मभूमि नेपाललाई धरतीमाता, नेपाली जनतालाई ईश्वर र देश र जनताको सेवा नै धर्म ठान्नु पर्दछ । ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ भनिए पनि वर्गीय र जातीय दमन यथावत छ ।
– एक जना स्वास्थ्यविज्ञ डा. अरुणा उपे्रतीले चाउचाउ, कोकाकोला, फान्टा, केक, कुकिज, सेतो पाउरोटी, बट्टाका जुसलगायत तयारी खानेकुरा मोटोपन, मुटु र मिर्गौला रोग हुने पत्रु खानेकुरा भएको हुँदा यसको उत्पादन, विज्ञापन र बिक्री वितरण नियन्त्रण गर्नुपर्ने आवाज उठाइरहनुभएको छ ।
– नेकाका मिन विश्वकर्माले आफूसँग गिटी, ढुङ्गा, बालुवाका व्यापारीहरूले २–३ पटक फोन गरेर एक गृहमन्त्रीलाई थप रकम बुझाउनुपर्नेबारे सोधेको खुलासा गरेका छन् । यसबारे प्रधानमन्त्रीजीलाई जानकारी छ कि छैन ?
– नेपाली सञ्चारमाध्यममा ‘पूर्वउपराष्ट्रपति पुनको सचिवालय नै सुन तस्करीमा’ र ‘सुन तस्करीमा अर्थमन्त्री पुनकै सम्पर्क !’ भन्ने समाचार प्रकाशित भएको बारे प्रधानमन्त्रीलाई जानकारी छ कि छैन ?
– प्रधानमन्त्री पद व्यक्तिको इच्छाभन्दा पनि पार्टीको दृष्टिकोण हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सत्ता गठबन्धनका दलहरूको नीति तथा दृष्टिकोणमा तात्विक भिन्नता छैन । यसकारण, नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी गराउँदछु ।

पार्टी गतिविधिहरु
समाचार